|

काठमाडौँ: फिल्म 'जालो' र 'जालो रिटर्न्स'को अहिले खुबै चर्चा छ। यिनको चर्चा हुनुको मुख्य कारण भनेको यो फिल्म विश्वको सबैभन्दा लामो 'वन सट मुभी' हो। यसले सबैभन्दा लामो 'वन सट मुभी'मा विश्व रेकर्ड राख्दै छ।

'वन सट मुभी' भनेको एकै पटकमा पूरै फिल्म खिच्नु हो। 'वन सट मुभी' खिच्दा क्यामेरा अन भइसकेपछि पूरा फिल्म नखिचेसम्म क्यममेरा अफ हुनुहुन्न।

सोच्दा पनि अचम्म लाग्ने! आखिर कसरी खिचिन्छ पूरै फिल्म एकैचोटि? फिल्ममा त विभिन्न लोकेसन चाहिन्छ। एउटा सिन खिच्नका लागि धेरै पटक रिटेक गरिन्छ। तर फिल्म 'जालो' र 'जालो रिटर्न्स'मा त्यो छैन। जब क्यममेरा अन भयो, कलाकारहरूले अभिनय सुरु गरे। अनि तब मात्र क्यममेरा अफ भयो, जब दुवै फिल्म 'जालो' र 'जालो रिटर्न्स'को छायांकन सकियो। यो काम गर्दा पक्कै चुनौती त थियो नै। तर यो चुनौतीलाई पार गरेका छन्, 'जालो' र 'जालो रिटर्न्स'का निर्देशक अराज केशवले।

कहाँबाट आयो सोच?

अराज केशवले फिल्म 'बाटोमुनिको फूल'बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका हुन्। उनले त्यस फिल्ममा नृत्य निर्देशकको भूमिका निर्वाह गरेका थिए। त्यस फिल्मको गीतको भिडियोमा एकदमै लामो लामा सिनहरू खिचेका अराजलाई लामो सिन खिच्न एकदमै रमाइलो लाग्थ्यो। भन्छन्, 'मलाई फिल्ममा लामा लामा सिनहरू खिच्न मनपर्छ। मैले काम गरेका जति पनि भिडियोहरू छन्, त्यसमा सकेसम्म लामा लामा सिनहरू दिएको छु।'

अराजलाई पहिलादेखि नै एउटा वान सट म्युजिक भिडियो बनाउने सोच तथा इच्छा थियो। उनले त्यही कुरालाई गहिरिएर बुझ्न थाले। बुझ्दै जाँदा उनमा केही गर्ने नै भए कुनै नयाँ काम गरूँ भन्ने सोच आयो। भन्छन्, 'म्युजिक भिडियो बनाउँछु भनेर लागेको थिएँ तर बुझ्दै जाँदा केही नयाँ गरूँ भन्ने सोच आयो र फिल्म बनाउँछु भनेर लागेँ।'

टिमलाई कन्भिन्स गराउनै गाह्रो   

अराजको सोचलाई सहयोग गर्ने तथा उनलाई सुरुमा हौसला दिने केही थिएन्। जब उनी वन सट कन्सेप्ट लिएर प्रोड्युसरको घर पुग्थे, कसैले उनलाई विश्वास गर्दैनथे। उनी प्रोड्युसर खोज्दै मोहित मुनालकहाँ पुगे। मोहितले उनलाई विश्वास गरे र लगानी गर्न तयार भए। त्यसपश्चात अराजलाई हौसला दिने तथा साथ दिने एक जना मान्छे थपिए, मोहित।

लगानी गर्ने मान्छे पाएपछि उनी टिमको खोजीमा दैडिन थाले। उनलाई सबैभन्दा चिन्ता क्यामेरामेनको थियो। उनले क्यामेरामेनको लागि हरि घले लामालाई रोजे। हरिलाई कन्सेप्ट सुनाउनेबित्तिकै उनले गर्न सक्छु भन्ने साहस देखाए। लगभग एक महिनाको योगा क्लास लिएपछि उनी पनि फिल्म खिच्नका लागि तयार भए।

अब पालो आयो, कलाकार खोज्ने। तर सुरुमा कुनै कलाकारले उनलाई विश्वास गर्दैन थिए। आफूले सुरुमै निर्धारण गरेको क्यारेक्टरमा जुनजुन कलाकार फाइनल गरेका थिए, तिनै कलाकार नै उनलाई चाहिने थियो। अराज लगातार उनीहरूलाई बुझाउन थाले। ३/४ पटकसम्म स्क्रिप्ट सुनाइसकेपछि कलाकारहरूले पनि हुन्छ कि जस्तो महसुस गर्न थाले रे! 'कलाकारहरूलाई कन्भिन्स गर्न धेरै गाह्रो भयो', अराज भन्छन्,  'उहाँहरूमा यो हुन सक्दैन भन्ने सोच आउनु स्वाभाविक थियो। तर धेरै पटक स्क्रिप्ट सुनाएपछि उहाँहरूलाई मनाउन सकिन्छ भन्ने पनि थियो। आखिर मैले मनाएरै छोडेँ।'  

फिल्ममा चुनौती नै चुनौती गाह्रो :

वान सट मुभी हुनेबित्तिकै चुनैती त थियो नै, तर कलाकार, छायांकनकर्ता तथा टिमका अन्य व्यक्तिहरूको एकदमै मिहिनेतले गर्दा काम राम्रो बनेको निर्देशक केशव बताउँछन्। लगभग एक महिना वर्कसपमा बसेर फिल्मको छायांकन गरिएको उनले बताए। फिल्म खिच्दै गर्दा कलाकारहरूले छिनमै आफ्नो रूप तथा इमोसन चेन्ज गर्नुपर्ने, लोकेसन चेन्ज गर्नुपर्ने, लाइट मिलाउनुपर्नेदेखि हरेक कुरामा च्यालेन्ज थियो उनका लागि। 'फिल्ममा मेकअप म्यानदेखि टिमका सबैलाई चुनौती थियो', उनी भन्छन्, 'कलाकारहरूले छिनमै आफ्नो गेटअपदेखि इमोशन चेन्ज गर्नुपर्ने, क्यामेरा म्यानले क्यामेरा बोकेर हिँड्नुपर्ने, मेकअप म्यानले छिटो छिटो कलाकारलाई रेडी गरिदिनुपर्नेजस्ता हरेक कुराहरूमा चुनौती थियो।' फिल्ममा गीत, फाइट पनि समावेश भएकाले त्यसलाई मिलाउन झनै गाह्रो भएको अराज बताउँछन्।

विश्व रेकर्डको दौडमा

केही समयअघि मात्र छायांकन सकिएको फिल्मले विश्व रेकर्डको कार्यलाई पनि सँगसँगै अघि बढाएको छ। अहिलेसम्म विश्व रेकर्डमा सबैभन्दा लामो 'वान सट मुभी' इन्डियन फिल्म 'वन सट फियर विदाउट कट' थियो। जुन तीन घन्टा २८ मिनेट तीन सेकेन्ड लामो छ। त्यो रेकर्डलाई ब्रेक गर्दै आफ्नो नयाँ रेकर्ड बनाउँदै छन्, 'जालो' र 'जालो रिटर्न्स'ले। दुवै फिल्म एकै पटक खिचिएको हो। यो फिल्म चार घन्टा २६ मिनेट लामो छ। यस फिल्मले सबैभन्दा लामो वन सट मुभीसँगै ६/७ वटा विधामा विश्व रेकर्ड राख्दै छ।   

फिल्म सस्पेन्स थ्रिलमा निर्माण भएको छ। कथासँग मेल खाने भएर नै  फिल्मको नाम 'जालो' राखिएको निर्देशक अराजले बताए। फिल्म 'जालो' र 'जालो रिटर्न्स'मा अनुपविक्रम शाही, निराजन प्रधान, मेनुका प्रधान, निर शाहलगायतको अभिनय रहेको छ। 'जालो' यही जेठ १९ गतेबाट प्रदर्शनमा आउँदै छ भने 'जालो रिटर्न्स'लाई सन् २०१८ मा प्रदर्शनमा ल्यउने अराजले बताए।

हेर्नुहोस् जालोको ट्रेलर

हेर्नुहोस् मेकिङ भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.