|

काठमाडौं : २० वर्षदेखि बादी समुदायको उत्थानका लागि काम गर्दै आएकी मीना नेपाली बादीले भोगेका दुःख भनिसाध्य छैनन्। देहव्यापारलाई पेशा बनाएका पश्चिम नेपालका बादी समुदायका महिलाले कति पीडा भोगिरहेका छन् भन्ने कुरा यी ३४ वर्षकी बादी अगुवाको जीवन कथाबाट बुझ्न सकिन्छ। पश्चिम दाङको श्रीगाउँस्थित लेटारमा जन्मिएकी मीना तुल्सीपुर उपमहानगरपालिकाको वासिन्दा हुन्। 

त्यतिबेला बादी समुदायका बालिका पढ्न जाँदैनथे। कतिपय बालिकाहरू पनि यौन व्यवसायमा लगाइएका थिए। कतिपय अरू मजदुरीको काम गर्न गए पनि पढ्न भने जाँदैनथे। मीनालाई पढ्न जाऊँजाऊँ त लाग्थ्यो तर आफ्नै साथीहरूले उनलाई 'ऊ बदिनी आई' भन्दै हेप्थे। त्यसरी सबैका अगाडि अवहेलना सहेर पढ्नुभन्दा बरु पढ्नै जान्नँ भनेर उनले स्कुल छोडिदिइन्।

समाजकाे नजरमा पानी पनि नचल्ने तल्लाे जात हुनुकाे पीडा बेग्लै। साथीले पानी खाने बेलामा नछोइने गरी मुखमा हातको टेको लगाएर खान दिन्थे। अरू सबैले हातैले पानीको भाँडो समातेर खान पाउँथे तर उनले त्यो पानीको भाँडो छुन पनि पाउँदिनथिन्।

स्कुल गएर पढ्न नसके पनि उनीभित्र अक्षर चिन्ने भाेक जागेकाे थियाे। गाउँमा चलेको अनौपचारिक प्रौढ शिक्षा कक्षामा उनले पढ्न सिकिन्। अहिले उनलाई सामान्य पढ्न र लेख्न आउँछ। पत्रपत्रिका पढ्छिन्। मोबाइल चलाउँछिन्। प्रौढ शिक्षा पढेर केही जान्ने बुझ्ने भएपछि उनी समाजमा बादी महिलाको पक्षमा बोल्न थालिन्। आठ वर्षसम्म उनी महिला स्वयंसेविका भएर काम गरिन्।समाजमा कसैको अगाडि बोल्न नडराउने भएरै होला, उनले परिवार नियोजन र केही अरू गैरसरकारी संस्थामा काम पाइन्।

नागरिकता पाउन २२ वर्ष

१४ वर्षकाे उमेरमा उनले नेपालगञ्ज घर भएका लामा थरका २६ वर्षका युवकसँग विवाह गरिन्। उनका श्रीमानले उनलाई निकै माया गर्थे तर घरपरिवार र समाजको डरले मीनालाई कहिल्यै घरमा लगेनन्। विवाह गरेपछि माइतीघर छोडेर श्रीमानको घर जानुपर्ने समाजको चलन भए पनि उनी आफ्ना श्रीमानको घर कहिल्यै जान पाइनन्।

विवाह भएको केही वर्ष उनी माइतीमै बसिन्। उनका श्रीमान अाउने जाने गरिरहन्थे। जीवन चलेकै थियाे। एक दिन एउटा घटना भयो।

बेलुकीकाे समय थियाे। नचिनेका केही मान्छे अाएर उनलाई माइती बसेर देहव्यापार गरिरहेकाे भन्दै घर छाेडेर जान भने। संयोगवस त्याे दिन उनका श्रीमान अाएका थिए। उनले घर लैजान नसके पनि तुल्सीपुर बजारमा ल्याएर डेरामा राखे।

तुल्सीपुर आएपछि मात्र उनले गैरसरकारी संस्थाहरूमा काम गर्न थालिन्। दुई छोरा जन्मिए। श्रीमानले विवाह दर्ता गरेका थिएनन्। विवाह दर्ता नभएपछि सरकारी प्रशासनले छोराको जन्मदर्ता गराइदिएन। उनका श्रीमानले मुखले माया गर्थे तर व्यवहारमा मीनालाई वैधानिक श्रीमतीको दर्जा दिएनन्। छोरा हुर्किंदै गयो तर उसको न जन्मदर्ता भयो, न त नागरिकता नै बन्यो। 

आमाको नामबाट नागरिकता लिन त पाइन्थ्यो तर बुबाको नाम लेख्नुपर्ने ठाउँमा पितृत्वको ठेगान नभएको भनेर लेख्नुपर्ने हुन्थ्यो। मीना त जसरी भए पनि छोरालाई नागरिकता दिलाउन चाहन्थिन् तर उनका छोरा सन्तोषले अड्डी लिएका थिए- 'मलाई मेरा बुबाको नाम थाहा छ भने किन मैले बुबाकै नामबाट नागरिकता नपाउने? यदि बुबाको नाम लेख्ने ठाउँमा पितृत्वको ठेगान नभएको भनेर लेखेर मात्र आमाको नामकाे नागरिकता लिनुपर्ने हाे भने मैले त्यस्तो नागरिकता कहिले पनि लिनेछैन।' 

छोरालाई बाबुकै नामबाट नागरिकता दिलाउनका लागि उनी निरन्तर लागिन्। अन्ततः २२ वर्षपछि सन्तोषले बाबुको नाम र पहिचानमा नागरिकता बनाउन सफल भए। मीनाका कान्छा छोरा अहिले कक्षा चारमा पढिरहेका छन्। 

बादी महिलाले भोग्नुपरेको दुःख

बादी समुदायले विगतमा चरम गरिबीका कारण देहव्यापार गर्नुपरेको मीना बताउँछिन्। उनको परिवारमा देहव्यापार गर्ने कोही थिएनन्। तर छरछिमेकमा त्यस्ता महिलाहरू थिए। पुरुषहरू आफ्नै श्रीमती र छोरीका लागि ग्राहक खोजिरहेका हुन्थे। मीनालाई त्यस्तो देख्दा सारै घीन र दुःख लागेर आउँथ्यो। 

रातमा ग्राहक बनेर बादी महिलालाई भोग गरिरहेको मानिस बिहान एकदम भलाद्मी भएको स्वाङ पार्थ्यो। त्यस्तै प्रकृतिका पुरुषहरूले ती निरीह र विवश महिलालाई बिहान नचिनेजस्ताे गर्थे। ज्याला मजदुरीकाे काम गर्न पनि बादी महिलालाई गाह्रो थियाे। 

समाजको हेर्ने नजर उस्तै

बादी महिलाहरूले त्यसरी देहव्यापार गरेर जम्मा गरेको केही पैसा पनि अरूले नै खाइदिने गरेको मीना बताउँछिन्। विगतका दिनमा बादीहरूले देहव्यापार गरे भन्दैमा आज पनि त्यो समुदायका महिलालाई हेर्ने नजर परिवर्तन नभइसकेको उनकाे अनुभव छ। तर पछिल्लो समय देहव्यापार गर्नुभन्दा अरू नै केही शारीरिक श्रम गरेर जीवन निर्वाह गर्नेहरू बढ्दै गएको उनी बताउँछिन्। 'बादी महिलाले अरू काम नपाए पनि गिट्टी कुटेर र मजदुरी गरेर जीवन निर्वाह गर्न थालेका छन्।युवतीहरू पढ्न थालेका छन्', उनले भनिन्।

तर समाजको सोच जहाँको त्यहीँ रहेकाे छ। त्यस समुदायका बच्चा विना बाबुका हुन् र बादी समुदायका महिला देहव्यापार मात्र गर्छन् भन्ने भ्रम आज पनि समाजमा हट्न नसकेको उनको गुनासो छ।

छोरीहरू भन्छन्: 'मामु, मलाई देखेपछि नबोलिसेला है!'

उच्च शिक्षा पढ्न क्याम्पस आएका छोरीहरू भन्छन्- 'मामु, मलाई देखेपछि नबोलिसेला है!' 'छोरीले यस्तो भन्दा कुनचाहिँ आमाको मन नरोला र!', मीनाले भक्कानो छोडेर रुदैँ सुनाइन्।

जन्म दिएका बुबा खुलेआम हिँड्छन्। छोराछोरीले मेरो बुबा यही हो भनेर चिनेका हुन्छन् तर सबैका अगाडि 'ऊ मेरो बुबा हो' भन्न सक्दैनन्। मीनाले आँसु झार्दै सुनाइन्, 'मेरो छाेराले २२ वर्षसम्म आफ्नो बुबालाई सबैकाे अगाडि बुबा भन्न पाएन।'

बुबाहरू खुलेअाम छाती खाेलेर हिँड्दा बादी समुदायका अामाहरू भने मजाककाे पात्र बनाइएका उनको गुनासो छ। उता छाेराछाेरीहरू समाजमा विना बाबुकाे बच्चा भनेर चिनिएका हुन्छन्। तिनलाई गिज्याइन्छ, उडाइन्छ तर तिनकाे पीडा कसैले बुझ्ने काेसिस नगरेको मीनाको भनाइ छ। 'ती बच्चाकाे मनमा याे समाज र ती बाबुहरूप्रति कस्ताे भावना पैदा हुँदाे हाे? तैपनि उनीहरू सकेसम्म समाजसँग भाग्न चाहन्छन्। लुक्न चाहन्छन्। स्कुल गइरहेका छाेराछाेरी अामालाई बाटाेमा भेट हुँदा नबाेल्न भनिरहेका हुन्छन्', उनले सुनाइन्। 

'रुन्न भने पनि आँसु रोक्न सक्दिनँ। मुटु भक्कानिएर आउँछ। लामासँग विवाह गरे पनि बादी समुदायको वकालत गर्छु भन्ने संकल्प लिएर अगाडि बढेकी छु', यसो भनिरहँदा पनि उनका आँखा भरिइरहेका थिए।

बुढेसकालमा न श्रीमान, न छोराछोरी

बादी समाजका महिला अहिले घर न घाट भएका छन्। उनीहरूको नागरिकता छैन। नागरिकता नभए जग्गा दर्ता पनि हुँदैन। भएको केही जग्गा पनि अरूले नै आफ्नो नाममा बनाएका छन्। उमेरले नेटो काटेका बादी महिलाहरू वृद्ध भत्ता पाउँदैनन्। श्रीमानले श्रीमतीको दर्जा दिँदैनन्। छोराछोरीले छोडेर अन्तै गइसके। छोराछोरीको बरु इज्जत छ तर आमाको इज्जत छैन। 'कतै बाटोमा भेट हुँदा नबोलाउनुस् है आमा' भन्छन्। त्यस्ता बादी महिलालाई बाँच्न निकै गाह्रो भएको मीनाले बताइन्। 

महिला मानवअधिकार रक्षकहरूको सञ्जाल, बादी उत्थान समाज नेपाल, नागरिकता प्रभावित व्यक्तिहरूको राष्ट्रिय सञ्जाललगायतका संस्थामा आवद्ध उनले जीवन रहेसम्म बादी महिलाको अधिकारको लागि काम गर्ने कसम खाएकी छन्।

कुनै पनि राजनीतिक दलले बादी महिलाका लागि केही परिवर्तन गरिदिन नसकेको उनको गुनासो छ। उनी प्रश्न गर्छिन्, 'त्यस्ता महिलाको जीविकोपार्जनका लागि राज्यले व्यवस्था गरिदिनुपर्ने हो तर खाेइ यो गणतन्त्र अाए पनि राज्य र सरकार कहाँ छ?'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.