'मैले गरेको कामको स्मरण भविष्यमा गर्नुहुनेछ'

|

काठमाडौं : नेपाली सेनाले २०६६ सालमा जिम्मा पाएर २०७० सालमा ट्रयाक खोलेको काठमाडौं तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पनि अन्तत सेनाले नै पायो। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणको शिलन्यास गरेसंगै फाष्ट ट्रायक निर्माण कार्य अघि बढेको छ। 

सेनाले जिम्मा पाएसंगै समयमै काम पुरा होला वा नहोला, गुणस्तर कायम होला वा नहोला धेरैको चासो बनेको छ। समयमै र गुणस्तरीय काम गर्नको लागि नेपाली सेना र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक अर्काप्रति शर्त राखेका छन्। फास्ट ट्र्याक निर्माणको अवधि ४ वर्ष तोकिएको छ।

सेनालाई गुन लगाउन चाहेको छु

प्रचण्डले फाष्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिन पाएकामा खुसी व्यक्त गरेका छन्। उनले सेनाको भूमिका बढाउन आवश्‍यक रहेको र आफू त्यसैमा केन्द्रित भएको बताए। अघिल्लो पटक प्रधान्मन्त्री हुँदा सेनापतिलाई बर्खास्त गर्न खोज्दा विवादमा परेका प्रधानमन्त्री प्रचण्डले आइतबार शिलान्यासपछिको मन्तव्यमा आफूले नेपाली सेनालाई गुन लगाउन चाहेको समेत बताए।

'मैले पहिलेदेखि नै सेनाको भूमिका बढाउन चाहिरहेको थिएँ, सेनालाई गुन लगाउन चाहेको छु, मैले गरेको काम स्मरण भविष्यमा गर्नुहुनेछ' आइतबार फाष्ट ट्रयाकको शिलान्यासको क्रममा प्रचण्डले भने।

उनले फाष्ट ट्रायकको निर्माण गुणस्तरीय र तोकिएकै समयमा काम पूरा नभए सेनाको साख खस्कने बताए। गुणस्तरीय काम समयमै पूरा गरेमा जनताको आँखामा नेपाली सेना रहिरहने प्रचण्डको भनाइ छ। 'फाष्ट ट्र्याक नेपाली सेनाले पाउनु ठूलो गौरवको कुरा हो, तर यो ठूलो चूनौतीको विषय पनि हो, तपाईंहरुले समयमै गुणस्तरीय कायम गर्नुभयो भने जनताको आँखामा नेपाली सेनाको साख बढ्ने छ, यदि भएन भने यस अघि के के काम गर्‍यो भन्दा पनि यो काम गर्न नसक्दा साख खस्कने छ' प्रचण्डले भने।

उनले समयमै गुणस्तरीय काम गर्न सकेको खण्डमा सरकाले विशेष रुपमा नेपाली सेनालाई सम्मान गर्ने बताए। 'तपाइहरुले समयमै गुणस्तरीय काम गर्नुभयो भने सरकारले विशेष रुपमा नेपाली सेनालाई सम्मान गर्नेछ' प्रधानमन्त्री प्रचण्डले भने।

निर्माणमा अवरोध र बजेटमा समस्या नपार्न सेनाको आग्रह

नेपाली सेनाका अधिकारीहरुले सेनाले जिम्मा लिएको काममा समय र गुणस्तरमा सम्झौता नहुने बताए। 'यसअघि पनि नेपाली सेनाले पाएको काम तोकिएको समयमा पूरा गरेको छ, कतिपय आयोजना त तोकिएकै समयमा पूरा गरेको छ, गुणस्तरमा हामीले सम्झौता गरेका छैनौं, फाष्ट ट्र्याक पनि तोकिएकै समयमा पूरा हुनेछ भन्ने विषयमा दृढ विश्‍वास दिलाउन चाहन्छु' प्रधान सेनापति राजेन्द्र क्षेत्रीले भने।

नेपाली सेनाको फास्ट ट्र्याक आयोजना कार्यान्वयन निर्देशनालयका संयोजक पूर्णचन्द्र थापाले संयोजक निर्माणको क्रममा क्रममा दबाब नचाहेको बताए। उनले भने 'हामीले तोकिएकै समयमा काम पूरा गर्नेछौं तर, हामीलाई निर्माणको क्रममा दबाब भन्दा पनि सहयोगी हात चाहिन्छ।'

उनले बजेट निकासामा ढिलाइ गर्न वा बाहना नखोज्न समेत सरकारलाई आग्रह गरेका छन्। 'निर्माणको क्रममा आवश्‍यक बजेट समयमै चाहिनेछ,  यसो नभएमा ढिलाई हुनेछ र समयमै काम गर्न सकिने छैन' थापाले भने। उनले पारदर्शिता र इमान्दारितामा कुनै शंका गर्नु नपर्ने समेत बताए।

यसरी बनाइने छ फाष्ट ट्र्याक

फाष्ट ट्र्याकको शिलन्याससंगै निर्माणको सुरुवात पनि भएको छ। तर अहिले पनि नेपाली सेनासंग आयोजना निर्माणको विस्तृत परियोजना प्रतिवेदन छैन। यो प्राप्त गर्न नेपाली सेनालाई केही समय लाग्नेछ। आयोजना प्रमुख तथा प्राविधिक उपरथी योगेन्द्र खाँडले फास्ट ट्र्याकको डीपीआर आफूसँग सेनालाई काम अघि बढाउन समस्या परेको बताए। 'हामीसंग डिपीआर छैन यसको प्राप्ति पछि काम गर्न केही सहज हुनेछ' खाँडले भने। फास्ट ट्र्याकको विस्तृत परियोजना प्रतिवेदन भारतीय कम्पनी इन्फास्ट्रकचर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज (आइएल एन्ड एफएस) ले तयार पारेको हो।

त्यस्तै फास्ट ट्र्याक निर्माणका लागि उच्चस्तरको जनशक्ति पनि आवश्यक पर्ने भएकाले सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्नुपर्नेछ। यस विषयमा आन्तरिक तयारी गरिरहेको खाँड बताउँछन्।

चार वर्षभित्र पूरा गर्नुपर्ने आयोजनाको रुपमा अघि सारेको कामलाई नेपाली सेनाले एकै साथ १० स्थानबाट सुरु गर्नेछ। सेनाले गठन गरेको फास्ट ट्र्याक निर्माण आयोजना कार्यान्वयन निर्देशनालय समिति र निर्माण कार्यदलले योजना बनाई विभिन्न १० स्थानबाट एकै साथ काम गर्ने तयारी गरेको छ।

'शिलान्याससंगै हामीले प्रारम्भिक चरणको काम सुरु गर्ने छौं, फाष्ट ट्रयाकलाई १० सेक्टरमा विभाजन गरेर काम थाल्ने योजना रहेको छ' आयोजना प्रमुख खाँडले भने। यसका लागि फास्ट ट्र्याकको रुटका विभिन्न स्थानमा निर्माण कार्यदललाई क्याम्पका रुपमा खडा गरिने उनले बताए। कार्यदलमार्फत ट्र्याक तथा सडक विस्तार, टेवा पर्खाल, सुरुङ मार्ग, पुललगायत निर्माणलाई छुट्टा/छुट्टै रुपमा कार्य विभाजन गरेर काम सुरु गर्ने खाँडले बताए।

यस्तो बन्नेछ फाष्ट ट्रायक

७६ किलोमिटर लामो काठमाडौं तराई फास्ट ट्र्याक ललितपुरको खोकनाबाट सुरु भएर काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली, गढी, छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएर निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिनेछ। यो सडक सञ्चालन भएमा काठमाडौंदेखि निजगढसम्म ५९ मिनेटमा पुग्न सकिन्छ। 

४ लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक निर्माण हुने सेनाले जनाएको छ। यो द्रुतमार्गको चौडाई पहाडी क्षेत्रमा २३ मिटर, तराईको समथर क्षेत्रमा २५ मिटर रहनेछ। फास्ट ट्रयाकमा उच्च प्रविधिका सहित ९९ सय वटा पुल हुने आयोजना प्रमुखु खाँडले जानकारी दिए। फास्ट ट्र्याकमा डेढ किलोमिटर २ मुखे सुरुङ पनि निर्माण हुनेछ। 

द्रुतमार्गमा ६ वटा प्रवेश मार्गहरु रहनेछन् भने ६ वटा आकाशे पुल हुनेछ। ६१ किलोमिटर क्षेत्रमा टेवा पर्खाल र ६२ किलोमिटरमा कटिङ क्षेत्र पर्खाल हुनेछ। त्यस्तै गरी यो द्रुतमार्गमा २ वटा राजस्व दस्तुर केन्द्र रहनेछन्। सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्ता केन्द्र राखिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.