|
फोटोहरु कैलाशको फेसबुकबाट लिइएको हो।

काठमाडौँ : मंगलबार बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको कार्गो विमान दुर्घटनामा ज्यान गुमाएका सेनाका पाइलट महासेनानी कैलाश गुरुङ एक सर्जक पनि थिए। गीत लेखन तथा संगीत उनको 'प्यासन' थियो। उनले लेखेका कतिपय गीतहरू उनको युट्युब च्यानल ट्याम्के छोरोमा हेर्न सकिन्छ।

सैनिक विमान दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा निधन भयो भने मेजर अनिता आले र सुवेदार पूर्णबहादुर खड्का गम्भीर घाइते छन्। उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ।

भोजपुर जिल्लाको ट्याम्केमैयुम गाउँपालिका (साविक छिनामखु गाविस) मा जन्मिएका महासेनानी गुरुङले सैनिक गीतहरू, राष्ट्रिय गीतहरू र मायाप्रीतिका धेरै गीत लेखेका छन्, संगीत भरेका छन्।   

ट्याम्के भोजपुर जिल्लाको शान मानिन्छ। भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने शैलुङपछिको नेपालको दोस्रो अग्लो डाँडो मानिने ट्याम्केका बारेमा केही भनाइ पनि प्रसिद्ध छन्। स्थानीयहरू ट्याम्के डाँडोलाई आफ्नो गौरवका रूपमा लिन रुचाउँछन्। भोजपुरका कवि तथा गजलकार सुरेश सुवेदीका अनुसार ट्याम्के डाँडामाथिबाट हवाइजहाज वा हेलिकप्टर उडाइँदैन। उक्त डाँडामा दैवी शक्ति रहेकाले सो डाँडामाथिबाट जहाज उडाउँदा दुर्घटना हुने मान्यता रहेको उनी बताउँछन्।

कतिपयले उक्त डाँडोमा सुनखानी रहेको पनि बताउँदै आएका छन्। जन्मभूिममा रहेको यही शान, ट्याम्केकै नाममा महासेनानी गुरुङले पनि आफ्नो नाम 'ट्याम्के छोरो' राखेका थिए।

खेमराज गुरुङले गाएको अन्तिम गीत ‘आऊ न मोरी टुँडिखेलमा डन्डिबियो खेल्न…’ का संगीतकार तथा सर्जक पनि कैलाश नै थिए। सैनिक सेवामा रहेकाको पीडा समेटेर उनले ‘दशैँ तिहारमा म ड्युटी बस्दै छु’ बोलको गीत लेखेका छन्। आनन्द कार्कीले गाएको ‘मनको मयुर मेरी तिमी दिलको वनमा नाच्ने’ बोलको गीत पनि उनले नै लेखेका हुन्।

उनले लेखेको सैनिक गीतको भिडियोः 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.