|

काठमाडौं : काठमाडौं महानगरपालिकामा निर्वाचित भएका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु तथा सदस्यहरुले बुधवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सपथ ग्रहण लगत्तै बसेको नवनिर्वाचित पदाधिकारीहरुको बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको छ। 

पहिलो निर्णय जेष्ठ नागरिकको सम्मानः

बैठकले महानगरको पहिलो निर्णय स्वरुप काठमाडौं महानगरमा रहेका ८० वर्ष पुरा भएका पुरुष र ७५ वर्ष पुरा भएका महिला जेष्ठ नागरिकलाई महानगरपालिकको तर्फबाट वार्षिक १२ हजार रुपैयाँ महानगर भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। उनीहरुलाई घरदैलोमा नै पुगेर दक्ष चिकित्सकसहितको स्वास्थ्य टोलीले स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने निर्णय समेत भएको छ। 

बैठकले गरेका निर्णयहरुबारे जानकारी दिँदै महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकामा बढ्दै गरेको धुलो तथा धुवाको प्रदुषण न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजना बनाएर 'क्लिन द सिटी' अभियानको थालनी गर्न लागिएको बताए।

बैठकले महानगरका सबै वडा कार्यालय तथा विभागबाट प्रवाह हुने सेवा छिटो छरितो, प्रभावकारी एवं पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोग एवं भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अंगीकार गर्ने निर्णय गरेको छ। 

यसैगरी २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडित नगरबासीका निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा उनीहरुलाई निःशुल्क परामर्श सेवा तथा भवन निर्माण इजाजत दस्तुरमा शत-प्रतिशत छुट व्यवस्था उपलब्ध गराउने निर्णय बैठकले गरेको छ। महानगरमा सरकारी कामकाजको भाषाका रुपमा नेपाली र नेपाल भाषाको प्रयोग गरिने, यसका लागि नेपाल भाषाका विज्ञ दोभाषेको व्यवस्था गर्ने, संयुक्त राष्ट्रसंघमा नेपालको पहिचानका रुपमा सुचिकृत भएको रञ्जना लिपीलाई महानगरको सबै कार्यालयको बोर्ड तथा लेटरप्याडमा प्रयोग गर्ने बैठकले निर्णय गरेको छ। 

महानगरपालिका क्षेत्रभित्र अवस्थित ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्र महत्वपूर्ण सार्वजनिक स्थल तथा पार्कहरुमा 'फ्रि वाइफाइ जोन'को व्यवस्था गर्ने, भूकम्पबाट पूर्ण क्षति भएको बागदरबारस्थित महानगरपालिकाको साबिकको कार्यालय भवन निर्माणको कार्य तत्काल सुरु गर्ने, कार्यालय सञ्चालनका लागि पर्याप्त नभएका वडा कार्यालय भवनहरु भवन निर्माण कार्य प्राथमिकता साथ अगाडी बढाउने, महानगर क्षेत्रमा सम्भावित स्थान पहिचान गरी आवश्यक संख्यामा सार्वजनिक शौचालयहरु निर्माण कार्य थालनी गर्ने, महानगरलाई २४ सै घण्टा खुला जीवन्त शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरुको विकास एवं निर्माण कार्यहरु थालनी गर्ने बैठकले निर्णय गरेको छ। 

निर्णय सार्वजनिक गर्दै महानगर प्रमुख शाक्यले सामुहिक निर्णय गरेर मात्र आफु अगाडी बढ्ने र सबैलाई साथमा लिएर विवादरहित ढंगले अगाडी बढ्ने प्रतिबद्धता जनाए। उनले महानगरको धुलो नियन्त्रणका लागि प्लाष्टिकका टुक्रा, काँचका टुक्रा उठाउने कार्यलाई बढाएर अब धुलो पनि बढारिने बताए। हामी क्रमिक रुपमा काम अगाडी बढाउछौ। महानगरवासीले महसुस गर्नेगरी छिटो छरितो काम अगाडी बढाउछौ। कर्मचारीको पनि सहयोग लिन्छौ। महानगरलाई भ्रष्टाचार शुन्य बनाउछौं,' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.