|

  • डा. टीकाराम पोखरेल-

हो हजुर! मैले तक्मा पाउनुपर्ने कुनै कारण देखिनँ। गणतन्त्र नामधारी यो तक्मा पाउन त गणतन्त्रको लागि केही योगदान त गर्नुपर्‍यो नि, होइन र हजुर! मैले तक्मा पाउनुपर्ने त्यस्तो के नै पो गरेको छु र यो देशका लागि?

हो हजुर! तक्मा पाउनेहरूको नाम सार्वजनिक हुनु अगाडिसम्म त मैले पनि गणतन्त्र र देशको लागि केही गरेको छु, तक्मा पाउनेहरूमा म पनि पर्छु कि भन्ने मलाई आसा लागेको थियो हजुर! पछि म तक्मा पाउनेमा परिनँ भन्दा मलाई कता कता खल्लो लागेथ्यो। तर गोरखापत्रमा तक्मा पाउनेहरूको नाम हेर्दा पो बल्ल थाहा पाएँ हजुर! तक्मा पाउनको लागि म योग्य नै भएको रहेनछु।

हो हजुर!  त्यस्ता त्यस्ता दिग्गजहरूले पाउने गणतन्त्रे तक्मामा मैले आँखा गाडेर ठूलो भूल गरेछु। यस्तो मेरो मूर्खताप्रति म आफैँलाई दया लागेर आयो हजुर! त्यस्ता, देशभक्त इमान्दार, दिग्गज, विद्वान्, राष्ट्रवादी, जनसेवी गणतन्त्रवादीहरूले पाउने तक्मामा म कसरी आसे बनेछु हजुर?

हो हजुर! ती तक्मा पाउनेहरूले देशको गणतन्त्रको स्थापना र विकासको लागि गरेको साम, दाम, दण्ड, भेदको नीति अवलम्बन मैले कहिल्यै गर्न सकिनँ। के गर्ने हजुर! गर्नै चाहे पनि त्यो कला मसँग छैन। मैले छल, छाम र छुल्याइँ र छुद्र्याइँ पनि गर्न सकिनँ, न त मैले चाकरी, चाप्लुसी र चुक्ली नै गर्न जानेँ हजुर! 

के गर्ने हजुर! भ्रष्टाचार गर्ने त झन कुरै भएन, कहाँबाट भ्रष्टाचार गर्न पाउनु कहिल्यै सरकारी जागिर खा’को भा’पो त हजुर! अनि अत्याचार र दूराचार पनि मेरो दिनचर्या बन्नै सकेन हजुर! म यी सबै काम गर्न अक्षम छु भने मैले केका लागि तक्मा पाउने हजुर?

के गर्ने हजुर! मैले गाउँको अगुवा भएर छिमेकी छिमेकीलाई फुटाउन, छुटाउन र टुटाउन जानिनँ। न त नेता भएर जनतालाई थिच्न, मिच्न र पाएसम्म जनताको मानो मुठी घिच्न नै जानेँ हजुर! हो हजुर! न त समाजसेवी भएर सोझासाझालाई हकार्न, थचार्न, पछार्न र लछार्न नै जानेँ। न त मैले विद्वान्का नाममा आफूले सदस्यता लिएका पार्टीका नेताले जेजे भन्छन् त्यसमा आँखा चिम्लेर ताली पड्काउँदै समर्थन नै गर्न सकेँ हजुर!

जनताका छातीमा गोली हानेर चराझैँ पुर्लुक पुर्लक लडाउन सक्नु पो बहादुरी त, छातीमा गोली थापेर प्राण त्याग गर्नु केको बहादुरी हो र हजुर? कहीँ कतै इतिहासमा मर्नेलाई बहादुर भन्ने गरिएको छ र हजुर? मार्नेलाई नै त बहादुर घोषित गर्ने गरिएको छ नि, होइन र हजुर?

हो हजुर! मैले ओल्लो कित्तामा फाइदा हुँदा ओल्लो कित्तामै बसेर लुट्ने र पल्लो कित्तामा फाइदा हुनेजस्तो देखेपछि त्यतै फड्को मार्ने सुन्दर कला पनि जानिनँ। अनि मैले न त मानवअधिकारकर्मीका नाममा पार्टी–पार्टीबीचका तँछाड मछाडका घटनामा चर्को स्वरमा बोल्न नै सिकेँ, या त पत्रकारका नाममा पार्टीका ठूला बडा नेताको गाथा नै गाउन जानेँ। न त राष्ट्रसेवकका नाममा जनताका छातीमा गोली बर्साउन नै जानेँ, न नागरिक समाजका अगुवाको पगरी भिरेर दलका एजेण्डालाई काँध थाप्दै हिँडे हजुर! हो हजुर! यीमध्ये मसँग कुनै योग्यता नै छैन भने मैले तक्मा किन पाउने हजुर?

न मैले उद्योगपति भएर गुणस्तरहीन सामान उत्पादन गर्न सकेँ, न त व्यापारीका नाममा दाल चामलमा बालुवा मिसाई त्यसबाट आएको फाइदाबाट पार्टीलाई चन्दा दिन नै सकेँ। न मैले गाँजा, चरेसको व्यापार गर्न सकेँ, न त अकुत सम्पत्ति कमाएर कर छल्न नै सकेँ। न मैले विदेशी मुद्राको अवैध कारोवार गरेँ, न त ठमेलका बारमा नग्न चेली नचाउन नै सकेँ। तब यी सबै गर्न नसक्ने भएपछि मैले तक्मा किन पाउने हजुर?

हो हजुर! माथिका कामहरू कुशलतापूर्वक सम्पन्न गरेका दिग्गजहरूका तुलनामा गणतन्त्र ल्याउनको लागि मैले के नै गरेको छु र हजुर– गणतन्त्रे तक्मा पाउन? गणतन्त्रे आन्दोलनमा मेरो जाबो एउटा छोरो गोली लागेर मरेको र अर्को छरो आन्दोलनकै गोली खाएर लङ्गडो भएको न हो हजुर!

जनताका छातीमा गोली हानेर चराझैँ पुर्लुक पुर्लक लडाउन सक्नु पो बहादुरी त, छातीमा गोली थापेर प्राण त्याग गर्नु केको बहादुरी हो र हजुर? कहीँ कतै इतिहासमा मर्नेलाई बहादुर भन्ने गरिएको छ र हजुर? मार्नेलाई नै त बहादुर घोषित गर्ने गरिएको छ नि, होइन र हजुर?

त्यसैले हो हजुर! यत्रा बहादुरहरूको योगदानको तुलनामा एकबारको मर्ने जुनीमा मेरो छोराले छातीमा गोली थापेर मृत्युवरण गर्नु कुन ठूलो कुरा भो र! मलाई चित्त बुझ्यो हजुर, मैले तक्मा पाउनुपर्ने होइन रहेछ र गणतन्त्रका लागि मृत्युवरण गरेको मेरो छोरो पनि यसका लागि योग्य रहेनछ हजुर! तक्माका लागि त तिनीहरू नै योग्य रहेछन् हजुर, जसको गोरखापत्रभरि नाम छापिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.