बन्द हुन लागेको थियटर मलमा पोखियो रंगकर्मीको पीडा

|

काठमाडौं : बन्द हुँदै गरेको नाटकघर ‘थियटर मल’ मा सोमबार नाटक र नाट्यकर्मीकै बारेमा गरमागरम बहस भयो। बहसमा थिए- नाट्यकर्मीहरु अशेष मल्ल, सुनिल पोखरेल, विमल सुवेदी, घिमिरे युवराज, राजन खतिवडा र केदार श्रेष्ठ। बहसलाई सञ्चालन गर्दै थिए पत्रकार यज्ञश।

चार वर्षअघि २०७१ साउनमा राजधानीको काठमाडौं मलमा स्थापना भएको थियटर मल स्थान अभावका कारण बन्द हुन लागेको हो। थियटर मलका कला निर्देशक केदार श्रेष्ठले मल व्यवस्थापनले ठाउँ खाली गर्न भनेकाले नयाँ ठाउँ खोजिरहेको बताए।

नाट्यकर्मीले सुनाए पीडा

मण्डला थियटरका राजन खतिवडा नाटकमामात्र काम गरेर बाँच्ने अवस्था नरहेको बताएपछि नाटककार अशेष मल्लले सुनिल पोखरेललाई देखाउँदै भने- 'मैले उसलाई दिल्लीबाट फर्किने बित्तिकै विश्वविद्यालयमा पढाउ भनेको थिएँ….।'

अशेषले यति के भनेका थिए, सुनिलले उनलाई रोक्दै भने- 'लगाइदिनु न त जागिर।'

अहिले अशेषलाई जागिर खोज्दिनु भन्ने सुनिलले ऊ बेला किन स्वीकारेनन् त अशेषको प्रस्ताव?

'मैले दुई वर्ष एकेडेमी (नेपाल प्रज्ञा प्रतिष्ठान) मा जागिर पनि खाएँ तर कसोकसो जागिरमा रसै बसेन', उनले सुनाए, '१०-५ गर्न सकिँदो रहेनछ, अर्काको अधिनमा बस्नै सकिनँ।'

नाटकमा होमिएकाहरुलाई नाटकको कमाइबाट बाँच्न धौ धौ परेका बेला सुनिललाई भने बाँच्ने कुरा ठूलो लागेको छैन। 'तपाईँ कसरी बाँच्ने भन्ने त तपाईँमा भर पर्ने कुरा हो। दुईवटा पाइन्ट, दुईवटा सर्ट, खाना, खाजा, डेरा भाडा, यही होइन?', उनले भने, 'सोल्टीमा खाने कि मामाको पसल, त्यो त तपाईँले रोज्ने कुरा हो।'

सुनिल बोल्दा बोल्दै अशेषले कुरा काटे- 'अनि तिमी बिरामी भयौ भने पाँच हजार रुपैयाँ लाग्छ। के गर्छौ?'

नेपाली नाट्यक्षेत्रको अग्लो नाम सुनिलसँग अशेषको प्रश्नको जवाफ थिएन वा भएर पनि दिन चाहेनन्।  

आदर्शका कुरा छोड्न आग्रह गर्दै अशेषले भने- 'सबैभन्दा पहिलो कुरा घर हो। परिवारका सदस्य हुन्। पहिलो ध्यान त्यहाँ लगाउँ। नाटकले मात्र सबैथोक हुन्न।'

अशेषले भारतको उडिसाका आफ्ना मित्र समेत रहेका एक नाट्यकर्मीको उदाहरण दिए। 'ऊ न घरपरिवार भन्थ्यो, न आफन्त, यतिसम्मकी उसले नाटकमा करियर बिग्रन्छ भनेर श्रीमतीसँग सन्तान नजन्माउने सहमति नै बनायो', उनले सुनाए, 'तर जब ऊ नेपाल आयो र मेरो स्थिति हेर्‍यो, उसले पश्चाताप गर्‍यो।'

मण्डला थियटरका राजन खतिवडा कलाकारलाई समय व्यवस्थापन पनि एउटा समस्या बनेको बताउँछन्। 'हामी नाटकमा काम गर्छौँ तर यसभित्र पनि यसका विविधता व्यवस्थापन गर्न सक्नुपर्छ', उनी भन्छन्, 'म नाटकबाट बाँच्नै सकिन्न भन्दिन। बाँच्न नसक्ने भए हामी कसरी यहाँ छौँ त?' उनी नाटकसँगै आयआर्जनका अन्य क्षेत्रमा पनि समय व्यवस्थापन गर्न सक्नुपर्ने बताउँदै थिए।

अघिल्लो वर्ष बन्द भएको नाटक घर थियटर भिलेजका विमल सुवेदी पनि १६/१७ वर्षको अनुभवका आधारमा आफू पनि आदर्शवादी भएर होइन, व्यावहारिक भएर सोच्नुपर्ने पक्षमा रहेको बताउँछन्। 'फिल्ममा गएर नाटकमा वा नाटकबाट फिल्ममा जानु सामान्य कुरा हो। तर नाटकसँगै अन्य काम पनि गर्नुपर्ने हाम्रो बाध्यता बनेको छ', उनले भने।

शिल्पी थियटरका घिमिरे युवराज नाटक गरिरहेको एक कलाकारले 'म साउदी वा कतार वा अरु कुनै देश जान लागेको' भन्दा नजाउ भन्ने आँट आफूहरुमा नभएको बताउँछन्। 'संकटको अवस्थामा छौँ। निरन्तरता दिन समस्या छ', उनी भन्छन्।

युरोप अमेरिकामा कर्पोरेट क्षेत्रले नाट्यक्षेत्रको विकासका लागि ठूलो लगानी गरेको भए पनि नेपालमा त्यो स्थिति नरहेको सुनिल पोखरेलले बताए। 'यहाँका कर्पोरेट त फेसन सोहरुमा मात्र खर्च गर्छन्', उनले रंगकर्मी विजय बिस्फोटतिर देखाउँदै भने, 'यहाँ केही नपाए पनि नाटक गर्नेहरु धेरै छन्। ऊ त्यहाँ (इंगित गर्दै) विजय छ- यस्ता मान्छे छन् र नेपालमा नाटक बाँचेको छ।'

दर्शकदीर्घामा बसिरहेका विजय बिस्फोटले अशेषलाई प्रश्न गरे- 'तपाईँले सर्वनाम कसरी बनाउनुभयो?' उनले त्यो निर्माण गर्ने खर्च कसरी जुट्यो भनेर सोधेका थिए। 'मलाई डलर खायो भन्नेहरु धेरै छन्', प्रष्ट्याउँदै उनले भने- 'कसैसँग १ पैसा मागेको होइन, सडक नाटक देखाएर जोगाएको पैसाले बनाएको हो। त्यसैले त थालेको ८ वर्षमा पूरा भयो।'

सहरका नामी निर्देशक तथा रंगकर्मी राजन खतिवडा आफै ढुक्क छैनन् कि उनको भविष्य नाटकमै सुरक्षित छ भनेर। 'अर्को बाटो भेटिएन भने एक वर्षपछि म आफै नाटकमा रहन्छु वा रहन्न भन्न सक्दिन। म आफै विदेशमा पो हुन्छु कि?', उनी भन्छन्, 'नहुन पनि सक्छु नियतिले।'

तर नाटकमै बाँचेका सुनिललाई भने ठूलो तनाव छैन किनभने उनलाई धेरै कुरासँग मतलब छैन। उनी स्वीकार्छन्- 'मसँग पैसा हुँदैन। अहिले पनि छैन। सबै उसले (सुनिलकी पत्नी निशा शर्मा, जो रंगमञ्चमा चर्चित नाम हो) हेर्छे। उसैले घर चलाउँछे, म उसैसँग माग्छु।' तर सबै नाट्यकर्मी सुनिलजस्ता ‘भाग्यमानी’ कहाँ छन् र !

चर्चित नाट्यकर्मीहरुका 'फ्रस्टेड' अनुभवहरु सुनेपछि दर्शकदीर्घाबाट प्रश्नको प्रहार भयो।

उसोभए नाटकमा किन लाग्ने? यहाँ संघर्ष किन गर्ने? प्रश्नहरु यस्तै यस्तै।

सुनिलले त रिसाए झैँ भने- ‘हामीले कसैको ठेक्का लिएको छैन, नआउनुस्।‘

तर विमल सुवेदी, राजन खतिवडा र केदार श्रेष्ठको टोन फरक थियो। ‘बुझेर आउनुस्, विक्ल्प पनि सोचेर आउनुस्’, केदारले भने। ४ वर्षअघि स्थापना भएको थियटर मल भोलिदेखि भत्किनेछ। केदार र उनको टिम नाटक घर  स्थापनाका लागि नयाँ ठाउँ खोज्दैछन्। यो ठाउँमा अब नयाँ फिल्म हल खुल्नेछ।  

अन्तिममा फेरि नाटक घरहरु भत्केको विषय उठ्यो। कुनै बेलाको चर्चित नाटक घर गुरुकुल भत्केको प्रसंग पनि उठ्यो। ‘हामी आफ्नो कारणले होइन, काठमाडौं मल व्यवस्थापनका कारण सर्दैछौँ’, केदारले यति भनि नसक्दै राजनले भने- ‘भत्किनु भनेको ध्वस्त हुनु होइन, नयाँ बन्नु पनि हो। गुरुकुल भत्किएकैले नयाँ थियटरहरु बने।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.