|

  • भविश्वर पाण्डे-

कावासोती : नवलपरासी देवचुली १७ कुलेनीका कृषकहरुले सौर्य ऊर्जाबाट बोरिङको पानी तानेर सिँचाइ गर्न पाएपछि उत्पादन बढ्ने भन्दै हर्षित बनेका छन्।एरिजोना युनिर्भसिर्टिको परियोजनाअन्तरगत निर्माण गरिएको कार्यक्रममार्फत कृषकहरुले सिँचाइ सुरु गरिसकेका छन्।

सहज रुपमा सिचाईको व्यवस्था  गरी  बालि उत्पादन बढाउन, खनिज इन्धनको सट्टा सौर्य ऊर्जाको प्रयोग गर्ने र जलवायु परिवर्तनका असरसँग जुध्दै समानुकूलित हुने क्षमता वृद्धि गर्ने उद्देश्यले त्रिभुवन विश्व विद्यालयअन्‍तरगत इन्जिनियरिङ विद्यार्थीहरुले निर्माण गरेको परियोजनाका संयोजक डा नेत्र क्षत्रीले जानकारी दिए।

परियोजनाको १७ लाख ३५ हजार ५८८ र कुलेनी मिश्रित कृषक समूहबाट ३ लाख ५ हजार गरि कुल २० लाख चालिस ४० हजार ५ सय ८८ रुपैयाँको लागतमा सो बोरिङ निर्माण गरिएको हो। १० बिगाहा क्षेत्रफलसम्म सिँचाइ गर्न सकिने सो बोरिङको सिँचाइबाट १७ घरधुरी  र कुल १ सय १० जना लाभान्वित हुने मिश्रित कृषक समूहका अध्यक्ष गंगाबहादुर ठकुरीले जानकारी दिए।

अध्यक्ष ठकुरीका अनुसार समुदायबाट ३ लाख ५ हजार र परियोजनाअन्तरगत १७ लाख ३५ हजार ५ सय ८८ गरी कुल २० लाख ४० हजारको लागतमा बोरिङ निर्माण गरिएको बताउँदै सौर्य ऊर्जाको प्रयोगबाट सिँचाइ गर्न मिल्ने भएपछि यस क्षेत्रका कृषकहरु लाभान्वीत हुनेसमेत बताए। आकाशे पानीको भरमा कृषि गर्ने यहाँका कृषकहरु अब बोरिङबाट निशुल्क पानी सिँचाइ गर्न पाउने भएपछि उत्पादन धेरै हुनेमा आशावादी छन्।

कुलेनी मिश्रित कृषक समूहका सदस्य सुनील सुवेदीका अनुसार आकासे पानीबाहेक केही विकल्प नभएको यस स्थानमा सौर्य ऊर्जाबाट पानी सिँचाइ गर्न पाउने भएपछि सबै कृषकहरु हर्षित भएको बताए। उनका अनुसार पानी परेको खण्डमा मात्र बाली लगाउने पानी नपर्दा खेत बाँजै बस्ने हुन अब सौर्य ऊर्जा बोरिङबाट पानी सिँचाइ गर्न पाउने भएपछि कृषक समूहले नै नगदे तथा हिउँदे बाली नटुटाउने बताए।

उनका अनुसार कृषकहरुलाई आम्दानी कुन बालीबाट हुन्छ, कुन बालीबाट कृषकले बढी नाफा लिन सक्छन् सोही बाली लगाउने बताए। सिँचाइको व्यवस्था भएसँगै तरकारी खेतीतर्फ लागिपर्ने समेत उनले बताए।

त्यस्तै बोरिङबाट सिँचाइ गर्न पाएपछि महिलाहरु बढी खुसी भएको कुलेनीका महिलाहरुले बताएका छन्। पहिले बोरिङ नहुँदा पानीको खोजीमा झराही खोलाको बाँधसम्म पुग्नुपर्ने हुन्थो भने अहिले खेतको नजिकै बोरिङ भएपछि सरल भएको बताए।

वैदेशिक रोजगारको लागि पुरुषहरु विदेश गएको र घरमा रहेका  महिलाहरुलाई पानी सिँचाइ गर्न समस्या हुने हुन्थो भने अहिले अब धरै सजिलो हुने स्थानीय महिलाले बताए। सौर्य बोरिङको मद्दतले सिँचाइ गर्न पाएपछि देवचुली १७ कुलेनीका किसानहरु उत्पादनतर्फ लाग्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.