|

काठमाडौं : आज दशौं गणतन्त्र दिवस। २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो। राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्दै मुलुकको प्रमुख पदमा जनताबाट निर्वाचित प्रतिनिधि रहने व्यवस्था गरिएको दिनको सम्झनामा गणतन्त्र दिवस मनाउँदै आइएको छ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन्।

नयाँ संविधानमार्फत लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासनप्रणाली स्थापित तथा संस्थागत गरिसकेपछि अब लोकतान्त्रिक सोच, संस्कार, व्यवहार र कार्यशैलीमार्फत मुलुकको आर्थिक सामाजिक समृद्धिको यात्रा प्रारम्भ गरी आमजनतालाई राजनीतिक स्वतन्त्रता र अधिकारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसमेत प्रत्याभूत गर्नुपर्ने बेला आएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनले लोकतन्त्रको जगलाई मजबुद र संस्थागत गर्न मद्धत पुर्‍याएको र अब हुन गइरहेको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उनले विश्वास लिएकी छन्।

गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ५ सय १४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गरेकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम दशौं गणतन्त्र दिवस, २०७४ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई मानपदवी प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

त्यस्तै गणतन्त्र दिवसकै अवसर पारेर राष्ट्रपति भण्डारीले असल चालचलन भएका ७ सय ५९ जना कैदीको कैद माफी दिएकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ७५९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

उपराष्ट्रपतिको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको विकल्प नभएको बताएका छन्।

मुलुकमा गणतन्त्रसँगै सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता राजनीतिक उपलब्धी नागरिकले प्राप्त गरेको बताएका छन्। उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्सवको रुपमा सम्पन्न भएसँगै नयाँ संविधानमा संस्थागत राजनीतिक उपलब्धि व्यवहारमा देखिदै गएको बताएका छन्। 'गणतान्त्रिक शासन व्यवस्थामा जनताले आफ्नो शासन आफै गर्ने प्रमाणित गर्ने गरी बनेका स्थानीय तहहरु शक्तिशाली छन्' उपराष्ट्रपतिले सन्देशमा भनेका छन् 'स्थानीय तहको पहिलो चरणको निर्वाचन जस्तै दोस्रो चरणको निर्वाचन पनि उत्सवको रुपमा सम्पन्न गर्न आमनेपालीमा गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास लिएको छु।'

प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुभकामना सन्देश जारी गर्दै गणतन्त्र स्थापनामा योगदान पुर्‍याउने जनयुद्ध, जनआन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्ने सबैलाई श्रद्धाञ्जली दिएका छन्। उनले दोस्रो चरणको स्थानीय चुनावमा पनि पहिलो चरणमा जस्तै उल्लासपूर्ण रुपमा सहभागी हुन आग्रह गरेका छन्।

'स्थानीय तहको निर्वाचनपश्चात् नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकारको अवधारणा संस्थागत हुने निश्चित भएकाले पहिलो चरणको निर्वाचन झैँ दोस्रो चरणको निर्वाचनमा पनि सम्पूर्ण नेपालीहरूको सहयोग र सक्रिय सहभागिताको लागि हार्दिक आह्वान गर्दछु' उनले भने।

संविधानको स्वीकार्यता अझ फराकिलो बनाएर यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु, हिमाल, पहाड र तराइ–मधेसका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा मुलुकलाई सामाजिक–आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता भएको प्रधानमन्त्रीले बताएका छन्।

२०७४ माघ ७ गतेसम्म सम्पन्न हुने सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनपछि संविधानको कार्यान्वयनले पूर्णता पाउने र सङ्क्रमणकालको अन्त्य हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.