|

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव अघि नबढाउन सभामुखलाई पत्राचार गरेका छन्। महाभियोग प्रस्तावका प्रस्तावक नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई पत्राचार गरी प्रस्ताव अघि नबढाउन आग्रह गरेका हुन्।

प्रहरी महानिरीक्षक नियुक्तिबारे परेको रिटमा कार्यकारीको अधिकारमा हस्तक्षेप गरेको, न्यायालयमा गुटबन्दी गरेको लगायतका आरोप लगाउँदै सत्तारुढ दुई दलका सांसदले प्रधानन्यायाधीश कार्कीविरुद्ध गत वैशाख १७ गते संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रहरी महानिरीक्षक मुद्दामा सर्वोच्चले गरेको फैसला के हो? सजिलोसँग बुझ्नुहोस्

‘…२४९ जना माननीय सदस्यहरुको हुताक्षर सहित हामी प्रस्तावक र समर्थक रही नेपालको संविधानको धारा १०१ को उपधारा (२) बमोजिम सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरी व्यवस्थापिका संसदमा छलफलको लागि मिति र समय तोकिसकिएकोमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर राखी उक्त प्रस्ताव अघि नबढाउन अनुरोध गर्दछौँ’, पत्रमा भनिएको छ।

शनिबार प्रमुख तीन राजनीतिक दल महाभियोग प्रस्ताव फिर्ता लिन सहमत भएका थिए। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै आएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.