सन्दर्भ: विश्व धूमपानरहित दिवस

|

काठमाडौ:  विश्व धूमपानरहित दिवस ' सुर्तीजन्य पदार्थ विकासको बाधक' भन्ने नाराका साथ संसारभर मनाइँदै छ। धूमपान तथा सुर्तीजन्य पदार्थहरुको सेवनका कारण मानव स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न र सबै किसिमका सुर्तीजन्य पदार्थको सेवन तथा बेचबिखनलाई निरुत्साहन गर्न हरेक वर्ष  ३१ तारिखमा यो दिवस मनाइन्छ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा र सदस्य राष्ट्रहरुको संलग्नतामा सन् १९८७ देखि यो दिवस मनाउन थालिएको हो।  विश्व स्वास्थ्य संगठनका अनुसार  सुर्ती र सुर्तीजन्य पदार्थ सेवनकै कारण हाल विश्वमा बर्सेनि ७० लाख मानिसको मृत्यु  हुने गरेको छ। सन् २०३० सम्म सो संख्या बढेर ८० लाख पुग्ने संगठनले जनाएको छ।

संसारभरि हरेक दिन १५ अरब चुरोट किनबेच हुन्छ भने हरेक मिनेट १ करोड खिल्ली चुरोट बिक्री हुन्छ। विश्वमा हरेक ८ सेकेण्डमा एक जनाको मृत्यु सूर्ती सेवनकै कारणले हुन्छ। यस्तै हरेक १० जनामध्ये एक वयस्कको मृत्यु चुरोट सेवनले हुने गर्छ। सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्ये १ जनाको मृत्यु गराउने विश्वव्यापी पूर्वानुमान छ।

नेपालमा पनि  सुर्तीजन्य पदार्थको सेवन गर्ने मानिसको संख्या यकिन नभए पनि नेपालमा हरेक वर्ष १६ हजार मानिसको मृत्यु सुर्ती र सुर्तीजन्य प्दार्थको सेवनकै कारण हुने गरेको तथ्या‌क छ। पछिल्लो समय नसर्ने रोगहरूको जोखिम बढ्दै जानुको प्रमुख कारण कारण धूमपान पनि रहेको चिकित्सकहरू बताउँछन्।

चुरोट तथा सुर्तीजन्य पदार्थमा हुने 'निकोटिन' स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने हुन्छ। यसले मस्तिष्क र मुटुका लागि समेत असर गर्छ। त्यसैले मुटुलाई स्वस्थ राख्न धूमपान तथा सुर्तीजन्य प्दार्थको सेवनबाट टाढै रहनु पर्ने बरिष्ठ मुटुरोग ओममूर्ति अनिलको भनाइ छ।

'धूमपानले क्यान्सर हुन्छ भन्ने धेरैलाई थाहा छ, तर यसले क्यान्सरभन्दा बढी मुटु रोग निम्त्याउने सम्भावना हुन्छ', उनले भने, 'निकोटिनको कारणले 'कोलेस्ट्रोल' बढ्न थाल्छ, यसले रगतमा अक्सिजन कम हुन पुगी हृदयाघात हुने सम्भावना बढेर जान्छ।' 

दुई खिली चुरोटको सेवनले पनि हुन सक्छ हृदयाघात

धूमपानको सेवन हाम्रो शरीरमा तत्कालीन र दीर्घकालीन दुई तरिकाले असर गर्ने गर्दछ। लामो समयसम्म धूमपान गर्नाले फोक्सोको क्यान्सर जस्तो समस्या देखिन्छ भने तत्कालीन रूपमा मुटुमा समस्या देखिने गर्दछ।

धेरैलाई चुरोटको सेवनले क्यान्सर हुन्छ भन्ने थाहा भए पनि यसले मुटुमा समेत असर गर्छ भन्ने थाहा नहुन सक्छ। तर दुई खिली चुरोट सेवनले मात्र पनि मुटुमा समस्या पुर्‍याइ हृदयघात हुनपुग्छ।

हाम्रो शरीरमा रातो रक्तनली र निलो रक्तनलीबाट रक्तसञ्चार हुन्छ। निलो नली हामीले देख्न सक्छौं तर, रातो नली देखिँदैन। धूमपानका कारण निकोटिनले रातो रक्तनलीहरू कडा हुन थाल्छन्। फलस्वरूप कोलेस्ट्रोल बढ्छ। त्यसैले धूमपान नगर्नेलाई भन्दा गर्नेलाई मुटुरोग लाग्ने सम्भावना ३ गुणा बढी हुन्छ।

पछिल्लो समयमा युवा अवस्थामानै मुटुरोग लाग्ने मानिसको संख्या बढ्दै गएको छ। यसको प्रमुख कारण भनेकोनै धूमपान हो। युवा उमेरका धेरैले  धूमपान गर्ने भएकाले ४० वर्ष भन्दा कम उमेरका मानिसहरू हृदयाघातको कारण अकालमै मृत्युवरण गर्ने गर्छन्।

यसरी बच्‍न सकिन्छ

धूमपानले स्वास्थ्यलाई असर गर्ने थाहा पाउँदापाउँदै पनि धेरै मानिस भन्छन् 'लागिसकेको बानी छुटाउन सकिएन।' दृढ स‌ंकल्प हुने हाे भने धूमपानको बानी हटाउन सकिन्छ।

धूमपान क्रमश: कम गर्ने, सकारात्मक कुरातर्फ ध्यान लगाउने, सकारात्मक चिन्तन गर्ने, दैनिक व्यायाम गर्ने अादि क्रियाकलाप सहायकसिद्ध हुन्छन्। यस्तै संगीत, खेलकुद, साहित्य अादि क्षेत्रमा मन लगाउने र धूमपान गर्ने साथीको संगत नगर्ने गर्दा पनि बानी छुटाउन सकिन्छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलसँग गरिएको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.