|

एक जना अधवैँसे आफ्नो बलबुताअनुसार खरायो तालमा टापे घोडा जस्तै हानिँदै थियो। बाटो आसपासमा रहेको त्यसभन्दा केही समयअगाडि मन्दिरबाट सानो तर गतिलै अनुहार र दह्रै मूल्य परेको मूर्ति एकाएक भूमिगत हुनपुगेको थियो। उपस्थित भक्तजनहरू शोकमग्न अनुहार बोकेर टोलाउन व्यस्त थिए। दौड प्रतियोगितामा भिडेको जस्तो देखिने त्यस अधवैँसे रफ्तारमाथि अकस्मात केहीको नजर ठोक्कियो। 

चमक हराएर ओइलाएका, सोचमग्न र निरस ज्यानका केही आवाजहरू एकाएक सक्रिय हुनपुगे– चोर! चोर !! समात! समात!! कानमा ठोक्किए पनि अधवैँसेलाई यी हल्लाहरूले छोएनन्। उसको दौडको खेती सुस्ताएको थिएन। पछाडिबाट भक्तजनहरूको एक हुल आफ्नो माल पाइने मसिनो आशमा दत्तचित्तका साथ हावाले लखेटेको धूलोझैँ उसलाई लखेट्न थाल्यो। उसले यसको छेउछनक नै पाउन सकेको थिएन। 

निमेषभरमै ऊ नमज्जासँग त्यही हुलको फन्दामा प¥यो। उसमाथि भकाभक फुरौलाझैँ उपमाहरू बर्सिन थाले– तेरिमा फटाहा! चोर! दिनदहाडै मूर्ति झ्याप पार्ने! आदि–इत्यादि। भीडलाई लाग्यो, गाली मात्र उसको स्वागतार्थ अपुग हुनेछ। त्यसपछि मुक्काको व्यापार पनि सुरु हुनपुग्यो। विचराको लुरे, पातलो, ख्याउटे ज्यानमा क्रमशः मोटाइ भरिन थाल्यो। शरीरका बाहिरी अवयवहरूमा पूरै रक्तसञ्चार भइरहेको थियो।

ऊ ‘ममा चोर हुने योग्यता छैन। अहिलेसम्म मेरो भागमा निर्दोषिता र इमान्दारी मात्र परेको छ। मलाई मुक्काबलाको मतियार नबनाउनुहोस्’ लगायतका स्पष्टीकरणसाथ सुरक्षित अवतरणको सुरुङ खोज्न प्रयत्नशील थियो। हुलभित्रका कोही–कोही हातपात मुर्दावाद! कुटपिटको अन्त्य गर! कानुनले निःशुल्क मारपिट मान्दैन! ज्यान तलमाथि हुन सक्छ भनी सचेतता र खबरदारीको पाठ पढाइरहेका थिए। तर त्यहाँ प्रायका कान त्यसका लागि फुर्सदिला थिएनन्।

दुवैले आआफ्नो अभियान जारी नै राखेका थिए। अधवैँसेको पहिलो दाउ आफूसँग भएको वस्तु बिरालोले बिष्टा लुकाएझैँ लुकाउनु र त्यसपछि ज्यान थप कुच्चिनबाट जोगाउनु थियो। भीडलाई पनि जसरी हुन्छ, गायब भएको ठानिएको मूर्ति उसको हातबाट फुत्काउनु थियो। 

सहज रूपमा तत्काल द्वन्द्वले विश्राम लिने अवस्था थिएन। भीडभाड हल्लीखल्ली क्रमशः बाक्लिँदै र फैलिँदै गइरहेको थियो। यहीबीच नाटकीय पारामा प्रहरीको एक हुद्दा प्रकट भयो। जुलुसलाई छिचोल्दै घाइते ज्यानलाई आफ्नो कब्जामा लियो। जुलुसलाई तितरबितर बनायो, लागापाखा लगायो तर समस्या यत्तिमै सल्टिएन। छरिएका भक्तजनका शरीरहरू पुनः गुडुल्किन पुगे। ‘चोरीको मूर्ति सार्वजनिक गर! दोषीमाथि कडा कारवाही गर!’ जस्ता आवाजहरूको भेल उर्लियो।

यता अधवैँसे माथिकै भाकामा सफाइ पेश गरिरहेको थियो–‘निरपराधले भरिएको म, यत्रो महान् चोर कसरी हुन सक्छु! यस जुनीमा मेरो यस्तो क्षमतावान् बन्ने योग छैन। मसँग रहेको चीज कुनै चोरीको माल होइन, मेरो कमाइ हो!’ ऊ अश्रुधाराका साथ बकपत्र गरिरहेको थियो।

आँसुसहितको रुवाइले भीड पग्लन सकेन। उसको सफाइपत्र ठाडै अस्वीकार भयो। हुलले आफ्नो मागलाई हेपिएमा चौकीमाथि नाकाबन्दी गर्ने र त्यतिले अपुग भए सिङ्गो धर्ती नै बन्धक तुल्याइदिनेसम्मको उर्दी जारी ग¥यो। प्रहरी पनि जुलुसको इच्छाभन्दा बाहिर गई अनावश्यक झमेलाको पोखरीमा हामफाल्न इच्छुक थिएन। 

अन्ततः हुलले भनेबमोजिम माग सदर हुने भयो। उसको इच्छा ओइलायो। प्रहरीले भूमिगत चिज जफत गरी सार्वजनिक गर्‍यो। अन्ततः सबैले जिब्रो टोके, नटोकून् पनि कसरी? त्यो कुनै गायब गरिएको अमूल्य मूर्तिको अनुहार थिएन। मातृभूमिप्रति पोखिएको उसको समर्पणभाव एवं योगदानको कदर स्वरूप राष्ट्रद्वारा विभूषित पदक र प्रमाणपत्र थियो। 

यति सम्मानित विभूषण पनि किन यसरी गुपचुप? किन चोर शैलीमा दौड? भीड र प्रहरीले एकसाथ सवाल तेस्र्याए। बलिन्द्र आँसुका साथ उसले सिधा जवाफ पस्क्यो- ‘के गर्ने, गतिलै विज्ञापन गर्न त मन थियो तर लाजशरमले रोक्यो, लज्जाम् शरणम् गच्छामि!
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.