|

इलाम : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रका कार्यकर्ताहरुमा विवाद देखिएको छ। खनालको निर्वाचन क्षेत्र इलाम १ मा स्थानीय तहका उम्मेदवार चयनमा कार्यकर्ताले तिब्र असन्तुष्टि जनाएका छन्। पार्टी संगठन र स्थानीय क्षेत्रमा काम गरेकालाई उम्मेदवार बनाउन माग गरे पनि नेतृत्वले स्थानीय स्तरमा घुलमिल नै नभएकालाई उम्मेदवार बनाएको कतिपय कार्यकर्ताको आरोप छ।

एमालेभित्र सबैभन्दा बढी सूर्योदय नगरपालिकाको उम्मेदवार चयनमा विवाद देखिएको छ। नगर प्रमुख र उपप्रमुख पदमा मात्र नभई वडाका पदमा समेत कार्यकर्ताले असन्तुष्टी जनाएका छन्। एमालेको प्रदेश नं १ को बैठकले आरबी राईलाई प्रमुखको उम्मेदवार बनाएपछि त्यस क्षेत्रमा राम्रो छवि भएका एमाले नेता काजीमान कागते लगायत असन्तुष्ट भएका छन्। हिजोआज उनी आरबी राईसँग एउटै मञ्चमा पनि बस्न छाडेका छन्। कार्यकर्तासँगको छलफलमा कागतेले हामी २० वर्ष पछि परेछौं, गल्ती गरियो भन्ने गरेका छन्।

उपप्रमुखमा भयो यस्तो

केही दिन अघि नेकपा एमाले प्रदेश कमिटीको बैठकले इलामको १० स्थानीय तहको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा एमालेका प्रचार विभाग सचिव नवराज शंकरले सूर्योदय नगरपालिकाको उपप्रमुखमा चित्रकला बराइलीको नाम सार्वजनिक गरेका थिए। त्यसपछि चित्रकलाको सामाजिक सञ्जाल र सञ्चार माध्यममा चरचा समेत भयो। चर्चासँगै उनी कस्सिएर भोट माग्न थालिन्।

तर, अहिले नेतृ दुर्गा भट्टराईले आफू उपप्रमुखको उम्मेदवार भन्दै भोट माग्न थालेपछि चित्रकला निराश बनिन्। पार्टीको आधिकारिक निर्णय नआए पनि आफ्नो ठाउँमा अर्कैले भोट माग्न थालेको थाहा पाएपछि निराश बनेकी उनले भनिन् ‘पहिले पनि धोका पाएकाले टिकट पाउने आस अहिले पनि मरेको छैन।’

दोस्रो संविधानसभा निर्वाचनमा दलित समुदायबाट समानुपातिक प्रणालीतर्फ उम्मेदवार बनेकी बराइलीले १० वर्षदेखि कार्यरत शिक्षकको जागिर छाडेकी थिइन्। सूर्योदय नगरपालिका ६ तारगाउँको सरस्वती निम्न माध्यमिक विद्यालयमा राहत शिक्षकका रूपमा काम गरिरहेको अवस्थामा एमालेले समानुपातिक उम्मेदवारमा उठाएपछि जागिरबाट राजीनामा दिएकी थिइन्।

तर निर्वाचनपछि उनलाई एमालेले सांसद बनाएन। ‘खाँदै गएको जागिर पनि गयो, पछि केही होला भनेको अहिले पनि यस्तै भयो’, उनले भनिन् ‘पार्टीले के गर्न खोजेको केही बुझिएन।’ हिजोआज उनी निर्वाचन अभियानमा भन्दा अन्य सामाजिक काममा बढी देखिने गरेकी छन्।

वडा पनि समस्या उस्तै

सूर्योदय नगरपालिकाको ६, ७, ८ १०, ११ र १२ वडाको वडाअध्यक्षको उम्मेदवार छनोटमा पनि एमाले कार्यकर्तामा तिब्र असन्तुष्टी छ। पार्टीका लागि रात दिन खटेपनि टिकट नपाएपछि अहिले धेरैजसो सक्रिय कार्यकर्ता चुनावी गतिविधि भन्दा पनि आफ्नो व्यवसायमा सक्रिय हुँदै आएका छन्। 'पार्टीले अन्याय गर्‍यो अब आफ्नो व्यवसाय गर्छु', वडाध्यक्षको टिकट नपाएका एक एमाले कार्यकर्ताले भने।

प्रचार विभाग प्रमुख नवराज शंकरले उम्मेदवार चयनपछि कार्यकर्तामा सामान्य गुनासो देखिएको बताए। उनले पार्टी ठूलो भएकाले सबै जनालाई यही चुनावमा व्यवस्थापन गर्न नसकिने भन्दै असन्तुष्ट कार्यकर्तालाई अन्य ठाउँमा व्यवस्थापन गर्न सकिने बताए। ‘सुर्योदय नगरपालिकाको सन्दर्भमा गुनासो मात्र हो। असन्तुष्ट पक्षसँग छलफल पछि उहाँहरु चुनावी मैदानमा होमिनुभएको छ' उनले भने 'एमाले ठूलो पार्टी भएकाले सबैलाई मेयर वा उपमेयरमा अटाउन सक्दैन। असन्तुष्ट रहेका नेता÷कार्यकर्तालाई अन्य क्षेत्रमा व्यवस्थापन गरिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.