|

पोखरा: सुन्दर पर्यटकीय नगरी पोखरामा गजलवाचन तथा गजलमाथि परिचर्चा सम्पन्न भएको छ। जरा फाउण्डेशन नेपाल र गजल सन्ध्या पोखराको संयुक्त आयोजनामा शनिबार सम्पन्न 'गजल सङ्गम' कार्यक्रममा पोखरा तथा काठमाडौँका एक दर्जनभन्दा बढी गजलकारले गजलवाचन गरेका थिए।

दुई चरणमा गरिएको उक्त कार्यक्रममा पहिलो चरण गजल परिचर्चामा केन्द्रित थियो। वर्तमान गजलको अवस्था र गजलमा देखिएका विवादबारे कवि तथा समालोचक महेश पौड्यालले गजलसमालोचक डा. घनश्याम परिश्रमी, दीपक समीप र घनेन्द्र अोझाबीच अन्तर्क्रिया गराएका थिए। 

कार्यक्रममा समालोचक डा. परिश्रमीले नेपाली गजलको वर्तमान विभिन्न धारबाट हिँडिरहेको र यहीँबाट नेपाली गजलमा विवाद र मतभेद सिर्जना भइरहेको बताए। गजलकार समीपले नेपाली गजलमा अहिले देखिइरहेका प्रयोग र अभ्यासलाई पनि सम्पूर्ण रूपमा बेवास्ता वा निषेध गर्न नहुने तर्क गरे।

अर्का समालोचक घनेन्द्र अोझाले गजल शास्त्रीय विधा भएकाले यसको सिद्दान्त पहिल्यै निर्माण भई प्रयोगमा आइसकेको तथा लामो समयदेखि प्रचलित परम्परा भएको हुँदा अब पनि नेपाली गजलले त्यसलाई त्याग्न नसक्ने धारणा राखे। अोझाले नेपाली गजलकारहरूमा गजलका बारेमा पढ्ने र बुझ्ने चलन नभएकाले विशेषगरी नेपाली गजलको नयाँ पुस्ता केही अग्रजका पछि लागेर आफ्नो क्षमता गुमाइरहेको बताए। 

'हाम्रा गजल स्रष्टालाई गजलबारे पढ्ने, खोज्ने समय छैन, यही भएर यति धेरै पढ्ने सामग्री बजारमा हुँदा पनि हामी अग्रजकै पछि मात्र दौडिइरहेका छौँ', अोझाले भने, 'यही नै हाम्रा लागि र समग्र नेपाली गजलका लागि घातक बनिरहेको छ।'

उनले अग्रजका पनि धेरैजसो गजल शास्त्रीय हिसाबले गजल बन्न नसकेका भन्दै अनुज पुस्ताले अग्रजकै रचनालाई मात्र मानक मानेर गजल लेखेमा ती रचना शुद्ध गजलका कोटीमा नपर्ने दाबीसमेत गरे।

समालोचक डा. परिश्रमीले गजलमा बहर अनिवार्य शर्त भएको उल्लेख गर्दै तर नेपाली गजल परम्परामा बहरलाई राम्ररी नबुझी गजल लेखिइरहेको बताए। उनले बहरमा मात्रा गिरावट र चढावटको प्रयोगमा जोड दिँदै केही सीमित गजलकारबाहेक धेरैजसोले गजलको एउटा महत्त्वपूर्ण सैद्दान्तिक पक्ष मात्रा गिरावट र चढावटलाई बेवास्ता गरेको बताए। डा. परिश्रमीले भने, 'अरू त अरू गजलमा बहर/छन्द/लयको  आवश्यकताको वकालत गर्दै आएको अनाममण्डलीले समेत बहरमा मात्रा गिरावट र चढावटको कुरालाई पूरै बेवास्ता गरिदियो।'

अनाममण्डलीका संस्थापक महासचिव तथा पूर्व अध्यक्षसमेत रहेका घनेन्द्र अोझाले डा. परिश्रमीको भनाइलाई प्रतिवाद गर्दै उर्दू, हिन्दी भाषा परम्परामा 'अोकार' र 'एकार'लाई आवश्यकताअनुसार ह्रस्व र दीर्घ दुवै रूपमा प्रयोग गर्न सकिने व्यवस्था भए पनि हाम्रो भाषा परम्परामा एकार र अोकार सधैँ दीर्घ नै हुने परम्परा रहिआएको तथ्य पेस गर्दै नेपाली छन्द वा बहरमा गजल रचना गर्दा मात्रा गिरावट र चढावट आवश्यकता नरहेको दाबी गरे।

गजलकार तथा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले उर्दू, हिन्दी गजल परम्पराबाटै नेपाली साहित्यमा गजल प्रवेश गरेको उल्लेख गर्दै उर्दू र हिन्दी परम्पराका केही गुण र स्वभाव नेपाली गजलमा आउनु स्वाभाविक भएको बताए। 'तर सम्पूर्ण रूपमा त्यही कुरा नेपाली गजलले पनि स्वीकार गरिरहनुपर्छ भन्ने होइन', समीपले भने, 'अहिले स्वतन्त्र तथा लोकलयमा लेखिएका अधिक गजललाई पनि सम्मान गरिनु भने पर्छ।'

दोस्रो चरणमा एक दर्जनभन्दा बढी गजलकारले प्रभावशाली गजलवाचन गरेका थिए। गजलवाचनमा डा. घनश्याम परिश्रमी, धनराज गिरी, दुर्गा शाह बाबा, भरत आचार्य, सरस्वती श्रेष्ठ सरु, देवेन्द्र केसी, असीम सागर, आवाज शर्मा, दीपक समीप, घनेन्द्र ओझा, रुपिन्द्र प्रभावी कटु, मन क्षेत्री, सङ्गीता आभास, महेश क्षितिज, असफल गौतम, बिर्सना बस्नेत, त्रुपक, प्रकाश अधिकारी, सुमन स्मारिका, सङ्गीता थापा, मोहन भण्डारी तथा सुदर्शन पौडेलले आआफ्ना शक्तिशाली गजलवाचन गरेका थिए।

कवि तथा गीतकार प्राज्ञ तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रमका आयोजक संस्था गजल सन्ध्या पोखराका अध्यक्ष बिर्सना बस्नेतले स्वागत मन्तख्य राखेकी थिइन् भने जरा फाउण्डेशनका महासचिव महेश पौड्यालले कार्यक्रमको अौचित्य प्रस्ट्याएका थिए।

कार्यक्रममा प्रमुख अतिथि तीर्थ श्रेष्ठले हरेक साहित्यिक विधालाई स्वतन्त्र रूपले विकसित हुन दिनुपर्ने धारणा राखे। उनले तर स्वतन्त्रताका नाममा ती विधाका आधारभूत मर्म भने मारिनु नहुने बताए।

जरा फाउण्डेशनका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण प्रसाईंले नेपाली गजलको बढ्दो लोकप्रियताबारे उल्लेख गर्दै यही बेला गजलमा देखिएका विवादलाई निरूपण गर्न प्रयत्न गरिनुपर्ने बताए। 'यसैका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.