|

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि संविधान संशोधन गर्ने आश्वासन दिँदै चुनावमा सहभागी हुन राष्ट्रिय जनता पार्टीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको प्रमुख तीन दल र राजपाका नेताहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा दुई तिहाई बहुमत नपुग्ने भएकाले निर्वाचनपछि संविधान संशोधन पारित गर्ने गरी अहिले निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेका हुन्।

छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु पनि दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन विधेयककलाई अघि बढाउन सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए।

बैठकमा सहभागी राजपा नेता अनिल झाका अनुसार सहमतिमा संविधान संशोधन विधेयकको मस्यौदा गर्न नेकपा एमालेका नेताहरु पनि तयार देखिएका छन्। तर राजपाका नेताहरुले भने आफूहरुको मुख्य माग संविधान संशोधन नै रहेकाले त्यो पूरा नभएसम्म चुनावमा जान नसक्ने दोहोर्‍याएका थिए।

बैठकमा प्रधानमन्त्रीले स्थानीय तहको संख्या थप गरे पनि सर्वोच्च अदालतको आदेशमा रोकिएपछि स्थानीय तहको संख्याको विषयमा अदालतले आदेश गरेको बाहेक अन्य विषयमा के गर्न सकिन्छ भन्ने विषयमा महान्यायाधिवक्तासहितको राय लिएर छलफल गर्ने बताएका थिए।

आइतबारको बैठकमा सहमति नभए पनि छलफल सकारात्मक रहेको राजपाका नेता झाले बताए। उनका अनुसार संविधान संशोधन गर्न कार्यदल गठन गर्ने, स्थानीय तह थप गर्ने विषयमा पुन छलफल गर्ने र मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकालाई राहत, घाइतेको उपचार र मुद्दा लागेकाहरुको मुद्दा फिर्ता लिने विषयमा सोमबार फेरि छलफल गर्ने सहमति भएको उनले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राजपाका संयोजक महन्थ ठाकुर लगायतका शीर्ष नेताहरु सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.