|

चितवनः आइतबार करिव रातको साढे ११ बजे हुँदो हो। भरतपुर महानगरको वडा नम्बर १९ को मतगणना स्थल कभर्ड हलबाट एक हजार ८०९ मत गनेर परिणाम भर्खरै सार्वजनिक भएको थियो। अचानक घटनाले अर्कै मोड लिइदियो, जुन सामान्यबाट विशिष्ट र जटिल परिस्थितिमा अनुवाद हुँदै थियो। 

महानगर प्रमुखमा एमालेका उम्मेदवार देवी ज्ञवाली र कांग्रेस तथा माओवादी केन्द्रको संयुक्त प्यानलकी उम्मेदवार रेणु दाहालको मतान्तर ७३३ थियो। मत रेणुले घटाउँदै गएकाले निर्वाचन परिणाम चाखलाग्दो बन्दै थियो। फेसबुकमा आआफ्ना समर्थकको जीत हुने दाबीसहितका प्रचारहरू व्यक्त भइरहेका थिए।

दुई हजार ४०० मत गणनाको परिणाम आउन करिव एक घण्टा लाग्ने थियो। त्यसैले पत्रकारहरू निर्वाचन आयोगले बनाइदिएको टेन्टमा सुस्ताउँदै थिए।

उसो त मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने सूचनामैत्री थिएनन्। विभिन्न समस्याका बीच मत गणनाको क्रम चल्दै थियो। मुख्य निर्वाचन अधिकृत न्यौपानेको कांग्रेस–माओवादी गठबन्धनसँग सामान्य विवाद हुँदै आएको थियो।

राजनीतिक दलबीच विभिन्न १० बुँदे सहमति गरेपछि भने व्यवस्थित हुँदै आएको थियो। सूचना सहज हुँदै थियो। सहजताकै कारण यति ठूलो दुर्घटना होला भनेर कसैले सोचेकै थिएनन्। तर नसोचेको घटना हुनपुग्यो अकस्मात। मत गणनास्थलमा सुरक्षार्थ खटिएका प्रहरीसमेत संभावित घटनाको आँकलन गरेर आवश्यक तयारीमा थिएनन्।

मत गणनाको अन्तिम दिन ठानिएको रात जेठ १४ गते आइतबार। भोलिपल्ट गणतन्त्र दिवस। दिवसको शुभबिहानीमै भरतपुर महानगरले नयाँ प्रमुख पाउने चर्चा थियो। कतिले सामाजिक सञ्जालमै हालेका पनि थिए। मत परिणाको मतान्तर साँघुरिँदै गएकाले पनि चासो र चर्चा देश विदेशमा निकै थियो।

विदेशमा बस्ने नेपालीहरू रातको समयमा फुर्सदिला हुने भएकाले सामाजिक सञ्जालमा बढी चासो दिएर जानकारी लिइरहेका थिए। जानकारी दिनका लागि रातभर जसै बस्ने तयारीमा केही पत्रकार थिए। त्यसैले सो घटनामा जिल्लाका अधिकांश पत्रकारले राती नै सूचना प्रसारण गर्न भ्याए। घटना हुनेवित्तिकै फेसबुकमा हालेपछि अन्य पत्रकारहरू पनि आए।

नयाँ प्रमुखको घोषणाको सूचनाको भोक जगाउँदै रातभर जाग्रम बसेका पत्रकारहरूले घोषणाको समाचार त लेख्न पाएनन् नै, त्यसअगावै ‘एक्सक्लुसिभ’ सूचना आइलाग्यो– मतपत्र च्यातियो। 

यसरी सुरु भएको थियो घटना 

सधैँ शान्त रूपमा मत गणना हुन्थ्यो भरतपुरमा। भित्र के गरिँदै छ भनेर जान्नका लागि च्यानलगेटमै पुग्नुपथ्र्याे। आइतबार राती ११ बजेर ४५ मिनेटमा एक्कासि ठूलो आवाज सुनियो गेटबाहिर। खोरबाट जसरी कुखुरा एकैचोटि सोहोरिएर तर्सिन्छन्, त्यसरी नै त्यसपछि सबै जर्‍याकजुरुक उठे। बाहिर बसेकाहरूको ध्यान त्यतै केन्द्रित भयो।

भित्र मत गणनास्थलको छेउमा झुरूप्प मान्छे थिए। भनाभन भइरहेको थियो। चर्को आवाज झनै चर्किंदै थियो। जात्राझैँ देखिन्थ्यो मत गणनास्थल। केही व्यक्तिले हातपात पनि गरिरहेका दृश्य देखिन्थ्यो, जसलाई पछि प्रहरीले पक्राउ गरेको थियो।

प्रहरी प्रमुख दीपक थापा मतपत्रको सुरक्षामा खटिएका थिए। प्रहरीलाई निर्देशन दिँदै थिए उनी। एकैछिनमा द्रोण शिवाकोटी र मधु न्यौपानेलाई प्रहरीले पक्राउ गरेर बाहिर ल्याउँदै थियो। मधु खुट्टा खोच्याउँदै बाहिर आइरहेका थिए।

गेटमा एमालेका कार्यकर्ताहरू आक्रामक रूपमा झुम्मिएका थिए। पक्राउ परेकालाई आक्रमणको प्रयाससमेत गरेको देखिन्थ्यो। हानाहानका आवाज आइरहेको थियो। तर म्यादी प्रहरीको बाक्लो उपस्थितिले उनीहरूको प्रयास सफल भएको थिएन। एमालेका कार्यकर्ताहरू बाहिर बाक्लै भएकाले बाहिर पनि प्रदर्शन बढ्न थालेको थियो। 

बाहिर र भित्रका मानिस आक्रामक हुन थालेपछि प्रहरी प्रमुख थापा पनि आक्रामक भए। ‘ठोक, गोली ठोक’ भनेर उनले पाँच÷सात पटक दोहो¥याए। त्यही क्रममा हुल्दंगामा संलग्न गंगा लामालाई प्रहरीले पक्राउ गर्‍यो। लामा एमाले कार्यकर्ता भएको बताइयो। 

हुल्दंगा गर्नेलाई नछोड भनेर म्यादी प्रहरी र सशस्त्र तथा जनपद प्रहरीलाई निर्देशन दिए थापाले। ‘२०० सय प्रहरी मगा’ भनेर वाकीटकीबाट निर्देशन पनि दिँदै थिए उनी।

एकैछिनमा दुई गाडी सशस्त्र प्रहरी आएर मत गणनास्थलको सुरक्षा दियो। विशेषगरी सशस्त्र प्रहरीले भित्र मतपत्र भएको स्थानलाई घेरा हालेर बसे।

त्यसपछि भित्रको माहोल अर्काे कुनामा सोहोरियो। भनाभन रोकिएन। बेलाबेलामा साँझमा चरा बास बस्ने बेलाको जस्तो गुनगुनमा भनाभन आउँथ्यो भने बेलाबेलामा शान्त हुन्थ्यो। यस्तैमा रुमल्लिइरह्यो दुई घण्टाजति।

मुख्य निर्वाचन अधिकृतले यसो भने 

आइतबार राती गणना भइरहेको मतपत्र च्यातिएपछि सो विषयमा तत्कालै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले घटनाबारे जानकारी गराए। तर उनले कसले च्यातेको भनेर खुलाएनन्। उनी आफू बचेर प्रस्तुत भए। 

उनले भने, ‘म शौचालय जान लागेको थिएँ, होहल्ला सुनेपछि फर्किंदा गणनास्थल रणभूमिमा परिणत भएको थियो।’ के कति मतपत्र च्यातिए भन्ने यकिन नभएको न्यौपानेले बताए। ‘जे जति च्यातिएका छन्, सबैलाई सिल गरेर राखेका छौँ, घटनाको प्रतिवेदन आयोगलाई बुझाउँछु’, उनले भने,  ‘आयोगको निर्देशनअनुसार अगाडि बढ्छु।’ 

मतपत्र च्यातिए पनि कसले च्यातेको हो भन्ने विषयमा मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी नभएको बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरेको घोषणा ग¥यो। मत गणनास्थल भरतपुरको कभर्ड हलको गेटमा निर्वाचन आयोगले ताला लगाएर सिल गरेको छ। एमालेले पनि ताला लगाएको छ।

प्रहरी प्रमुख थापा यसो भन्छन् 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापा घटनाका प्रत्यक्षदर्शी हुन्। मतपत्र च्यातेको आरोपमा माओवादीका दुई जना कार्यकर्तालाई तत्कालै उनले पक्राउ गरे।

पक्राउ पर्नेमा माओवादी केन्द्रका मधु न्यौपाने र द्रोणबाबु शिवाकोटी छन्। घटनामा उनीहरू संलग्न रहेको दावी थापाको छ।

उनले छ ठाउँमध्ये अन्य दुई ठाउँमा मत गणनाको विषयमा सामान्य विवाद हुँदै थियो। त्यो विवाद मिलाउन सबै एकत्रित भएका थिए। 

त्यही बेलामा यता मतपत्र च्यातिएको उनले दाबी गरे। गनेर राखिसकेको रोलसमेत च्यातिएको उनको दाबी छ। 

मत गणनास्थल वरपर निषेधित क्षेत्र कायम गरेर नारा जुलुस गर्न नपाउने व्यवस्था गरिएको थापाले बताए। उनका अनुसार केही गनिसकिएका मतपत्र च्यातिएका छन् भने केही गन्दै गरेका मतपत्र च्यातिएको छ। 

च्यातिएका मतपत्र मुचुल्का गरेर सुरक्षित

भरतपुर महानगरपालिकाका २९ वडामध्ये २७ वटा वडाको मतगणना सम्पन्न भएको छ। वडा नं. १९ को मतगणना हुँदै थियो, २० को बाँकी नै छ।

घटनास्थलमै रहेका नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकामा प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले घटनालगत्तै पत्रकारहरूलाई प्रतिक्रिया दिँदै निर्वाचनमा हार्ने अवस्था आएपछि माओवादी केन्द्रको जिल्ला नेतृत्वले योजनावद्ध रूपमा मतपत्र च्यातेको आरोप लगाए। 

उनले लोकतान्त्रिक व्यवस्थामा जनताको मतको सम्मान गर्न नसकेको आरोप पनि लगाए। माओवादी केन्द्र र कांग्रेसका प्रतिनिधिहरूले भने कुनै प्रतिक्रिया दिएनन्। यसै कारण एमाले र मुख्य निर्वाचन अधिकृतको भनाइकै आधारमा समाचाहरू बाहिर आए।

१९ नम्बर वडाको मत गणना सुरु भएपछि माओवादीकी रेणु दाहालको मतान्तर घट्दै थियो तर ढिलो गतिमा। एक हजार ८०० मत गन्दा ५१ मत मात्रै कम भएको थियो दाहालको।  वडा नं. १९ मा कुल दुई हजार ८८७ मत खसेको थियो। 

त्यसमध्ये एक् हजार ८०० मत गणना भएर दुई हजार ४०० मतको परिणाम आउने अवस्था थियो। छ ठाउँमा मत गणना हुँदै थियो। 

भरतपुर महानगरपालिकाको प्रमुख पदमा निकै कडा प्रतिस्पर्धा देखिएको थियो। मतपत्र च्यातिँदासम्म एमालेका ज्ञवाली ४१ हजार ६४१ मतसहित अगाडि थिए। माओवादीकी रेणुको ४० हजार ९०८ मत पुगेको थियो। 

अहिले उक्त घटनापछि एमालेले पुनः मतगणनाको माग गरेको छ भने कांग्रेस–माओवादीले पुनः मतदानको माग गरेका छन्। 

एमालेले माओवादीका कार्यकर्ताले मतपत्र च्यातेको दाबी गरेको भने माओवादी केन्द्रले एमालेले मतपत्र कब्जा गर्न खोज्दा मतपत्रको रक्षा गर्ने क्रममा च्यातिन पुगेको दाबी गरेको छ। सो विषयमा निर्वाचन आयोगले छानविन समिति गठनसमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • जे भयो राम्रो भयेन ! अब जे हुन्छ राम्रो हुदैन...फोहोरी खेलमा को जनमतको कदर हुँदैन ...

  • भरतपुरमा हिजो भएको घटनालाई छिटोभन्दा छिटो निर्वाचन आचार सङ्हिता पालना हुने गरि छानबिन आयोग बनाएर पुनः मतगणना सुरु गरियोस। र गल्ती गर्नेलाइ कानुनको दायरामा ल्याइ कार्वाही गर्नु पार्‍यो होइन भने जस्ले जे गरेनी हुने हो भने हामी जनताको मताधिकार माथी हनन भएको छ।कृपया छिटो भन्दा छिटो समाधान को प्रक्रिया अघि बढीयोस धन्यवाद !