|

  • मनोज भट्टराई-

ओखलढुंगा  :  जिल्ला सदरमुकाम ओखलढुंगामा चिराइतो प्रशोधन केन्द्रको भवन निर्माण सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा कृषि उद्यम केन्द्रले सञ्चालन गरेको एक जिल्ला, एक कार्यक्रमअन्तर्गत ओखलढुंगामा चिराइतो प्रशोधन केन्द्रको भवन तयार भएको हो।

५० लाख रुपैयाँको लागतमा ओखलढुंगा सदरमुकामको गोरुमारे भञ्ज्याङमा निर्माण सुरु भएको भवन सञ्चालनका लागि तयार भएको हो। कृषि उद्यम केन्द्रले ओखलढुंगाका पश्चिमी र उत्तरी भेगका गाविसमा बढी मात्रामा पाइने चिराइतोलाई स्थानीयस्तरमै प्रशोधन गरी फाइदा लिन सकिने भएकाले अध्ययन गरेर एक वर्ष अघिबाट कार्यक्रम लागू गरेको थियो।

एक जिल्ला एक उत्पादनअन्तर्गत निर्माण भएको भवनलाई नेपाल उद्योग वाणिज्य महासंघबाट चिराइतो प्रशोधन मेसिन उपलब्ध भइसकेको र सञ्चालनको लागि कृषकहरुसँग रहेको चिराइतो ल्याउने  आवश्यक तयारी गरिरहेको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए।

ओखलढुंगामा वार्षिक ६० मेट्रिक टनको हाराहारीमा जडीबुटीको रुपमा चिनिने चिराइतो संकलन गर्न सकिने अनुमान गरिएको छ। जिल्लाका उत्तरी र पस्चिमी गाउँ हरुमा चिराइतो उत्पादन राम्रो हुने भएको हुँदा कृषकहरुलाई पनि प्रोत्साहित गरीने मास्केले बताए।

यसअघि, चीन तथा भारतमा निर्यात हुँदै आएको चिराइतो जिल्लास्तरमै प्रशोधन गर्नका लागि भवन निर्माण भएपछि ओखलढुंगाका किसानहरु उत्साहित भएका छन्। ५० प्रतिशत सरकारी अनुदानमा सञ्चालन हुने चिराइतो प्रशोधन केन्द्र सञ्चालनमा आएपछि नेपाल उद्योग वाणिज्य महासंघले चिराइतो निर्यातमा किसानहरुलाई सहयोग गर्ने ओखलढुंगा उद्योग वाणिज्य संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.