डा. केसीको अनशन भोलि चार बजे सम्मका लागि पुन: स्थगित

|

काठमाडौं: त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका प्राडा‍ गोविन्द केसीको अनशन पुन: भोलि दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ। एघारौं पटक अनशन बस्न दाङको घोराही पुगेका डा. केसीको अनशन भोलि दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको उनीसँगै घोराही पुगेका उनका सहयोगी किशोर केसीले जानकारी दिए।

भोलि दिउँसो दुई बजे बस्ने सामाजिक न्याय समितिको बैठकबाट स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गर्ने र साढे २ बजे बस्ने मन्त्रिपरिषद बैठकले त्यसको अनुमोदन गर्ने जानकारी स्वास्थ्य मन्त्री गगन थापाले फोनबाट जानाकारी दिएपछि अनशन स्थगित गरिएको सहयोगी केसीले जानकारी दिए।

उनले भने,  'डा . केसीले आज चार बजेदेखि दाङ घोराहीको ट्राफिक चोकस्थित शिरडी साई मन्दिरमा बस्ने भनिएको अनशन भोलि चार बजेसम्मका लागि स्थगित गरिएको छ।'
भोलि चार बजेसम्म आफ्ना  तीनवटै माग पूरा गर्न माग गरिएको र माग पूरा नभए भोलि चार बजेबाट पुन: अनशन सुरु गर्ने डा केसीका सहयोगी किशोर केसीले बताए। दसौं पटकको अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन, चिकित्सा शिक्षा विधयेक पारित गरिनुपर्ने तथा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव खारेज गरिनुपर्ने लगायतका माग राखेर ११ औं अनशन बस्न शनिबार नै  डा केसी दाङ पुगेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.