|

चितवन : गणतन्त्र दिवसको अवसरमा चितवनको भरतपुर कारागारबाट सोमबार १९ जना कैदी रिहा भएका छन्। जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेका अनुसार विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १९ जनालाई सोमबार रिहा गरिएको हो।

यसरी रिहा हुनेमा सवारी ज्यान मुद्दाका १०, कर्तव्य ज्यान मुद्दाका ६, ज्यान मार्ने उद्योगका २ र काठ मुद्दाका १ गरी १९ जनालाई रिहा गरिएको हो। सरकारी निर्णयअनुसार असल आचरण भएका र ४० प्रतिशत कैद भुक्तान गरेकालाई यसरी रिहा गरिएको जेलर काफ्लेले जानकारी दिए। १९ जनामा एकजना वृद्धसमेत छन्।

आज रिहा हुनेहरुमा सवारी ज्यान मुद्दाअन्तरगत इन्द्र रिजाल, अरुण पट्टेल, मनोज शाही, दिलबहादुर भुजेल, द्रोणबाबु थपलिया, मोहम्मद मिया, शरण मगर, पूर्ण श्रेष्ठ, आनन्द कार्की र देशबन्धु थापा रहेका छन्।

यस्तै, कर्तव्य ज्यान अन्तरग रिमबहादुर राई, खिमनाथ सेढाई, पदमप्रसाद बास्तोला, राजकुमार थिंङ, शर्मिला तामाङ र यमबहादुर गुरुङ पनि आजै रिहा भएका छन्। आज रिहा हुने अन्य कैदीहरुमा काठ मुद्दाका ७० वर्षीय केशवराज सुवेदी तथा ज्यान मार्ने उद्योगका गणेश तामाङ र आइतबहादुर बमजन रहेको भरतपुर कारागार चितवनले जनाएको छ।

उनीहरुमध्ये एकजना वृद्धको ७५ प्रतिशत कैद मिनाहा गरिएको र अरुको हकमा भने ६० प्रतिशत मिनाहा भएको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.