|

चितवन : चितवनको भरतपुर महानगरको चुनावी अड्कल शुरुका केही वडाहरुमा जसरी अनुत्तरित थियो अहिले पनि त्यस्तै छ । ठोकुवा गरेर भन्न कसैले सकेका छैनन्। अब जम्मा २ वडा मात्रै गन्न बाँकी छ। वडा नम्बर १९ मा २८६० मत छ भने वडा नम्बर २० मा ३३०२ मत छ । यी दुई वडा वडामा कांग्रेसको बर्चस्व छ।

अझै १९ वडा कांग्रेसको पकड मानिने भएकाले कांग्रेस माओवादी गठबन्धनबाट प्रमुख पदको उम्मेदवार रेणु दाहाललाई राम्रै मत झर्ने आशामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन छ। विडम्बना के भने सोही वडामा फेरि माओावदीको मत न्युन छ।

चितवनको ईच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा पनि यस्तै अवस्था भएको थियो। शुरु देखि नै एमालेले अग्रता लिएको यी दुई स्थानीय तहमा अन्तिमका वडामा पुगेपछि ईच्छाकामना कांग्रेसले जित्यो भने माडीमा माओवादी केन्द्रले।

कतै यस्तै नतिजा त आउने हैन? अहिले आम चासोको विषय बनेको छ भरतपुर। ३८३६ को फराकिलो अन्तरलाई घटाउँदै घटाउँदै रेणु दाहालले अहिले भरतपुर २१ वडाको १८०२को मतगणना सम्पन्न हुँदा ९८१ मा झारिसकेकी छिन्।

यो गणनामा कांग्रेसको मत रेणुलाई ७८.४९ प्रतिशत पर्‍यो तर माओवादीको आफ्नै भोट न्युन हुँदा मतान्तर घटाउन रेणुले खासै सकिनन्। कांग्रेसको ९.६८ प्रतिशत मत नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पाए। रेणुले यो वडामा देवीले भन्दा जम्मा १६४ मत मात्रै बढी पाइन्। रेणुले चुनाव जित्नका लागि प्रत्येक वडामा कम्तीमा ४९० मत बढी ल्याउनुपर्छ।

अबका वडामा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो हुने निश्चित छ। त्यसरी हेर्दा काँग्रेसको ८० प्रतिशत मत खसेपनि माओवादी केन्द्रको मत न्युन भएकाले  थप चुनौती छ। अबका वडामा पनि सरसरती मुल्यांकन गर्दा उनले घटाउने कुरामा दुईमत छैन। तर कति घटाउँछिन् भन्ने कुरा बाकसको मत नखोली थाहा हुँदैन।

हुनत  रेणु दाहाल र देवी ज्ञवाली दुबै जना अझ जित्ने दावी गर्दै छन्। मत परिणामले पनि त्यस्तै देखाउनु स्वभाविक हो। भरतपुर वडा नम्बर १८ को मतगणना सकिदा उनीहरु बीचको दुरी ११४५ को थियो। त्यतिबेला १९,२०,२१ वडा गन्न बाँकी भएकाले रेणुलाई जित दिलाउन उनले हरेक वडामा ३८२ मत ल्याउनुपर्ने थियो। अहिले भरतपुर वडा नम्बर २१ को मतगणना जारी छ। अहिलेसम्म १८०२ मा समग्रमा मतान्तर त घट्यो तर जितका लागि त्यति मात्र पर्याप्त छैन।

अहिलेसम्म रेणु दाहालले वडाको पूर्ण गणना सकिंदासम्म कहिंपनि देवी ज्ञवालीलाई जितेकी छैनन्। वडा नम्बर २५ को आधाआधी गन्दा उनले एकपटक १४७ मतले जितेपनि धेरै टिक्न सकिनन्।

 शुरुदेखिकै देवीको दबदवा अन्तिमसम्मै कायम रहेको छ। शुरुमा ५ वडासम्म गन्दा करिब झण्डै १५०० को मतान्तर थियो उनीहरु बीचको। त्यसलाई वडा नम्बर ६ गन्दा पुरै झारेर ५०० तल ल्याइन् रेणुले। यहाँ कांग्रेसको झण्डै ७० प्रतिशत मत रेणुलाई आएको थियो।

त्यसपछि १२ नम्बर वडा गन्दा देवीले ३८३६ को फराकिलो मतान्तरमा पुर्‍याए। १३,१४,१५ र २५ वडा गन्दा त्यो मतान्तरलाई घटाएर रेणुले १२४५ झारिन्। अहिले त्यसपछिको मतान्तर १९०० नाघ्न सकेको छैन।

वडा नम्बर १६ र २४ गन्दा देवीको मतान्तर बढेपनि त्यसपछि क्रमश रेणुले सामान्य मतान्तर घटाउँदै आएकी छिन्। तर कांग्रेस माओवादीको आशातित भएन। उनलाई कांग्रेसको मत समेत ५०, ५२ प्रतिशत भन्दा बढी गएन।

त्यतिबेला रेणुले जित्नका लागि हरेक वडामा ३०० मत आवश्यक थियो। त्यसपछि झिनो मतले मात्रै रेणुले वडाहरुमा लिड गर्दा मतान्तर केही घटाएपनि लक्ष्य अनुसार घट्न सकेन। अहिले उनको मतान्तर ९८१ पुगेको छ। विगतका मत परिणामलाई हेर्ने हो भने उनको यसरी मत आउन गाह्रो छ। कुनै चमत्कारिक परिणाम बाहेक उनले मत ल्याउँछिन् भन्नेमा कोही पनि विश्वस्त छैनन्।

अहिलेको मतपरिणामले नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुवै पक्षको धड्कन बढेको छ। ५, ६ सयको मतान्तरमा जितहार हुने अवस्था सिर्जना भएको मतगणनास्थल कभर्डहल अगाडि चासोका साथ बसेका मतदाताहरुको मुल्यांकन छ। अहिले देशकै चासो र चर्चाको विषय बनेको देवी–रेणुको पुर्ण मतपरिणाम थाहा पाउन अझै एक दिन कुर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.