|

निजगढ (बारा) : काठमाडौं र तराई जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको आइतबार शिलान्यास गरिएको छ। बाराको निजगढमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फास्ट ट्र्याक निर्माणको शिलान्यास गरेका हुन्। शिलान्याससँगै अब नेपाली सेनाले फास्ट ट्र्याक निर्माणको काम अगाडि बढाउनेछ।

फास्ट ट्र्याक शिलान्यासपछि प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याक निर्माणको शिलान्याससँगै एउटा राष्ट्रिय अठोट पूरा भएको बताए। 'एउटा राष्ट्रिय अठोट थियो, आज पुरा भएजस्तो लागेको छ, यो मार्गले मधेसलाई दुरी र समयको हिसाबले मात्र काठमाडौंसँग जोडेको होइन मन र भावना पनि जोडेको छ' उनले भने।

आफू नेतृत्वमा सरकार बनेसँगै आर्थिक विकासलाई तिब्रता दिन राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेका अन्य मन्त्रीहरुको सहयोगले फास्ट ट्र्याक निर्माण शिलान्यास गर्न सफल भएको बताए। 'रमेश लेखकजीले नेपालले नै र यही सरकारको पालामा (फास्ट ट्र्याक) सुरू गर्नुपर्छ भनेर लाग्नुभयो, वन मन्त्री शंकर भण्डारीले त मलाई पनि उछिन्ने गरी क्रान्तिकारी काम गरे जस्तो लाग्छ' उनले भने।

प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याक निर्माण नेपाली सेनाका लागि गौरव र चुनौती दुवै भएको बताए। 'फाष्ट ट्र्याक तपाईहरुको गौरव र चुनौती हो,  समयमा गुणस्तरीय काम गरे तपाईंहरु जनताको आँखामा बिझाउने छैन भन्ने लाग्छ' उनले भने।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अहिलेको सरकारले सुरुकै दिनदेखि फास्ट ट्र्याक निर्माणलाई प्राथमिकतामा राखेको बताए। 'अब गफ ह‌ैन काम गरौं, यसलाई भाषण गर्ने विषयबस्तु हैन जनतालाई सुविधा दिने मार्ग बनाउँ छिटो बनाऔं भनेर मेरो मन्त्रालयले प्रस्ताव अघि सार्‍यो, मन्त्रिपरिषदले र प्रधानमन्त्रीले समेत चासोका साथ अघि बढाउनु भएकोमा धेरै खुसी छु' मन्त्री लेखकले भने।

उनले फास्ट ट्र्याकले काठमाडौं र मधेसको राजनीतिक सम्बन्ध  पनि सुधार गर्ने बताए। रक्षामन्त्री बालकृष्ण खाँडले तराईबाट काठमाडौ छोटो मार्गबाट जोड्ने वर्षौंदेखिको चाहनाले मूर्त रुप पाएको बताए। उनले प्रचण्ड नेतृत्वको सरकाले नेपाली आफैले फास्ट ट्र्याक बनाउन सक्छन् भन्ने योजना अनुसार अघि बढेको बताउदै प्राधनमन्त्रीलाई धन्यवाद दिए।

फास्ट ट्र्याक निर्माणमा वन मन्त्री शंकर भण्डारीले पनि महत्वपूर्ण काम गरेको भन्दै उनले धन्यवाद दिए। 'मेरो भाइ जुझारु नेता शंकर भण्डारी वन मन्त्रालयमा आएसंगै सहज भएको छ, अब पनि यस्तै होस' खाँडले भने।

प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनालाई विश्वास गरेर फास्ट ट्रयाक निर्माणको जिम्मा दिएकोमा सरकारलाई धन्यवाद दिए। द्रुतमार्गको आयोजना प्रमुख उपरथी दीपेन्द्रबहादुर खाँडले फास्ट ट्र्याकले राजधानी र तराई मधेसको दुरी छोटिएर सामान निकासी पैठारी सहज हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.