|

  • रमेश पराजुली-

 सिन्धुपाल्चोक : विनाशकारी भूकम्प गएको दुई वर्ष कटिसक्दासमेत भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकमा पूननिर्माणले गति लिन सकेको छैन। सरकारी अन्योलताले गर्दा सिन्धुपाल्चोकमा पूननिर्माणले गति लिन नसकेको हो। सरकारी अनुदान रकम कुरेर बस्नाले गर्दा पीडितहरुले अझैसम्म घरको जग बसाउन नसकिएका भूकम्पपीडितको भनाइ छ।

बस्ने बाँसको खोजी गर्न थालेको दुई साल कटिसकेको चौतारा साँगाचोकगढी नगरपालिकाका नारायण सापकोटाले भने, 'सुरुमा पहिले पहिलो किस्ताले अल्झायो, अहिले दोस्रो किस्ता कसरी लिने भन्नेमा अन्योल छ। दुई सालको झरी र हिउँदको जाँडो टहरामा कटाएँ। अहिलेसम्म घरको जग राख्न सकेको छैन। यो सालको वर्षा पनि टहरामै बित्ने पक्का भयो।’

यस्तै, फुल्पिङडाँडा-१ की ७२ वर्षीय एकल महिला पाङ्खुमाई तामाङले आफू बस्ने सुरक्षित घर बनाएकी छिन्। पहिलो किस्ता ५० हजारसँगै गाँउकै कृषि सहकारी संस्थाबाट २ लाख ५० हजार ऋण गरेर उनले आवास निर्माण गरेकी हुन्।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप आवास निर्माण गर्ने बस्तीकै पहिलो व्यक्ति उनी नै हुन्। समुदायमा अरुले घर वनाउन सुरु गर्नुअघि नै उनले आफ्नो घर नमुनाको रुपमा देखाउन सफल भएकी छिन्।

घर निर्माणको सम्पूर्ण काम सकेकी उनी लाभग्राही सूचीमा दोस्रो किस्ताको लागि समेत सिफारिस भएकी छन्। उमेरले सात दशक काटेकी तामाङ एकल मात्र नभएर आफ्नो घरको एक्ली सदस्यसमेत हुन्। भूकम्पले घर ढालेको २१ महिना पछि सम्म पुन निर्माणको काम सुरु नभए पछि आफैं जागरुक भएर घर ढड्याएकी उनी जीवनमा निकै आशावादी महिला हुन्।

गोल्चे-२ बैकुण्ठेकी संगीता तामाङको पनि वस्तीभरीमा नमुना घर बनेको छ। भूकम्पमा बुबा आमा दुवै गुमाएकी संगीताले समुदायमा अरुभन्दा पहिले दोस्रो किस्ताको लागि सिफारिस भएकी छन्। दुई वहिनी र बृद्ध हजुरबुबा हजुरआमाको संरक्षणको जिम्मेवारीमा रहेकी उनीको परिवार यो जाडोको आध आधि नहुँदै आफ्नै घरमा बस्न थालिसकेका थिए।

उनी त हामीले प्रत्यक्ष देखेको एक प्रतिनिधि पात्र मात्र हुन्। सिन्धुपाल्चोकमा भूकम्पपछि अहिले करिब ९० प्रतिशत पीडित अझै टहरामा जिविका गुजारी रहेका छन्। सरकारी अन्योलताले गर्दा पीडितको अवस्था फेरिन नसकेको यहाँका भूकम्पपीडित गुनासो गर्छन्।

दोस्रोमा १५ सय र तेस्रोमा ४२ परिवार सिफारिस

सिन्धुपाल्चोक जिल्लामा दोस्रो किस्ताका लागि १५ सय ७० परिवार र तेस्रो किस्ताको लागि ४२ परिवार मात्र भूकम्पपीडितमा सिफारिस भएका छन्। सरकारी मापदण्डमा रहेर घर निर्माण गरेका पीडितहरुलाई सिफारिस गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख युवराज पौडेलले जानकारी दिए।

पछिल्लो सयम सिन्धुपाल्चोकको पुननिर्माणले गति लिएको छ। अहिले दोस्रो किस्ताको लागि आउने धेरै छन्। 'सरकारी मापदण्ड पूरा नभएका घरलाई हामीहरुले सिफारिस गरेका छैनौं। जसले गर्दा पुननिर्माण अघि बढेको नदेखिएको हो’ प्रमुख पौडेलले भने ।

सरकारी इन्जिनियहरु गाउँमा बनेका घर हेर्न समेत नभएको पीडितको भनाइ छ। बनेका घर हेर्न आउँदैनन अनि कसरी लिन सक्नु खै दोस्रो किस्ता जुगल गाउँपालिका सेलाङकी दुर्गा सिलवाले भनिन्। 'घर बनाउन नक्सा पास गर्न उतिकै गाह्रो भयो अहिले घर बनाइयो। दोस्रो तेस्रो किस्ता कसरी लिने हो अझै थाहा छैन।' उनले गुनासो पोखिन्।

आकासियो निर्माण सामाग्रीको भाउ

जिल्लाको उत्तरी क्षेत्रको विकट गाँउ विकास समिति गुम्वामा भने अधिकांश घर निर्माण भएका छन्। गुम्वा-६ वोल्देकी बैयो तामाङले आफ्नो घर गाँउमै नमुना बनाएपछि घर निर्माणको लहर चलेको बताउँछिन्। समुदायमा सबैले सहयोग गरे पनि घर बनाउन निकै असहज भएको उनको अनुभव छ।

‘ढुवानी नै असध्यै महगो भो,’ उनले खर्चको विवरण सुनाउँदै भनिन्, ‘गाडी गुड्ने सडक छैन, सबै सामान बोकेर ल्याउनुपर्छ, धेरै खर्च भयो।’ घर पूर्ण भइसकेकोले अब सबै किस्ता पाउनुपर्ने उनको राय छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.