|

ओखलढुंगा : जिल्ला वन कार्यालय ओखलढुंगाले जिल्लाका सात वटा सडक निर्माणमा रोक लगाएको छ। कार्यालयले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) नगरी वन क्षेत्र हुँदै निर्माण सुरु गरिएका सडकलाई निर्माणमा रोक लगाएको हो।

निर्माणमा रोक लागेका सडकहरु फूलबारीको सल्लेरी रानीवन सामुदायिक वन, दियालेको देवीथान सामुदायिक वन, कालीकाको मखमली सामुदायिक वन, कुन्तादेवीको सालघारी पैयाँबोट तिलखोरिया सामुदायिक वन, फेदीगुठको जलशीत्तल कालीका सामुदायिक वन र पलापुको बालादेवी सामुदायिक वन रहेको जिल्ला वन कार्यालय ओखलढुंगाले जनाएको छ।

इलाका वन कार्यालयमार्फत वन क्षेत्रमा सडक निर्माण गर्न थालिएको सूचना पाएपछि तत्काल जिल्ला वन कार्यालयले सडक निर्माणमा रोक लगाएको र जिल्ला वन कार्यालयले सडक निर्माण समितिलाई पत्राचार गरेर रोक लगाएको फरेस्टर सुशान्त पोखरेलले बताए। तर जिल्ला वन कार्यालयले सडकको नाम भने खुलाएको छैन।

 ‘वन क्षेत्रको जग्गा अन्य प्रयोजनको लागि उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०६३’ ले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई अन्य विकल्प नभई वन क्षेत्र नै प्रयोग गर्नुपर्ने अवस्थामा वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धित निकायबाट स्वीकृत गराउनुपर्ने कानुनी व्यवस्था गरेको छ।

उक्त प्रक्रिया पूरा नगरी सडक निर्माण सुरु गरिएको भेटिएपछि सडक निर्माणमा रोक लगाएको जिल्ला वन कार्यालयका सूचना अधिकारी वेचन ठाकुरले जानकारी दिए।

‘व्यवस्थापिका–संसद प्राकृतिक स्रोत साधन समिति’ ले २०६८ सालमा ‘वन क्षेत्रमा सडक निर्माण गर्नुपर्ने भएमा सडकको सर्भेअगावै वन तथा भू-संरक्षण मन्त्रालयको परामर्श लिने, जैविक विविधताको संरक्षण र अन्तर्राष्ट्रय अभिसन्धिविपरीत सडक निर्माण गर्न नपाइने’ समेत निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • tej

    कृपया बिकासलाई एक सेकेन्ड पनि नरोक्नुहोस् । प्रक्रियाकोलागि काम बढ्दै जाने क्रममा पूरा गर्दै लैजाँदा भइहाल्छ नि । सबैले मिलेर चाँडो देश विकास गरौं ।