|

बाँकेः राजनीतिक दलका उम्मेदवार दलबलका साथ मत माग्न घरदैलो गरिरहेको बेला बाँकेको साविक हिरमिनिया गाविस– ३, भङ्घोटनाका किसानलाई हरियो कोसा मकै बिक्री गर्ने चटारो छ।

आलु खेतीपछि मकै रोपेका भङ्घोटनाका कतिपय किसानले बारीबाट नै हरियो कोसा बिक्री गरिसकेका छन् त कसैले बिक्री गरिरहेका छन्।

मकै बिक्री गर्ने र भित्र्याउने काममा व्यस्त भएका कारण भोट माग्न घरदैलोमा आउने उम्मेदवार, नेता र कार्यकर्ताको कुरा सुन्ने फुर्सद नभएको भङ्घोटनाका मकरध्वज पाण्डेले बताए। ‘मकै ढिला गर्नेवित्तिकै बिक्री गर्ने समय घर्किन्छ, आफ्नो महत्त्वपूर्ण काम छोडेर नेताको कुरा सुन्नु पनि भएन’, उनले भने, ‘हामीलाई चुनावभन्दा मकैको चिन्ता छ, नेताको कुरा सुन्ने हो भने वर्ष दिनको खेती चौपट हुन्छ।’

उनले १० कट्ठा जमिनमा रोपेको हरियो मकैको कोसा बिक्री गरेर ४० हजार रुपैयाँ आम्दानी गरेको बताए। ‘गत वर्षको भन्दा यस वर्ष दोब्बर फाइदा भएको छ’, उनले भने। 

यस वर्ष गर्मीयाममा समय समयमा पानी परेका कारण मकै राम्रो फलेको उनले बताए। उनले बारीबाट नै बिक्री भएकोले मकै भाँच्न (टिप्न), कोसा छोडाउनका लागि मजदुर लगाउनुनपरेको जानकारी दिए। ‘मजदुर र थ्रेसर भाडावापतको रकम बचेकोले फाइदा धेरै भयो’, पाण्डेले भने।

मकै जोन कार्यक्रमका कारण उत्पादनमा वृद्धि

हिरमिनियाको भङ्घोटनाका जयपाल मौर्यले तीन विगाह क्षेत्रफलमा मकै खेती गरेका छन्। आलु खनेर उनले उक्त जमिनमा मकै खेती गरेका हुन्। प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै जोन कार्यक्रमको प्राविधिक सहयोग पाएका उनले गत वर्षभन्दा एक विगाह बढी क्षेत्रफलमा मकै खेती गरेका छन्।

उनले गत वर्षको भन्दा यसपालि मकैको कोसा राम्रो लागेको बताए। उनले प्रति कट्ठा दुई क्विन्टल मकै फल्ने बताए। ‘गत वर्षको भन्दा यस वर्ष धेरै राम्रो छ।’ उनले हिरमिनियामा पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा बेमौसमी मकै खेती भएको जानकारी दिए। मकै जोन कार्यक्रमका संयोजक समेत रहेका मौर्यले मकै खेती गर्ने किसान र जमिन हरेक वर्ष थपिँदै गएको बताए।

तरकारी पकेटबाट मकै पकेटतर्फ उन्मुख

तरकारी पकेट क्षेत्रको रूपमा परिचित हिरमिनियाको भङ्घोटना पछिल्लो समय मकै पकेट क्षेत्रको रूपमा चिनिएको छ। यहाँका किसान तरकारी खेती छोडेर मकै खेतीमा लागेका छन्।

मकै खेतीको तुलनामा तरकारी खेतीमा मेहनत बढी र आम्दानी कम हुने भएकोले तरकारी खेती छोडेर मकै खेतीमा लागेको स्थानीय किसान गुरुदिन यादवले बताए। उनले हिरमिनियामा तरकारी खेती गर्नेको संख्या हरेक वर्ष घट्दै गएको बताए।

‘तरकारी खेतीमा रातदिन खटिनुपर्छ’, उनले भने, ‘समय–समयमा पानी सिँचाइ गर्नुपर्ने, औषधि छर्किनुपर्ने र समय–समयमा गोडमेल गर्नुपर्ने भएकोले धेरैजसो किसान मकै खेतीमा लागेका छन्’, उनले भने।

मकै बिक्री गर्न सहज

उनले तरकारीको तुलनामा मकै बिक्री गर्नसमेत सहज हुने बताए। मकै घरमै खरिद गर्न आउने गरेको बताउँदै उनले तरकारी बिक्री गर्न समस्या हुने गरेको बताए। उनले भने, ‘मकै बिक्री गर्न टाढा जानुपर्दैन, घरमै लिन आउँछन्।’

मकैको दाना र कोसा दुवै बारीमै बिक्री हुने स्थानीय किसान राजेन्द्र बर्माले बताए। उनले धेरै दिनसम्म राख्दा मकै नबिग्रिने र मूल्य पाएको बेला बिक्री गर्न सकिए पनि तरकारी बिक्री गर्न झन्झटिलो हुने बताए। ‘जुन दिन धेरै तरकारी फल्छ, त्यही दिन व्यापारीले मूल्य घटाइदिन्छन्’, उनले भने, ‘बिक्री नगर्दा कुहिने भएकोले सस्तो मोलमा भए पनि किसान बिक्री गर्न बाध्य हुन्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.