|

उदयपुर : वैशाख ३१ गतेका लागि चुनावी तयारीमा जुटेका उम्मेदवारहरु दुई पटक निर्वाचन सर्दा खर्च बढ्ने भन्दै चिन्तित हुन थालेका छन्। वैशाख ३१ गतेबाट जेठ ३१ हुँदै असार ९ मा पुगेपछि चुनावी खर्च बढ्ने चिन्ता गर्न थालेका हुन्।

‘मेरो उम्मेदवारी पहिला नै निश्चित थियो, ‘उदयपुरको बेलका नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुखका उम्मेदवार रमन भट्टराई भन्छन्, ‘बैशाख ३१ लागि तयारीमा जुटेको जेठ ३१ पुग्यो, फेरि त्याहाँबाट ९ गते पुग्दा चुनाव जित्नु र हार्नुको कुनै अर्थ नरहने भयो।’ भट्टराईका अनुसार चुनाव प्रचारप्रसार समिति परिचलानदेखि प्रर्चा पम्पलेटमा निरन्तर खर्च बढिरहेको छ।

यसरी चुनावी प्रचार प्रसारको खर्च बढेको बताउने वडा अध्यक्षदेखि नगारपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष-उपाअध्य समेत भेटिन्छन्। पार्टीले भित्री रुपमा उम्मेदवार घोषणा गरिदिएकाले चुनाव प्रचारप्रसारमा होमिएकाहरुलाई चुनाव सरेकोले  समस्या भएको बताउँछन्।

निर्वाचन आयोगले चाँहि वडाध्यक्ष र सदस्यले १ लाखसम्म मात्र खर्च गर्न पाउने सीमा तोकेको छ। तर, चुनाव सरेकै कारणले १ लाख मात्र नभएर ६ लाख पुग्ने कटारी नगरपालिकामा माओवादीको केन्द्रको तर्फबाट उम्मेदवार बनेका दीपक बुढाथोकी बताँछन्। नाम उल्लेख नगर्ने सर्तमा उदयपुरको एक गाउँपालिकाका वडा अध्यक्षले भने, वैशाख ३१ का लागि भनेर ७ लाख भन्दामाथि खर्च गरें, त्यसपछि जेठ ३१ मा पुग्यो, अनि फेरि केही समय रोकिएर तयारी गर्दा ३ लाख बढ्यो अहिले फेरि असार ९ पुग्दा चुनावमै नलडे पनि हुने भयो।’ उनका अनुसार निर्वाचन आयोगले निर्धारण गरेको खर्च ३ लाख भए पनि तेब्बर हुने भयो।

निर्वाचन आयोगले तोकेको खर्चको सीमाभन्दा कम्तीमा ४ गुणा बढी खर्च भइसकेको उम्मेदवाहरुको भनाइ छ। ‘एकातिर निर्वाचन आचारसंहिताले पक्रने डर छ,’ बेलका नगरपालिका ५ नम्वर वडा अध्यक्षका उम्मेदवार दीपक रेग्मी भन्छन्, ‘चुनाव जित्ने हार्ने कुनै ग्यारेन्टी छैन, ऋण मात्र लाग्ने भयो।’

हरेक उम्मेदवारको अन्तिम उद्देश्य जसरी पनि चुनाव जित्ने हुन्छ। एउटा वडामा हुने चुनावी खर्चको सामान्य ब्याख्या गर्दै नेकपा माओवादी केन्द्र उदयपुर संयोजक विनोद कटुवाल दिवशले भने, ‘सबैभन्दा बढी खर्च कार्यकर्ताको खानपान र कपडामा हुन्छ। उम्मेदवारहरुका अनुसार चुनाव प्रचारमा हिँडेका कार्यकर्तालाई खाना, खाजा र पेय पदार्थमा सबैभन्दा बढी खर्च भइरहेको छ।

त्यसपछि दलको चुनाव चिह्न र नारा लेखिएका टिसर्ट छाप्न बढी पैसा खर्च भएको छ। एउटा वडाका लागि हरेक पार्टीले कम्तीमा ५ देखि ६ सयसम्म टिसर्ट छापिरहेका छन्। एउटा टिसर्टलाई १ सय ५० देखि ३ सयसम्म पर्छ। त्यसो हुँदा २ सयका दरले ५ सय टिसर्टको मात्र हिसाब गर्दा पनि एकलाख ५० हजारभन्दा बढी  टिसर्टमै खर्च भइरहेको छ।

जिल्ला निर्वाचन आयोग कार्यालय उदयपुरका प्रमुख एक बहादुर बस्नेतले उम्मेदवारले निर्वाचन खर्च सीमाभन्दा बढी खर्च गर्न नपाइने बताए। ‘निर्वाचन सर्छ हामीले होइन,’ उनले भने, ‘हामीलाई माथिबाट कुनै जानकारी आएको छैन, माथिबाट जे आदेश आउँछ त्यही गर्ने हो।’ कुनै उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीत बढी खर्च गरेको पुष्टि भएमा आचारसंहितामा उल्लेख भएअनुसार कारबाही गरिने पनि बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.