माओवादीका २ र एमालेका १ प्रतिनिधि प्रहरी नियन्त्रणमा

|

चितवन : भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ। भरतपुर- १९ को मतगणना जारी रहँदा मध्यरातमा उत्पन्न तनावका क्रममा मतपत्र च्यातिएपछि मतगणना रोकिएको हो। त्यसक्रममा केही मतपत्र च्यातिएको चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए।

घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा माओवादी चितवनका सहईञ्चार्ज द्रोण सिवाकोटी, वाईसीएलका मधु न्यौपाने र एमाले प्रतिनिधि गंगा लामा रहेको प्रहरीले जनाएको छ।

कसले च्यात्यो मतपत्र ?

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतपत्र कसले च्यात्यो भन्ने आफूलाई जानकारी नभएको जनाएका छन्।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै न्यौपानेले भनेका छन्, 'राति ११ बजेर ४५ मिनेट जाँदा म शौचालय जान निस्किएको थिएँ। बीचबाटोमा पुग्दा होहल्ला सुरु भयो। फर्केर आउँदा मतगणनास्थल रणभूमिमा परिणत भइसकेको रहेछ। केही मतपत्र च्यातिएको छ। कसले च्यात्यो भन्ने जानकारी छैन।'

घटनाबारे निर्वाचन आयोगलाई जानकारी गराउने भन्दै उनले प्राप्त निर्देशनअनुसार अघि बढ्ने बताए।

दुवै पक्षको आ-आफ्नै दाबी 

मतपत्र च्यातिएको विषयमा एमाले र माओवादी दुवै आरोप प्रत्यारोपमा उत्रिएका छन्। मतगणना स्थगित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महानगर प्रमुखका एमाले उम्मेदवार देवी ज्ञवालीले कांग्रेस-माओवादी गठबन्धनले हार स्वीकार्न नसकेर मतपत्र च्यातेको बताएका छन्। हार्ने निश्चित भएपछि 'जंगली व्यवहार' देखाएको उनको भनाइ छ।

यता माओवादीले भने मुख्य निर्वाचन अधिकृत बाहिर निस्किएको मौका छोपेर आफूहरुको पक्षमा परेको मत मसी लगाएर बदर गर्न थालेपछि तनाव उत्पन्न भएको जनाएको छ। 

'हँसिया हथौडामा परेको मत गणकको हातको मसीले बदर गराइएको डेस्कमा रहेका हाम्रा एजेन्टले देखेपछि तत्कालै निर्वाचन अधिकृतको ध्यानाकर्षण गराउन खोज्दा एजेन्टहरु र कर्मचारीबीच सामान्य विवाद भयो,' माओवादीले मिडियालाई उपलब्ध गराएको खण्डनमा भनिएको छ, 'त्यसक्रममा होहल्ला हुँदा एमाले प्रतिनिधिहरुले मतपत्र नियन्त्रणमा लिन खोजेपछि तानातानका क्रममा मतपत्र च्यातिएको हो।'

के छ अवस्था ?

तनावपछि मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ। राति १:२० मा विज्ञप्ति जारी गर्दै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेे अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतगणना कार्य स्थगित भएको जानकारी गराएका छन्।


हाल मतगणनास्थललाई शिलबन्दी गरेर कडा सुरक्षा घेरामा राखिएको छ। १९ नम्बर वडाको १८०९ मत गन्दासम्ममा एमालेका देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र माओवादी-कांग्रेस गठबन्धनकी रेणु दाहालले ४० हजार ९ सय ८ मत प्राप्त गरेका थिए। 

भरतपुरमा अब १९ नम्बर वडाको करिब १ हजार र २० नम्बर वडाको मत गन्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.