|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगा जिल्लामा निर्वाचनको तयारीस्वरूप नमुना मतदान सम्पन्न गरिएको छ। वैशाख ३१ मा भएको पहिलो चरणको निर्वाचनमा धेरै मतबदर भएको कारण दोस्रो चरणमा  हुने निर्वाचनमा बदर मतको संख्या घटाउन जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो।

जिल्लाको चिशंखुगढी गाउँपालिका २ पोखरेको कालिका आधारभूत विद्यालयमा भएको नमुना मतदान कार्यक्रममा ६२ जनाले मतदान गरेका थिए। नमुना मतदानमा खसेका मतमध्ये ३ वटा पूर्ण र ९ वटा आंशिक रुपमा बदर भएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका निर्वाचन अधिकारी अर्जुन राईले जानकारी दिए।

नमुना मतदानमा ६२ मध्ये ५० मत भने पूर्ण रुपमा सदर भएको जिल्ला निर्वाचन अधिकारी राईले बताए। नमुना मतदान कार्यक्रममा केही मत मात्र बदर हुनु स्वाभाविक नै भएको उनको भनाइ छ। नमुना मतदानमा प्रयोग गरिएको मत पत्रमा  सबै पर्टीको चुनाव चिह्न नभएका कारण पनि मतदाता झुकिएको राईले बताए।

अहिले जिल्लाका विभिन्न स्थानहरुमा मतदाता शिक्षा कार्यक्रम निरन्तर रुपमा भइरहेका छन्।ओखलढुंगा निर्वाचन कार्यालयमा दर्ता भएका १३ वटा दलमध्ये १० वटाले मात्र दलीय हैसियत प्राप्त गरेका छन् भने तीन राजनीतिक दलले स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिनुपर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.