|

लहान  : राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय निर्वाचनमा भाग नलिने भन्दै आन्दोलन गरिरहेका बेला सप्तरीका ठूला दलहरुमा भने चुनावी चहलपहल बढ्दो क्रममा छ।

सप्तरीमा दलहरु अहिले उम्मेदवार छनोटका लागि आन्तरिक तयारीमा जुटेका छन्। उम्मेदवारका आकाङ्क्षीहरुको पनि टिकटका लागि दौडधूप बढेको छ। नेकपा एमाले उम्मेदवारी छनोटमा अग्रपंतिमा देखिएको छ। जिल्लाका ९ नगरपालिका र ८ गाउँपालिकामध्ये अधिकांशमा उमेदवारको टुङ्गोसमेत लगाइसकेको जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए।

एमालेले प्रमुखको टुंगो लगायो

जिल्ला अध्यक्ष न्यौपानेका अनुसार प्रमुखका लागि कञ्चनपुरमा वसन्तकुमार मिश्र, सप्तकोसीमा उत्तमकुमार गौतम, सुरुङ्गामा रामनारायण चौधरी, शम्भुनाथमा जितेन्द्र प्रसाद गुप्ता, बोदेवरसाइमा कमाल अहमद र हनुमाननगर–कंकालिनी नगरपालिकामा शोभितलाल यादवलाई उम्मेदवार बनाइँने एमालेले जनाएको छ।

त्यस्तै, डाकनेश्वरीमा अब्दुल मजिद साकिर, कर्ण देव र शोभाकान्त रायमध्ये एकजनालाई प्रमुखको उम्मेदवार बनाइने अध्यक्ष न्यौपानेले बताए। खडक नगरपालिकाममा भने बृजनारायण साहको नाम प्रमुखका लागि तय गरिएको उनको भनाइ छ। राजविराज नगरपालिकाको प्रमुखका लागि छलफल जारी रहेको भए पनि अहिलेसम्मम कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन।

गाउँपालिकामा पक्कडको उम्मेदवार छानिँदै

गाउँपालिकातर्फ रुपनीका लागि रामभजन यादव र असर्फी यादवमध्ये एक, कृष्णसवरण गाउँपालिकाका लागि मोतीलाल चौधरी र बद्रीनारायण चौधरीमध्ये एक, तिरहुत गाउँपालिकामा दीपेन्द्रकुमार लगरवार, महदेवा गाउँपालिकामा राजाराम यादव, विष्णुपुर गाउँपालिकामा अशोक यादवको नाम अध्यक्षका लागि तय गरिएको छ। तिलाठी कोईलाडी गाउँपालिकाको उम्मेदवार भने अहिलेसम्म टुङ्गो लागि सकेको छैन।

कांग्रेस छलफलमै

उता, नेपाली कांग्रेसले समेत उम्मेदवारका लागि सक्रियता बढाएको छ। गाउँ र नगरपालिकाबाट अध्यक्ष–उपाध्यक्ष तथा प्रमुख–उपप्रमुखका लागि सिफारिस आउने क्रम जारी रहेको जानकारी दिँदै जिल्ला पार्टी सभापति दिनेशकुमार यादवले बढीमा तीनदिनभित्र टुङ्गो लाग्ने बताए।

‘सकेसम्म स्थानीय तहबाटै नाम स्वीकृत भएर आओस् भन्नेमा छौं’ उनले भने ‘यदि त्यसरी भएन भने मात्र जिल्ला र केन्द्रले टुङ्गो लगाउने छ।’

फोरमले पनि उम्मेदवार छान्दै

संघीय समाजवादी फोरम नेपालले पनि निर्वाचनमा उम्मेदवार छनोट कार्यलाई तीव्रता दिएको छ। फोरमका जिल्ला अध्यक्ष दिनेश यादवका अनुसार दुई दिनभित्रै उम्मेदवारहरुको टुङ्गो लाग्दै छ। नेकपा माओवादी केन्द्रले समेत स्थानीय तहमै उम्मेदवार छनोटका लागि छलफललाई तीव्र बनाएको सप्तरी इञ्चार्ज असर्फी सदाले बताएका छन्।

निर्वाचन कार्यालय आफ्नै तयारीमा

निर्वाचन कार्यालयले पनि निर्वाचनका लागि जिल्लाका ४ सय ६१ मतदान केन्द्रमा एक/एक जना स्वयंसेवक खटाइ मतदाता शिक्षालाई तीव्र बनाएको छ। प्रथम चरणमा निर्वाचन भएका कतिपय ठाउँमा बढी मतपत्र बदर भएको सार्वजनिक भएपछि मतदाता शिक्षालाई प्रभावकारी बनाउन लागिएको निर्वाचन कार्यालय

प्रमुख महेश ठाकुरले जानकारी दिए। निर्वाचनका लागि जेष्ठ ६ गतेदेखि प्रमुख निर्वाचन अधिकृतको कार्यालयसमेत सञ्चालनमा आइसकेको छ। अन्य १७ वटै स्थानीय तहमा सोमबारदेखि निर्वाचन कार्यालय स्थापना भएको बताए।

आन्दोलनमा राजपा

अर्कोतर्फ आन्दोलनरत राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका जिल्ला संयोजक सुनिलकुमार झाले सरकारले आफूहरुको माग पूरा नगरी निर्वाचनमा जानुको औचित्य नभएको बताए। पार्टीले निर्वाचनको विरोधमा मसाल जुलुस, लाठी जुलुस, निर्वाचन कार्यालयमा तालाबन्दीलगायत मधेस–थरुहट बन्द समेतको घोषणा गरेको छ। स्थानीय तहको पुनःसंरचना अन्तर्गत सप्तरीमा ८ नगरपालिकासहित १७ स्थानीय तह रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.