|

साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्कका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोनको अत्यधिक प्रयोग गर्छन्। कसैसँग अलिकति हिमचिम बढ्नासाथ ट्रम्प जो कोहीलाई पनि सीधै फोन सम्पर्क गर्ने सल्लाहसहित आफ्नो निजी मोबाइल नम्बर दिन हिच्किचाउदैनन्। ट्रम्पको जोकोहीलाई फोन नम्बर दिने बानीले उनका सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्तित बनाएको छ।

झट्ट हेर्दा राष्ट्रपति ट्रम्पको यस्तो उदारतालाई निष्कपट र आत्मिय सद्भाव भन्न सकिए तापनि यसलाई पदीय कूटनीतिक शिष्टाचारको पालना गर्न बिर्सिएको ठान्छन् अमेरिकी सञ्चार सुरक्षाकर्मी। अमेरिकी सेनाध्यक्षसमेत रहेका राष्ट्रपति ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा त्यसलाई पूर्ण सञ्चार सुरक्षा तथा गोप्यताको आवरण दिन हम्मे हम्मे परेको छ सञ्चार सुरक्षाकर्मीहरुलाई।

केहीदिन अघि मात्र राष्ट्रपति ट्रम्पले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति इनरिक पेना नाइटोलाई आफ्नो निजी मोबाइल नम्बर दिई प्रत्यक्ष फोन सम्पर्क गर्न आग्रह गरेका थिए। उपरोक्त दुईजनामध्ये क्यानाडाली प्रधानमन्त्री ट्रुडोले सीधै फोन सम्पर्क पनि गरेका थिए।

त्यस्तै, यसै महिनाको शुरुमा फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई पनि उपलब्ध गराइएको निजी मोबाइल फोन नम्बरमा राष्ट्रपति म्याक्रोँले आफ्नो विजयपश्चात् धेरै पटक राष्ट्रपति ट्रम्पसंग सीधै फोन सम्पर्क गरिसकेका छन्। ट्रम्पले रुसका राष्ट्रपति तथा उच्च पदाधिकारीहरु, अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुल तथा मेक्सिकोका राष्ट्रपति इनरिक पेना नाइटोलाई फोन नम्बर दिएको कुरा उनीहरुले ट्रम्पसँग सीधै मोबाइल मार्फत फोनवार्ता गरेको कुराबाट बाहिर आएको छ।

प्रविधिको विकास भएको युगमा विश्वका ठूला नेताहरुले एक आपसमा मोबाइल फोनमा कुराकानी गर्नु सामान्य कुरा जस्तो लागे ता पनि कूटनीतिक क्षेत्रमा सुरक्षा र गोप्यताको दृष्टिकोणले मोबाइल फोन सम्पर्क बान्छनीय हुँदैन।

विश्वका दुई राष्ट्र प्रमुख वा सरकार प्रमुखबीच हुने भलाकुसारी होस् वा कुनै औपचारिक वार्ता, यसले अवश्य पनि राष्ट्रिय स्वार्थ वा अलग्गै महत्व धारण गरेकै हुन्छ। त्यसमाथि, कुनै पनि राष्ट्र प्रमुख वा सरकार प्रमुखले यसरी अत्यधिक निजी मोबाइल फोन प्रयोग गरी वार्ता गर्दा आफ्नै देशको औपचारिक राष्ट्रिय सञ्चारउपर विश्वास नगरेको वा यसलाई बेवास्ता गरेको भन्ने सन्देश जान सक्छ।

अत्यधिक निजी मोबाइल फोनको प्रयोगले कूटनीतिक अनुशासन तथा मर्यादाको सीमा नघाएको हो कि भन्ने सन्देश पनि स्वतः जान्छ। अत्यधिक निजी मोबाइल फोनको प्रयोग गर्दा धेरै सूचना तथा कुराकानीहरु चुहिएर गै कति पटक राष्ट्रपति ट्रम्पलाई झस्किनु पर्ने अवस्थासम्म पनि पुर्‍याए ता पनि कूटनीतिक प्रयोजनमा उनले निजी मोबाइल फोन प्रयोगमा सिमितता ल्याएका छैनन्।

राष्ट्रपति ट्रम्पको कार्यालय ह्वाइट हाउसले पनि अब औपचारिक कूटनीतिक सञ्चार मार्गका अतिरिक्त राष्ट्रपतिका सबै निजी मोबाइलका सञ्चार मार्गको सुरक्षा र गोप्यताको बलिष्ठ ब्यवस्थापनतर्फ लाग्ने जनाएको छ। यद्यपि यस्तो कार्य त्यति सहज र पूर्णतया भर पर्दो भने मानिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.