|

काठमाडौं : दोस्रो चरणको निर्वाचनका लागि चुनावी वातावरण बन्दै गएपछि मुस्लिम समुदायलाई भने कसरी भोट हाल्ने भन्ने चिन्ताले सताउन थालेको छ। मुस्लिम समुदायमा कठोर अनि निकै लामो पर्व मानिने रमजान आइतबारदेखि सुरु हुँदै छ। एक महिनासम्म दिनभर व्रत बसेर मुस्लिम समुदायले यो पर्व मनाउँछन्। यो समयमा उनीहरूले बिहान सूर्य उदाएपछि साँझ सूर्यास्त नहुँदासम्म मुखमा पानीसमेत हाल्दैनन्।

'यो निकै कठोर एवं हाम्रो समुदायको पवित्र पर्व हो। बिहानदेखि सूर्य नअस्ताउँदासम्म पानीसमेत नखाएर व्रत बस्नुपर्छ, धार्मिक नियम निकै कडा हुन्छ। त्यसमा पनि हाम्रो समुदायमा अझै कडाइ हुन्छ', नेपालगन्जका व्यवसायी अब्दुल वाहिद मन्सुरीले भने, 'एकातिर देशमा चुनावको पर्व आएको छ, अर्कोतिर समुदायको यति ठूलो पर्व छ।' मुस्लिम समुदायले भोट नहालेरै भए पनि रमजान भने मनाउँछन्। व्रत तोड्नु भनेको यो समुदायका लागि एक ठूलो अपराधजस्तै मानिन्छ।

२० वर्षपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा कसरी भोट हाल्न सजिलो होला भन्ने चिन्ता अहिले मुस्लिम समुदायमा छ। 'हामी चुनावमा सहभागी हुन चाहन्छौं तर दिनभरि भोकै बसेर हामी कसरी भोट गर्न सक्छौं ? त्यसमाथि अझ महिला अनि वृद्धवृद्धालाई झनै गाह्रो हुन्छ', नेपालगन्ज १४ का डा. मोहम्मद आरिफ खानले भने, 'त्यसका लागि सरकार र निर्वाचन आयोगले केही सजिलो व्यवस्था गरिदिए राम्रो हुने थियो।' देशको सबैभन्दा गर्मी हुने ठाउँ हो, बाँके। दिनभरि पानीसमेत नखाएर व्रत बस्ने भएका कारण घन्टौं लाइनमा बसेर भोट हाल्न गाह्रो हुने उनी बताउँछन्।'

राष्ट्रिय जनगणना २०६८ अनुसार मुस्लिमको जनसंख्या देशभर करिब ११ लाख ६४ हजार छ। त्यसमध्ये ११ लाख ७ हजारभन्दा बढीको (करिब ९५ प्रतिशत) बसोबास तराईका जिल्लामा छ।

दोस्रो चरणमा १, २, ५ र ७ नं प्रदेशमा चुनाव हुँदैछ। दोस्रो चरणको चुनावको प्रक्रिया र प्रचारप्रसार जोडतोडका साथ हुने समयमै मुस्लिम समुदायको पर्व रमजान सुरु हुँदैछ। बिहान ४ देखि साँझको सात बजेसम्म पानीसमेत नखाएर बस्ने कठोर व्रतबीच मुस्लिम समुदायका मतदातालाई चुनावमा भोट खसाल्न जानु कम्ता जोखिम छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.