|

रुपन्देही : रुपन्देहीका अधिकांश तहमा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। एमालेले बुटवल नगरपालिकाको प्रमुखमा जिल्ला अध्यक्ष शिव सुवेदी र उपप्रमुखमा मजदुर नेत्री गोमा आचार्यलाई उमेदवार बनाएको छ। तिलोत्तमा नगरपालिका प्रमुखमा बासु घिमिरे र उपप्रमुखमा जागेश्वरी चौधरी उम्मेदवार बनेका छन्।

त्यस्तै, देव दह नगरपालिकाको प्रमुखमा टिकाराम चापागाईं र उपप्रमुखमा विद्या गुरुङ, सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा हरि अधिकारी र उपमेयरमा उमा काफ्ले , सैनामैना नगरपालिकाको प्रमुखमा चित्रबहादुर केसी र उपप्रमुखमा बिना रानाको उम्मेदवारी तय भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा इन्साफ मुसलमान र उपमेयरमा गोमा गुरुङ्ग छनोट भएका छन्।

बुटवल उपमहानगरमा एमाले स्थायी कमिटिले टुंगो लगाएको हो भने नगरपालिकामा प्रदेश कमिटिले उम्मेदवारको टुंगो लगाएको एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए।

एमालेले उपमहानगरपालिका र नगरपालिकाको प्रमुख र प्रमुखका उम्मेदवारको टुंगो लगाए पनि गाउँपालिकाका उम्मेदवार तय गरेको छैन। रुपन्देहीमा कांग्रेस र माओवादी केन्द्रले भने उम्मेदवार तय गरेका छैनन्। केही ठाउँमा उम्मेदवार चयन गरे पनि आधिकारिक घोषणा भने भएको छैन।

रुपन्देहीका कांग्रेस सभापति अब्दुल रज्जाकले सर्वसहमतिमा उम्मेद्वारको चयन गर्ने प्रयास भइरहेको र केही दिनमा नै सबै तहमा उम्मेदवारको टुंगो लगाउने जानकारी दिए।

बुटवल उपमहानगरपालिकाको १९ वडा मध्ये १७ वडामा कांग्रेसले वडा अध्यक्षको टुंगो लगाइसकेको छ। रुपन्देहीको १६ स्थानीय तहमा १ सय ५५ वडा छन् भने यस जिल्लाबाट ८ सय ४५ जनप्रतिनिधिहरु चुनिने छन्। १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.