|

लहान : सिरहाको मिर्चैया नगरपालिका १ महदेवामा सोमबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने बसमा यात्रा गरिरहेका २३ जना घाइते भएका छन्। विराटनगरबाट काठमाडौं जाँदै गरेको ना. ४ ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ग. १ ख ५०६७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ग. १ ख ५०६७ नम्बरको बसका कन्डक्टर उदयपुरको कटारी नगरपालिका ३ का ३६ वर्षीय निलकमल श्रेष्ठको उपचारका लागि बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यम अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा सोही बसमा यात्रा गरिरहेका सिन्धुलीको दुधौली नगरपालिका ७ का चन्द्र बहादुर बुढाथोकी र उदयपुर कटारी नगरपालिका ४ बस्ने मिलन थापा लगायत २३ जना घाइते भएका छन्। उनीहरु सबैको मिर्चैयामा उपचार भईरहेको छ। घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.