|

चितवन : भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर मतगणना नै रोकिएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुन मतदानको माग गरेका छन् भने नेकपा एमालेले मतगणना अघि बढाउन माग गरेको छ। सोमबार राति मतगणना भइरहेका बेला दलकै कार्यकर्ताहरुले मतपत्र च्यातेपछि रोकिएको मतगणनाको विषयमा दुई पक्षले फरक फरक माग राखेका हुन्।

नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसले मतपत्र च्यातिएर मतगणना स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ। कांग्रेसले जिल्ला समितिको बैठकपछि सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदानको माग गरेको हो। पटक पटक मतगणना व्यवस्थित गर्न माग गर्दा व्यवस्थित नगरिएकाले उक्त घटना भएको कांग्रेसको निष्कर्ष छ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘वडा नम्बर १८ को मतपरिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानियतह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदान सुचारु गर्न समेत जोडदार माग गर्दर्छौं।’ 

माओवादी केन्द्रले पनि सोमबार दिउँसो एक विज्ञप्ति जारी गरी उक्त घटनामा नेकपा एमाले दोषी रहेको भन्दै घटनाको बास्तविकतालाई बङग्याएर सामाजिक सञ्जाल र सञ्चार माध्यामबाट माओवादी केन्द्र विरुद्ध प्रचार गरिएको भन्दै भर्त्सना गरेको छ।

जिल्ला ईन्चार्ज ईश्वरी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा, मतगणनाको अन्तिम समयमा आएर निर्वाचनलाई प्रभाव पार्ने नियतले नेकपा एमालेले गरेको हर्कतले लोकतन्त्रमाथि उसको प्रतिबद्धताप्रति नै प्रश्न चिन्ह उठाएको उल्लेख गरिएको छ।

एमालेले शुरु देखिनै मत परिणामलाई प्रभाव पार्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारको पास प्रयोग गरी अनाधिकृत मान्छेहरुको प्रवेश गराएको माओवादीको आरोप छ। 'मतगणना चलिरहँदा हाम्रो उम्मेदवार जिततर्फ अघि बढीरहेका बेला एक्कासी एमालेका मतगणना प्रतिनिधिहरु कृष्ण न्यौपाने, गणेश लामा, अश्विन घिमिरे र प्रकाश ढुंगानाले  मतपत्र कब्जागरी च्यात्न लागेपछि आफ्ना प्रतिनिधि द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेले मतपत्रको रक्षागर्ने क्रममा केही मतपत्र च्यातिन पुगे’, जारी विज्ञप्तिमा भनिएको छ।

एमालेको माग पुन मतगणना

नेकपा एमालेले भने रोकिएको मतगणना तत्काल थाल्न माग गरेको छ। आइतबार राति मतगणनास्थलमा उत्पन्न तनावपछि रोकिएको मतगणना सुरु गर्न एमालेले माग गरेको हो। नेकपा एमाले चितवनले सोमबार बिहान पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका उम्मेदवार हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप लगाएको छ।

'घटनाका दोषीलाई कानुनी कारबाही गर्न र मतगणना कार्य तत्काल सुचारु गर्न' एमालेको माग छ। आइतबार राति मतगणनास्थलमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चितकालसम्म स्थगित भएको हो। भरतपुर- १९ को मतगणना जारी रहँदा मध्यरातमा उत्पन्न तनावका क्रममा मतपत्र च्यातिएपछि मतगणना रोकिएको हो।

च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्रहरु गणना गर्न माग गरे पनि सुनुवाई नगरिएको एमालेको आरोप छ। 'च्यातिएको मतपत्र र घटनाको बारेमा सत्य तथ्य जानकारी मिडियामार्फत सार्वजनिक गर्न र च्यातिएका मतपत्रहरु अलग राखी बाँकी मतपत्रहरु तत्काल गणना गर्नुपर्दछ भन्ने निर्वाचन अधिकृत समक्ष माग राखेका थियौँ तर निर्वाचन अधिकृतले हाम्रा मागलाई कुनै सुनुवाई नगरी मतगणना कार्य स्थगित गरिएको छ', विज्ञप्तिमा उल्लेख छ।

नेकपा एमाले चितवनले सोमबार बिहान पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका उम्मेदवार हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप लगाएको छ। 'माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालको पराजय हुने र नेकपा एमालेका देवी ज्ञवालीको विजय सुनिश्चित हुने भएपछि भरतपुर महानगरपालिका वडा नम्बर १९ को शान्तिपूर्ण ढंगले मतगणना भई करिव २४०० मतगणना सम्पन्न हुने अवस्थामा निर्वाचन कार्यालयका मतगणकहरुले मतगणना गर्दागर्दै माओवादी केन्द्रका नेतृत्वको निर्देशमा उक्त पार्टीका द्रोण सिवाकोटी, मधु न्यौपाने लगायतका मतगणना प्रतिनिधिहरु कर्मचारीहरुमात्र प्रवेश गर्न पाउने मतगणनास्थलमा अकस्मात छापामार शैलीमा प्रवेश गरी कर्मचारीको हातमा रहेको र भुईँमा थुपारिएको मतपत्र आफ्नो हातमा लिई च्यातेका थिए', एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निर्वाचन आयोगमा घटनाबारे जानकारी दिएको र आयोगको निर्देशन अनुशार अघि बढ्ने बताएका छन्। अहिले मतगणनास्थल शिल गरिएको छ भने प्रहरीको कडा सुरक्षा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.