|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं तराई फास्ट ट्र्याकको शिलान्यास गर्न सफल भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन्।

आइतबार युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले आफू नेतृत्वको सरकारले धेरै काम अगाडि बढाइदिएका कारण प्रचण्डले शिलान्यास गर्न सफल भएको टिप्पणी गरे। 'एउटा ठूलो काम गर्नुभयो उहाँले। शिलापत्रमा लेखाउनुभयो। नेकपा एमालेले के गर्‍यो र? फास्ट ट्रयाकका लागि बजेट छुट्याएको न हो' ओलीले व्यंग्यमिश्रित भावमा भने।

आफू नेतृत्वको सरकारले अघि बढाएका कामको जस अहिलेको सरकारले लिने गरेको बताए। 'एमालेले हुलाकी राजमार्ग बनाउँछु भन्यो। बजेट छुट्यायो। ठेक्का लगायो। अब म उद्घाटन गर्छु भन्दै उहाँ उद्घाटन गर्नुहुन्छ। शिलालेख बन्छ' ओलीले प्रचण्डमाथि व्यंग्य गरे 'एमाले शिलालेखका पछि कुद्ने, शिलालेखका लागि होइन एमालेका नामका शिलालेख छन् भने हटाइदिए हुन्छ।'

एमाले शिलालेखको पछि कुद्ने पार्टी नभएर विकासको अभियान चलाउने पार्टी भएको भन्दै ओलीले प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेको शिलान्यास सुन्दर भएको भन्दै बधाइ समेत दिए। 'शिलान्यास सुन्दर रहेछ। बधाइ छ पुष्पकमलजी' उनले भने 'जाँदाजाँदै पनि काम केही गर्न नभ्याएपनि एउटा शिलालेख तयार भएको छ।'

पहिलो चरणमा एमाले कमजोर रहेको क्षेत्रमा चुनाव गरिएको दावी गर्दै ओलीले निर्वाचनको परिणाम आउन थालेपछि आत्तिएर सत्तापक्षले तराइमा स्थानीय तहको संख्या थप गरेको टिप्पणी गरे। 'परिणाम देख्न थालिएपछि आत्तिनुभयो र नगरलाई गाउँ, गाउँलाई नगर। पान पसल पनि नभएको ठाउँलाई नगर। चिया पसल पनि नभएको ठाउँलाई नगर'-ओलीले भने, 'हामीलाई कसरी देशलाई शहरीकरण गर्ने? आवादिकरण गर्ने? विकास गर्ने? चिन्ता थियो। तपाईहरुलाई त गाउँलाई शहर बनाउन कुनै गाह्रो नै रहेनछ। एकै रातमा गाउँहरु त नगर,उपमहानगरपालिकालाई महानगरपालिका बनाइदिनुभयो।'

ओलीले प्रधानमन्त्री प्रचण्डसँग विकासमा रुची नरहेको भन्दै एमालेले बनाएर ठिक्क पारेको मन्दिरको टुप्पोमा रंग लगाउने काम मात्र गरेको समेत बताए। 'उहाँले हामीले बनाएको मन्दिरको टुप्पोमा रंग लगाउदै हुनुहुन्थ्यो। अरु त केही गर्नुभएन मन्दिरको टुप्पोमा रंग लगाउनुभयो अनि भन्नुभयो, अरुले त यो टुप्पोमा रंग लगाउन सक्या थिएनन्। मन्दिर बनाएको न हो' ओलीले भने।

उनले लोडसेडिङको अन्त्यका लागि एमालेले सबै कामहरु गरिसकेपछि प्रधानमन्त्रीले जस मात्र लिएको बताए। 'एमालेले ट्रान्समिसन लाइनको काम गर्‍यो। विद्युत खरिदको काम गर्‍यो। आयोजनाहरुलाई छिटो अगाडि बढायो' ओलीले भने, 'अनि एक वर्षभित्र आधारभूत रुपमा लोडसेडिङ समाप्त हुन्छ भन्दा उहाँहरु मजाक उडाउनुहुन्थ्यो। एक वर्षभित्र लोडसेडिङ समाप्त भएपछि एमालेले टाँसिदिएको जुँगा उहाँले मुसार्दै हुनुहुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • वलि कति सम्म गिरेर बोल्छन् अचम्म लाग्छ...