महानगरलाई भ्रष्टाचार शून्य बनाउँछु : प्रमुख शाक्य

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुखले महानगर प्रवेश गरेका छन्। बुधवार राष्ट्रिय सभागृहमा आयोजित भव्य कार्यक्रममा उनीहरुले सपथ लिए। प्रमुख, उप्रमुख, वडा अध्यक्ष एवं सदस्यहरुले सपथ ग्रहण लगत्तै आफ्नो कार्यभार समेत सम्हालेका छन्। 

सपथग्रहण पछि प्रमुख तथा उपप्रमुखले काठमाडौं महानगरपालिका बागदरबार पुगि आ-आफ्नो कार्यभार सम्हाले। उता वडा अध्यक्ष तथा सदस्यहरुले भने आ-आफ्नो वडामा पुगेर कार्यभार सम्हाले। 

यसअघि उनीहरुले महानगर प्रमुख, उपप्रमुख लैनचौरस्थित सहिद स्मारक, रत्नपार्कस्थित शान्ति बाटिका, शोभाभगवती स्थित मंगलादेवी पार्क, चम्पादेवी कृतिपुर स्थित पुष्पलाल स्मृति पार्क, बल्खुस्थित मदन भण्डारीको शालिक, बसन्तपुरस्थित कुमारी घरमा पुगेर त्यस क्षेत्र तथा व्यक्तिहरुको माल्यार्पण एवम् अवलोकन गरेका थिए।

त्यसपछि महानगरपालिकाको कार्यालयमा आएका प्रमुख तथा उपप्रमुखसहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई कर्मचारीहरुले भव्य स्वागत गरेका छन्।काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत इश्वरराज पौडेल लगायत महानगरका कर्मचारीहरुले उनीहरुको स्वागत गरेका हुन्। नवनिर्वाचित प्रतिनिधिहरुले ण गरी कार्यालय परिसरमा हरियाली तथा स्वच्छ महानगर बनाउने प्रण गर्दै प्रमुख एवं उपप्रमुखले बृक्षारोपण गरे। 

कार्यालय परिसरमा वृक्षारोपण गरी तत्पश्‍चात कार्यालयको जेडिए भवनमा अवस्थित कार्यकक्षमा पुगेर कम्प्युटरको माउस अन गरी आ-आफ्नो कार्यकक्षमा पुगी कार्यभार सम्हालेका हुन्। कार्यकक्षमा रहेको कम्प्युटरको माउस घुमाएर उनीहरुले औपचारिक रुपमा कार्यभार सम्हालेका हुन्। 

छैठौं तलामा प्रमुख र उपप्रमुख

काठमाडौं महानगरपालिकाका प्रमुख एवं उपप्रमुखका लागि कार्यालयको छैठौं तलामा कार्यालय व्यवस्थापन गरिएको छ। बागदरबार कार्यालयसँगै रहेको जेडिए भवनमा उनीहरुका लागि कार्यालय व्यवस्थापन गरिएको हो। जसमा प्रमुख/उपप्रमुखको कार्यकक्ष, विशेष बैठक कक्ष, कर्मचारी कक्ष, प्रतिक्षागृहको समेत व्यवस्था गरिएको छ। 

प्रमुखको कक्षबाहिर ठुलो आकारको नेमप्लेटमा महानगर प्रमुखको कक्ष तथा महानगर प्रमुख विद्यासुन्दर शाक्य, उप्रमुखको कक्ष तथा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ लेखिएको नेम्प्लेट झुण्ड्याइएको छ। बाहिरतिर कर्मचारीका लागि टेबुल, कुर्सी, कम्प्युटरको व्यवस्थापन गरिएको छ। 

गाडीका लागि टेण्डर आह्वान

काठमाडौं महानगरपालिकाको प्रमुख भनेको मुलुकको राज्यमन्त्री सरहको व्यक्ति हो। उनीहरुलाई त्यसैअनुसारको सेवासुविधा उपलब्ध गराइने गरिन्छ। महानगर प्रमुख/उपप्रमुखका लागि महानगरले गाडीको व्यवस्थापन गर्न टेण्डर आह्वान गरेको छ।

अहिले भने प्रमुख शाक्यले कार्यकारी प्रमुखले चढ्दै आएको निशान गाडी र उपप्रमुखलाई सुजुकीको बलिनो गाडीको व्यवस्था गरिएको छ। फोर ह्विल गाडी प्रमुख तथा उपप्रमुखका लागि व्यवस्था गर्न टेण्डर आह्वान गरिएको र छिट्टै नयाँ गाडी आउने महानगरले जनाएको छ। 

महानगरलाई भ्रष्टाचारशून्य बनाउँछु : प्रमुख शाक्य

यसैबिच काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरलाई भ्रष्टाचार शुन्य बनाउने बताएका छन्। पदभार ग्रहण पछि बसेको पहिलो बैठकको निर्णयबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा प्रमुख शाक्यले यस्तो दाबी गरे। 

उनले महानगरलाई अगाडी बढाउनका लागि सबैको सहयोग तथा सहकार्यको आवश्यकता रहेको बताए। 'महानगरवासीलाई महसुस हुनेगरी हामी अगाडि बढ्नेछौ। हामीले धेरै प्रतिबद्धताहरु व्यक्त गरेका छौ। त्यसमध्ये सबै कामहरु बिस्तारै गर्दै जानेछौ। सबैलाई साथमा लिएर सामुहिक निर्णयका आधारमा महानगर अगाडी बढ्नेछ,' उनले भने। 

हेर्नुस् फोटो : 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.