|

  • दाना शाही 

जुम्ला : तिला गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पदबहाली गरिएको छ। अध्यक्ष रतननाथ योगी र उपाध्यक्ष विष्णु बुढालाई पदबहाली लगत्तै कर्मचारीहरुले जिम्मेवारीको साँचो हस्तान्तरण गरेका छन्।

स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले अध्यक्ष योगी र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले उपाध्यक्ष बुढालाई जिम्मेवारीको साँचो हस्तान्तरण गरे। साँचो लिएपछि अध्यक्ष तथा उपाध्यक्षले आफ्नो काम सुरु गरे।

प्रमुख जिल्ला अधिकारी सापकोटाले माओवादीले युद्ध गर्ने बेला भनेका कुराको त्यतिबेला विश्वास नलागेपनि अहिले व्यवहारमा देखिएको बताए। उनले कानूनको सीमामा रहेर आफ्नो काम, कर्तव्य र अधिकार पूरा गर्न जननिर्वाचित पदाधिकारीहरुलाई सुझाव दिए। उनले गाउँपालिकालाई आत्मनिर्भर बनाउन सुझाव दिए।

स्थानीय विकास अधिकारी बेल्बासेले चाँडो भन्दा चाँडो वडापालिका स्थापना गरेर काम थाल्न जनताका प्रतिनिधिलाई सुझाव दिए। जनताको विकासका काममा लागिपर्न उनले अनुरोध गरे।

गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले जनताको विकास र सेवाका लागि निरन्तर लाग्ने बताए। उनले जितेका सबै प्रतिनिधिहरु सबैका साझा भएको बताए। कार्यक्रममा अध्यक्ष योगीले गाउँपालिका अन्तर्गतका विद्यालयमा पढ्ने जेहन्दार, विपन्न वर्गका १२ जना विद्यार्थीलाई ३ हजारका रुपैयाँका दरले एक वर्षमा ३६ हजार रुपैयाँ छात्रवृति दिने घोषणा गरे।

उपाध्यक्ष विष्णु बुढाले सबैभन्दा दुर्गम गाउँपालिकालाई नमूना बनाउने जिम्मेवारी काँधमा आईलागेको बताईन्। उनले यो शासन व्यवस्था सञ्चालनका लागि खटेर लाग्ने संकल्प गरिन्। अहिलेसम्म राम्रोसँग विकास नपाएका जनतालाई बढी सहयोग पुर्‍याउने उनको भनाइ छ।

नासु सचिव मन्दिरनाथ योगीले गाविस हकहित संरक्षण केन्द्रले बारम्बार माग गर्दै आएको मुद्दाको सम्बोधन १४ वर्षपछि भएको बतृ। उनले अब राष्ट्र र जनतामा केन्द्रित भएर काम गर्ने बताए। नेपाल पत्रकार महासंघका प्रदेश पार्षद सुरजकुमार सिंहले नेपाली जनताको त्यागबाट पाएको अधिकारको रक्षा अहिलेको व्यवस्थाले गर्ने बताए। उनले जनप्रतिनिधिहरुलाई स्थानीय शासन व्यवस्थाको मालिक नभई नोकर बनेर काम गर्न अनुरोध गरे।

तिला गाउँपालिकाका कार्यकारी अधिकृत सुमन लिङ्देन लिम्बुले जनप्रतिनिधिको चयनपछि  कर्मचारी र जनतालाई सजिलो हुने बताए।

कार्यक्रममा गाउँपालिकाका नौ वटै वडाका वडाध्यक्ष, गाउँ कार्यपालिकाका लागि निर्वाचित महिला र दलित अल्पसंख्यक सदस्यहरुलाई सिन्दुर लगाएर र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा गाउँपालिकाका वडासचिव दत्तबहादुर शाही, कमल घर्ती र मुनबहादुर रावतको पनि उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.