|

दमक : पछिल्लो समय आफ्नो जन्मदिन फरक तरिकाले मनाउनेको संख्या बढ्दै गएको छ। जन्मदिनका अवसरमा हुने फजुल खर्चलाई कम गर्दै जन्मदिन मनाउनेको संख्या बढ्दै गएको हो। त्यसमा पनि पछिल्लो समय जन्मदिनका दिन असाह्य तथा विभिन्न संघसंस्थालाई सहयोग गरेर जन्मदिन मनाउनेको संख्या ह्वातै बढेको छ।

झापाको दमकमा रहेका विभिन्न सामाजिक व्यक्तित्वहरुले आफ्नो जन्म दिनमा नजिकै रहेको मोरङको उर्लाबारीको नमुना बाल गृहलाई सहयोग गर्दै त्यहाँका बालबच्चासँग आफ्नो जन्मदिन मनाउनेको संख्या बढेको छ। सोही क्रममा जन्म दिनको अवसर पारेर आज झापा, दमक-९ की दुर्गादेवी काफ्लेले उर्लाबारीको नमुना बाल गृहलाई ३० हजार मूल्य बराबरको सहयोग गरेकी छन्।

काफ्लेले बाल गृहमा पुगेर बाल गृहकी अध्यक्ष मीना बराललाई लत्ताकपडासहित खाद्य सामाग्री हस्तान्तरण गरिन्। दमकको पाणिनी माध्यमिक विद्यालयकी  शिक्षिका समेत रहेकी काफ्लेले आफनो ४१ औँ जन्मदिन मनाउन उक्त सहयोग गरेकी हुन्।

उनले बालगृहलाई तन्ना, चिनी, मिठाई, मैदा लगायतका खाद्य सामग्रीहरु हस्तान्तरण गरिन्। सहयोग हस्तान्तरण गर्दै उनले भनिन्, ‘मीनाजीले गर्नुभएको यो काम सराहनीय छ, जो कोहीले यस्तो काम नै गर्न सक्दैन, हामी सबैले यसरी सहयोग गर्न जरुरी पनि छ, हामीले जन्मदिन मनाउने बाहानामा धेरै खर्च गर्छौं तर यसरी सहयोग गर्यौं भने कसैको छाक त टर्छ।’

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बालगृहकी अध्यक्ष मीना बरालले यस्तो सहयोगले आफूहरुलाई धेरै मद्धत पुगेको बताइन्। उनले भनिन्, ‘हामीले यो कुनै एनजिओबाट चलाएका होइनौं  मैले सानोमा भोगेको पीडा सम्झेर अनाथ बालबालिकालाई राख्नका लागि सञ्चालन गरेको हुँ, हामीलाई यहाँ ब्यवस्थापन गर्न धेरै गाह्रो छ, यस्ता सहयोगले हामीलाई धेरै सहज हुन्छ।’ बालगृहमा अहिले ४५ जना अनाथ बालबालिका आश्रित रहेको उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.