|

दमक : आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षाका गाउँ-गाउँमा पुग्न नसकेको झापाका मतदाताहरुले बताएका छन्। जिल्लाको दक्षिणी ग्रामिण क्षेत्रका मतदाताहरुले आफूहरुसामु मतदाता शिक्षाका लागि निर्वाचन आयोगका कर्मचारीहरु आइनगपुगेको बताएका हुन्।

दक्षिणी ग्रमीण क्षेत्र कमल गाउँपालिका १ का मेहन्द्र भट्टराईले दलहरु भोट माग्दै गाउँ-गाउँ आइसक्दासमेत आयोगका कर्मचारी भने गाउँसम्म आइनपुगेको बताए। ‘अहिलेसम्म हाम्रोमा निर्वाचन आयोगका कर्मचारीहरु मतदाता शिक्षाका लागि आएका छैनन्,  हाम्रो क्षेत्रमा धेरै अशिक्षित जनताहरु छन्, उनीहरुलाई निर्वाचन शिक्षाको धेरै खाँचो छ, सहरमा त मानिसहरु शिक्षित नै हुन्छन्’,उनले भने, ‘ बरु दलका नेताहरु गाउँमा भोट माग्दै र भोट हाल्न सिकाउँदै आइसकेका छन्, उनीहरु आउँदैनन्।'

सीमान्तकृत मसुदायका अशिक्षित मतदातालाई निर्वाचन शिक्षाका आवश्यकता रहेको भट्टराई बताउँछन्। उनी भन्छन्, ‘ सन्थाल, कोच, झाँगर लगायत समुदायलाई धेरै मतदाता शिक्षा आवस्यक पर्छ, उनीहरु धेरै जसो अशिक्षित हुँन्छन्, उनीहरुबाटै धेरै मत बदर हुन्छ।’

यस्तै, झापाको दक्षिणी सीमावर्ती गाउँ गौरिगञ्ज गाउँपालिका १ स्थित बालुबाडीकी सीमान्तकृत कोच समुदायकी लोदरसरी कोचले आफूहरुकहाँ कोही पनि आइनपुगेको बताइन्। उनी भन्छिन्, ‘हाम्रोमा त न निर्वाचनका कर्मचारी आएका छन्, न भोट माग्न नेता नै आएका छन्।' यसपटक भोट हाल्नसमेत समस्या भएको सुनेको उनी बताउँछिन्।

ग्रामीण क्षेत्रमा त अहिलेसम्म निर्वाचनका गतिबविधि नै नभएको कमलगाउँपालिका २ का बलबहादुर श्रेष्ठ बताउछन्। उनी भन्छन्, ‘ दमक बजार निक्लिँदा मात्र चुनाव आएको जस्तो लाग्छ, हाम्रोमा त चुनाव आएको जस्तो नै छैन, न भोट माग्न आउँछन् न मत नै माग्न आउँछन् तर कहीँ कहीँ मतदाता शिक्षासम्बन्धी पम्पेल्ट चाहिँ देखिन्छ।’

मतदाता शिक्षाका लागि झापाबाट ६ सय ३७ जना कर्मचारीहरु खटिएको निर्वाचन कार्यालयले जनाएको छ। दुई वटा संविधानसभाको निर्वाचनमा झापामा बदर मतको संख्या उल्लेखनीय रहेको  तथ्यांक छ। २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा २१ हजार ६ सय ६५ मत बदर भएको थियो उक्त निर्वाचनमा ३ लाख ७२ हजार ९ सय २४ मतदातामा ३ लाख ५१ हजार २ सय ५९ मत खसेको थियो।

यस्तै २०७० सालको संविधानसभाको दोस्रो चुनावमा २५ हजार १६ मत बदर भएको थियो। उक्त निर्वाचनमा ४ लाख ५४ हजार ७ सय ७६ मतदातामा ३ लाख ५५ हजार ७ सय ८८ मत खसेको थियो। यस पटक भने झापाबाट ५ लाख १० हजार २ सय १६ जनाले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय झापाका जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताए।

उनी भन्छन्, ‘ जेठ ५ गतेदेखि झापामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको हो, अझै २६ गतेसम्म चल्छ, हाम्रो उद्देश्य चाहिँ गाउँ-गाउँसम्म पुगेर शिक्षा दिनु हो, हामी गाउँसम्म नै अन्तिम समयसम्म भए पनि पुग्ने छौं।' आफूहरुले मतदाता शिक्षासँगै सार्वजनिक स्थानहरुमा निर्वाचनमा सचेत गर्ने खालका सामग्री पोस्टर पम्पलेट टाँसिरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.