|

संजय रेग्मी

पर्वत : 'म त जहाज चढ्दा छक्क परें, माथिबाट हेर्दा तल घरहरु पनि कमिला जस्ता देखिने। यात्रा गर्न सजिलो थियो, उत्तिखेरै काठमाण्डु पुगिने। पछि मोटर आउन थालेपछि भने जहाज पनि आउन छोडे। नेताले भोट माग्ने बेलामा यो एयरपोर्ट शुरु गराउँछु भन्छन्। खोई अहिलेसम्म कसैले पनि जहाज ल्याउन सकेनन।' यो भनाइ बगलुङको बलेवाका ८८ वर्षीय बलबहादुर जिसीको हो।

जिसी जस्तै धेरैलाई अझै पनि बगलुङको बलेवामा रहेको एयरपोर्ट सञ्चालनमा आउँछ कि भन्ने छ। त्यसमा पनि स्थानीय तहको निर्वाचन पछि आफ्ना जनप्रतिनिधिले केही गर्लान् कि भन्ने आशा पालेका छन्। हरेक निर्वाचनमा नेताहरुले उनीहरुलाई एयरपोर्ट सञ्‍चालनमा ल्याउने आश्वासन दिँदै भोट पनि माग्छन तर, एयरपोर्ट सञ्‍चालनमा नआउँदा बलेवाबासी मात्र होइन धौलागिरिबासी नै दुःखी छन्।

पोखरा बागलुङ राजमार्ग सञ्‍चालनमा आएको झण्डै २६ वर्ष भयो। उक्त राजमार्ग खुल्नुभन्दा अगाडिसम्म बागलुङको बलेवामा रहेको बलेवा विमानस्थल यात्रुहरुले खचाखच भरिएको हुन्थ्यो। तर, जब राजमार्गमा सवारी गुड्न थाले त्यसपछि भने विमानस्थल बन्द भयो।

तर बेला बेलामा अहिले पनि विमानस्थल सञ्‍चालन गर्नेबारे चर्चा उठ्ने गरेका छन्। बि.सं. २०२२ सालमा पहिलो पटक विमान अवतरण भएको बलेवा बिमानस्थलमा झण्डै २८ वर्षसम्म विमानहरुले उडान भरे। तर, २०४८ सालमा पोखरा बागलुङ राजमार्गमा सवारी चल्न थालेपछि उक्त विमानस्थल बन्द भयो।  बन्द भएसँगै गौचरनमा परिणत भयो। त्यो बेलामा बनेका पूर्वाधारहरु अहिले भग्नावशेषमा परिणत भएका छन्।

बागलुङका माओवादी नेता दीनानाथ शर्मा शिक्षा मन्त्री र लोकेन्द्र विष्टमगर पर्यटन मन्त्री रहेको बेला प्रचण्ड सरकार मार्फत विमानस्थल पुन: सञ्‍चालनमा ल्याउने भनी जम्बो टोली विमानस्थलमा अवतरण गरे पनि स्थानीय जनताको लागि भने हात्ती आयो, हात्ती आयो फुस्स जस्तै भयो।

विमानस्थल सञ्‍चालनकै नारा लगाएर नेताहरुले चुनावमा भोट माग्ने आधार पनि बनाए। यद्यपि आफूले विमानस्थल सञ्‍चालनको लागि आवश्यक पहल गरिरहेको बताउँछन् बागलुङका सासद प्रकाश पौडेल।

उनी भन्छन, 'एयरपोर्ट सञ्‍चालनमा ल्याउनको लागि मैले पर्यटन मन्त्रीसँग कुरा गरेको छु। उहाँ पनि सकारात्मक हुनुहुन्छ, उहाँ र हामी भएर एयरपोर्टमा सँगै अवतरण गरेका छौं। अघिल्लो वर्ष पनि यसको संरक्षणको लागि एक करोड रुपैयाँ विनियोजन भएको हो।  अहिले पनि एकजना कर्मचारी राखेर विमानस्थलको रेखदेख भइरहेको छ।'

विमानस्थल सञ्‍चालनमा ल्याउने अबको रन्को नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुमा सरेको छ। बागलुङको बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल र पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पनि संयुक्त रुपमा अबको दुई वर्षभित्रमा विमानस्थललाई पूर्ण सञ्‍चालनमा ल्याउने प्रतिबद्धता गरेका छन्।

विमानस्थल सञ्‍चालनमाबारे आफ्नो योजना सुनाउँदै बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले, आफूले आफ्नो घोषणापत्रमा उल्लेख गरे अनुसार नै विमानस्थल सञ्‍चालनमा ल्याउन तत्कालै पहल गर्ने बताए।

पहिलो चरणमा केन्द्र र प्रदेशमा आवश्यक पहल गर्ने यदि कसैले नटेरेमा त्यो बेलामा आफूहरुले चर्को दबाब दिने उनको भनाइ छ। विमानस्थल सञ्‍चालन गर्न लगानीकर्ताहरुलाई पनि प्रस्ताव गरिने र आफूहरुले पनि लगानी गर्ने उनले सुनाए।

धौलागिरि अञ्चलका मन्त्री, सासददेखि न्यायाधीश र प्रधानमन्त्रीसम्म विमानस्थलको प्रसंग उठ्छ तर कुरा उठ्न नपाउँदै सेलाउँछ। बलेवाबासी र सिंगो धौलागिरि अञ्‍चलका जनतालाई विमानस्थल पुनः सञ्‍चालन हुनु आकाशको फल आँखा तरी मर जस्तै भएको छ।

बलेवाबाट पोखरा, काठमाडौं, जोमसोम, भैरहवा लगायतका ठाउँमा नियमित उडान हुँदै आएको थियो। चीनदेखि भारत जोडिने कालीगण्डकी करिडोरको तीव्र गतिमा भइरहेको निर्माणले पनि विमानस्थल सञ्‍चालनमा ल्याउनु अत्यावश्यक बनेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.