|

  • गोविन्द महतो-

जनकपुरधाम : बिहानको घाम नझुल्किँदै तात्तातो चियाको चुस्की लिनेहरुको भीड थेगी नसक्नु हुन्थ्यो। सधैं एका बिहानैदेखिको भीडले बिहानको ९ बजेसम्म चिया बनाउँदा बनाउँदै थकित हुन्थें। दूध सकिएर चिया पसल नै बन्द गर्नु अवस्थासम्म आउथ्यो।

तर, ती दिन अब कहाँ छन् र? फेरि ती दिन फर्केर कहाँ आउँछ र? यो भनाइ हो चिया पसले उपेन्द्र साहको। उनलाई एकातिर चियाँ, नास्ता खाने ग्राहक घटेर चिन्ता छ भने अर्कोतिर अपार खुसीले गदगद पनि बनाएको छ।उनी खुसीले गदगद हुनुको एउटै कारण छ, खुला दिसामुक्त अभियान!

कुरा हो, धनुषा जिल्लाकै ठाढीझिझा स्थित महिनाथपुर बोर्डरको। जहाँ उपेन्द्र साहको चिया र नास्ता खाने एउटा सानो खरले बनेको झोपडी सहजै भेटिन्छ, जो बोर्डर नजिकै छ।

साहको चिया पसलको झोपडीमा बिहान चियाको चुस्कीसँगै नेपाल भारतको भलाकुसारी, घटनाविचार, हसिठट्टा गर्नेहरु अटाउनै नसक्ने हुन्थ्यो। जसमा अधिकांश खुला क्षेत्रमा दिसा गर्नेहरुको जमात नै हुन्थ्यो। वारि र पारिका अधिकांश मानिसहरु वारिकै कितामा आएर खुल्ला दिसा गर्ने र नजिकै पोखरी, कलमा मंजनकुल्ला गर्दै सो पसलमा पुग्थे।

स्थानीयहरुको कुरा सुन्दा त, त्यहाँ बिहानै पुग्दा खुला क्षेत्रमा दिसा गर्नेहरु बाटोको दुवै छेउ, खेत र चौरमा क्रमबद्ध नै हुन्थे। यतिसम्म कि महिला पुरुषको समेत हेक्का हुदैन्थ्यो। बाटो हिँड्ने बटुवाहरु नाक थुनेरै बाटो काट्नुपर्ने अवस्था हुन्थ्यो।

उपेन्द्र साहको कुरा मान्ने हो भन्ने, अब नाक थुनेर हिँड्नुपर्ने बाध्यता त कता हो कता, चिया पसलमा पनि ग्राहक संख्या ह्वातै घटेको छ। कारण एउटै छ र त्यो हो, खुला दिशामुक्त अभियान! सो कुरालाई उनी सहजै आफैं पनि स्वीकार गर्छन्।

उनी भन्छन्, 'जब खुला दिसामुक्त अभियान तीव्रताका साथ गस्तीसहित सुरु भयो, त्यो दिनदेखि मेरो चिया पसलमा ग्राहक पनि घट्दै गए।' खुला दिसा गर्नेहरुमाथि कडाइ गर्दा उनीहरु यतातिर आउनै छाडेको छ। जसको कारणले बिहानको समयमा मात्र १० लिटर दूध खपत गर्ने उनको चिया पसलमा अचेल २ लिटर पनि सकाउन मुस्किल भएको उनी स्वयम नै बताउँछन्।

उनी भन्छन्, 'बिहानको समयमा मात्र सयजना जति आउथे तर जबदेखि खुला दिसा गर्न यहाँ रोक लगाइयो मुस्किलले १० जनासम्म आउँछन्।' जे होस्, व्यापारको हिसावले क्षति भए पनि उनको अनुहार मल्लिन भएको छैन र उपेन्द्र जी खुसीले गदगद छन्। उनकै शब्द सापटी लिँदा खुला दिसामुक्त अभियान र गस्तीले गर्दा त्यहाँ हिँड्नै नसक्ने बाटोघाटो, चौर र खेत दिशा मुक्त भएर सफा सुन्दर जो भएको छ।

उनले अभियानीहरुको मुक्तकण्ठले प्रशंसा गर्दै भने, ‘यो बाहिर दिसा गर्ने बानीको अन्त्य नभएसम्म निरन्तर जारी राख्नुस् है, हामी पनि साथमा छौं।’ ठाढिझिझा खुल्ला दिसामुक्त घोषणा भएपछि अहिले सफा र सुन्दर श्वास फेर्न पाएको बाटोघाटो पनि सफा भएको भन्दै हसिलो अनुहार देखाउँदै उनले व्यापारमा कमी आएको आभाष पनि हुन दिएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.