|

डडेलधुरा: गणतन्त्र दिवसको अवसर पारेर जिल्ला कारागार डडेलधुराबाट पाँच जना कैदीलाई रिहा गरिएको छ।

गृहमन्त्रालयको जेठ १४ गतेको निर्णयअनुसार कैद भोगिरहेका पाँच जनालाई सोमबार परेको १०औँ गणतन्त्र दिवसको अवसर पारेर रिहा गरिएको हो।

जिल्ला कारागार डडेलधुराबाट दुई जना बहुविवाह मुद्दाका, दुई जना डाँकाचोरी मुद्दाका र एक जना ज्यान मार्ने उद्योग मुद्दाका कैदीलाई रिहा गरिएको जिल्ला कारागार डडेलधुराले जनाएको छ।

बहुविवाह मुद्दामा कैद भोगिरहेका सन्तोष सुनार र प्रेमबहादुर छन्त्याल रिहा हुने भएका छन्। उनीहरूले कैद सजायको ४० प्रतिशत कैद जीवन बिताएको र बाँकी ६० प्रतिशन कैद गणतन्त्र दिवसको अवसरमा मिनाह गरिएको जिल्ला कारागार डडेलधुराका जेलर शिवराज भट्टले जानकारी दिएका छन्।

यस्तै डाँकाचोरी मुद्दामा जेल चलान भएका जोगी टमटा र जगदीश केसीलाई पनि रिहा गरिएको छ। टमटा र केसीले तोकिएको कैद सजायको ४२ प्रतिशत कैद जीवन बिताएको र बाँकी ५८ प्रतिशत कैद मिनाह गरिएको जिल्ला कारागार डडेलधुराका जेलर भट्टले बताएका छन्।

यस्तै ज्यान मार्ने उद्योगमा जेल जीवन बिताइरहेका चूडामणि पनेरु पनि कैदमुक्त भएका छन्। कैद सजायको ४० प्रतिशत कैद भोगेका उनको बाँकी ६० प्रतिशत कैद मिनाह भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.