|

चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटनाले अहिले मुलुकको राजनीति नै तरंगित भएको छ। अहिले नेकपा एमालेले पुन मतगणना सुरु गर्नुपर्ने माग गर्दै सदनदेखि सडकसम्म आन्दोलन गरिरहेको छ भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पुन मतदान गर्नुपर्ने माग गरिरहेका छन्। एमालेकै कतिपय नेताले पुन मतगणना सुरु नभए दोस्रो चरणको चुनाव विथोल्ने अभिव्यक्ति दिइरहेका छन्। यसै सन्दर्भमा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसंग रेडियो थाहासञ्चारका बोमलाल गिरीले गरेको कुराकानीको सम्पादित अंश:

चितवन घटनालाई एमालेले किन प्रतिष्ठाको विषय बनाइरहेको छ?

एमाले मात्रै होइन लोकतन्त्रमा विश्‍वास गर्ने, निर्वाचन प्रणालीमा विश्‍वास गर्ने, जो कोही पनि चितवनको घटनाबाट स्तव्ध हुनुपर्छ। मतगणनामा जुन हिसाबले ढिलाई गरिदै छ वा अन्य दिशामा लान खोजिदैछ, त्यसले लोकतन्त्रप्रेमी सबैलाई चिन्तित बनाएको छ। यदि मतपत्र च्यात्ने रवैयालाई  पुरस्कृत गर्ने र प्रोत्साहन दिन थाल्ने हो भने नेपालमा अबदेखि कुनै चुनाव नगराए हुन्छ। हार्ने अवस्थामा पुगेकाहरुले मतपत्र च्यात्नेछन्। भरतपुरमा देवी ज्ञवाली सिधै जित्ने अवस्थामा हुनुहन्छ। मतपत्र च्यात्न नेकपा माओवादी केन्द्रले अह्राएको हुनाले यसको क्षतिपूर्ति वापत च्यातिएको ९० मत एमालेका देवी ज्ञवालीको नाममा राख्नुपर्छ, वा यसलाई शिलबन्दी गरेर बाँकी मत गन्नुपर्छ।

जे नुहनुपर्ने थियो त्यो त भइसक्यो, तर आयोगलाई निष्पक्ष रुपमा काम गर्न नदिएर तपाईंहरुले किन प्रभावमा पार्दै हुनुहुन्छ?

यति काम गर्नको लागि यत्रो दिन लगाउनुपर्ने के आवश्‍यकता छ? सारा जनताको ध्यान भरतपुरको मत परिणाममा छ भने यसको निम्ति यत्रो दिन लगाउन मिल्छ? अहिलेसम्म मान्छे अमेरिकामा पुगेर फर्केर आइपुग्थ्यो। त्यसैले निर्वाचन आयोगले तुरुन्त निर्णय गर्ने र मतगणना जारी राख्ने गर्नुपर्छ। 

निर्वाचन आयोगलाई छिटो गर भनेर दबाब दिनु पर्नेमा हामीले भने अनुसार नै गर भनेर दबाब दिन मिल्छ?

हामीले सबै षड्यन्त्र सुनिसकेका छौं को–को सामेल भएका छन्। प्रमुख आयुक्त, आयुक्त ज्यूहरुलाई हामीले जानकारी  पनि गराइसहेका छौं। उहाँहरुले किन आँट गर्न सक्नुभएको छैन? के दबाब परिरहेको हामीले बुझ्न सकेका छैनौं। यो सबै दबाबबाट मुक्त भएर प्रमुख आयुक्तज्यूले दह्रो गरी अघि बढ्न सक्नुपर्छ।

तर तपाईंहरुले छिटो गर भन्दा पनि पुन मतगणना सुरु गर्न दबाब दिइरहनुभएको छ नि?

हामीले भनेको के हो भने त्यो मतपत्रलाई शिलवन्दी गरेर राख। मतपत्र गन्न थोरै बाँकी रहेको छ त्यसलाई गणना गर। तर, त्यहाँ मतगणना रोक्ने, पुन मतदानमा जान खोज्ने लगायतका कार्य गरेकोले हामीलाई शंका उत्पन्न भएको छ। निर्वाचन आयोगले यस्ता विवादास्पद व्यक्तिलाई हटाउनै पर्छ र भविष्यमा पनि निर्वाचन सम्बन्धी काममा अयोग्य हुने गरी निर्णय गर्न सिफारिस गरिनुपर्छ। 

निर्वाचन आयोगले जे गर्छ त्यो मान्य हुदैन भनेर एमाले नेताहरु किन भनिरहनु भएको छ त?

देश दुनियाँले देखिरहेका छन्, सबैलाई थाहा छ भरतपुरमा एमाले उम्मेदवारले जित्दै हुनुहुन्छ भन्ने अहिलेसम्मको मतगणनाको परिणामले प्रष्ट पारेको छ। च्यातिएको अवस्थामा जम्मा ९० वटा मत पत्रमात्र छ। मतपत्र च्यात्ने दुस्साहस गर्ने व्यक्तिलाई त निर्वाचन कानुन संशोधन गरेरै भए पनि आजीवन काराबास राख्नुपर्छ। यस्ता व्यक्ति र उम्मेदवारलाई पार्टीले पनि कारबाही गर्नुपर्छ। 

एमाले उम्मेदवारले जित्दै हुनुहुन्छ भनेर कसरी भन्न सकिन्छ, जबकी चार हजार मत गणना हुनै बाँकी थियो।

त्यसो हो भने गणनामा जाउँ न त किन ढिला गरेको? किन मान्छेलाई अन्योलमा राख्नुपर्‍यो? मतदान भएपछि छिटो परिणाम ल्याउन खोज्नु भनेकै गडबडी नहोस् भनेर नै हो।

निर्वाचन आयोगसँग त पुन मतगणना र पुन मतदान गरी दुई विकल्प छ नि?

छैन छैन केही विकल्प छैन। मतगणना सुरु गर्नु पर्छ। पुन मतदानको अर्थै छैन।

एक पक्षको माग मात्रै त हो नि यो त?

त्यसो हो भने हार्ने अवस्थामा १० पटक मतपत्र च्यात्ला के गर्ने?

२०५४ सालमा नेकपा एमालेले बाग्लुङको अमलटारमा मतपत्र च्यातेको घटनामा पनि पुन मतदान भएको नजीर रहेछ नि? २५ मत गन्न बाँकी रहँदा एमालेले मत पत्र च्यातेको थियो पछि पुन मतदान गर्दा एमालेनै विजयी भएको थियो नि

कहाँबाट खोजेर कुन सन्दर्भको कुरा लिएर आउनु हुन्छ? यसलाई प्रभावित पार्ने कोशिस नगरौँ।

विगतमा त पुन मतदान पनि भएको रहेछ नि ?

यस्ता नजीरहरु खोज्ने हो भने हामीले पनि सबै पुराना नजीरहरु खोज्नुपर्ने हुन्छ। हामी पनि चुनावमा आजदेखि हैन २०४२ साल देखिनै लाग्दै आएका हौं। सिधै भरतपुरमा सबैको ध्यान आकर्षित भएको अवस्थामा अमलटार र आँपटारका कुरा लिएर हुन्छ? अन्तर्राष्ट्रिय चासो बनेको नेपालमा यो ढंगको (पुन मतदान) तमासा गर्न थालियो भने कुनै अर्थ हुने छैन। संसदमा पनि त्यस्तै गरे भयो नि त। जब मत गन्न सुरु हुन्छ हार्ने पक्षले च्यातिदिने, फेरि गराउने।

एमाले निर्वाचन आयोगले गर्ने निर्णय मान्न तयार छ वा छैन?

आयोगले न्यायोचित निर्णय हामीलाई स्वीकार्य छ।

तर आयोगसँग त पुन मतदान वा पुन मतगणनाको विकल्प छ नि?

विकल्प नै छैन। सिधा कुरा छ ९० वटा मतपत्र छ त्यसलाई एक ठाउँमा राख्ने बाँकी मत गणना गर्ने। 

निर्वाचन आयोगमाथि तपाईंलाई विश्‍वास छ कि छैन?

निर्वाचन आयोगले इमान्दारिताका साथ निर्णय गर्नुपर्छ। यसमा प्रष्ट देखिएको के हो भने मतगणना अगाडि बढाउनुपर्छ बिलम्व गर्नै हुँदैन। एक मिनेट पनि फेरि पनि यस्तो दुस्साहस गर्ने स्थिति बन्छ भने त्यसलाई आउने दिनमा पनि कडाइ गर्ने स्थिति बनाउनुपर्छ। मान्छेले विधि पालना गर्छन्। तर एउटालाई विधि लाग्दैन भने अरु कसैले पनि विधि पालना गर्दैन। एउटालाई एक किसिमको व्यख्या र अर्कोलाई अर्को व्यख्या हुन्छ भने हामीलाई स्वीकार हुदैन। 

एमालेका जिम्मेवार नेताहरु चितवनको मतगणना अघि बढेन भने असार १४ मा निर्वाचन हुन दिदैनौ भनिरहेका छन् त?

सिधै देखिएको काम गर्न आँट गर्नुपर्‍यो, हामी निर्वाचन आयोगको पक्षमा हो, त्यही आँट देखाओस। मतगणना दुनियाँको माग हो, अघि बढाइयोस्।

असार १४ मा चुनाव हुने सम्भावना कत्तिको देख्नुहुन्छ?

यो जाली प्रक्रिया हेर्नुस् न चुनाव कहिले वैशाख ३१ भनेको छ, त्यसपछि जेठ ३१ भनेको छ, ३१ बाट असार ९ पुर्‍याएको छ, हचुवा पाराले काम गरेको छ। रातारात सोच्यो यो समयमा गर्दा हामीलाई फाइदा हुन्छ भन्यो अनि मिति तोक्यो। असार ९ गते मुस्लिमहरुको त्यस्तो महत्वपूर्ण दिन। यी सबै कुरा थाहा नहुने यो देशको प्रधानमन्त्री कस्तो होला? यो देशको सरकारमा कस्ता मन्त्री भएर बसेका छन्। जनताको समस्या बुझ्दैनन् कसको समस्या कस्तो हुन्छ। अझै पनि धेरै षड्यन्त्र गर्न खोजिएको छ। 

असार ९ मा चुनाव गर्नु हुँदैन त तपाईंहरुले पनि भन्नुभएको हो त, १४ मा सार्दा के आपत्ति?

अनि ८ गते गर्दा हुदैनथ्यो? बढीमा सात, आठ दिन भनिएको थियो। असार १४ को चुनावमा अनेक षड्यन्त्र हुन्छन् भन्ने हामीलाई थाहा छ। यी सबै षड्यन्त्रहरु हुन्छ भने त्यसपछि यो मुलुकमा सरकार चल्न सक्दैन।

के के षड्यन्त्र हुनसक्छ त?

चुनाव प्रभावित पार्नको लागि एमालेलाई कसरी नोक्सानी पुर्‍याउन सकिन्छ भन्ने क्रियाकलाप अघि बढाएको छ भन्ने हामीलाई लागेको छ।

चुनाव हुने नहुनेमा कत्तिको आशंका छ?

चुनाव त हुनुपर्छ त्यो बाहेक अर्को विकल्प छैन। खाली चुनाव हिसाब गरिरहेका होलान् कि एमालेको अत्याधिक संख्या आयो। सबैलाई उछिन्यो, कांग्रेसलाई धेरै पछाडि पारिसक्यो। माओवादीको बेहाल भएको छ। यो स्थिति फेरि दोहोरिने हो कि भनेर प्रभावित पार्नको लागि अनेक कसरत भएका छन् होला।

एमाले त जिम्मेवार प्रतिपक्ष हो, मधेस केन्द्रित दलहरुलाई  चुनावमा ल्याउन तपाईहरुको सूत्र के हो?

उनीहरुलाई सहमतिमा ल्याउनको लागि बैशाख ३१ बाट चुनाव पछि सारेको भन्ने सुनेको हो। पहिला ७ सय १९ स्थानीय तह भएन  भनेर ७ सय ४४ गरेको हो भन्ने सुनेको हो। त्यही हो लास्ट त्यही भएपछि पुग्छ भनेर हामीले सुन्यौ। त्यसपछि चुनावको मिति सारियो। यस्तो मिति रोजियो जहाँ एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर प्रदेश छानियो। सबै भन्दा बढी ठाउँमा एमालेले नै जित्यो। जितेपछि होस हवास गुमेको छ। दोस्रो चरणमा कसरी प्रभाव पार्ने भन्ने षड्यन्त्र गरिएको छ। 

मधेसवादी दलहरुमध्ये केही दल चुनाव नै चाहदैनन् भन्ने हामीलाई लागिरहेको छ। चुनावमा गएपछि आफ्नो हैसियत देखिन्छ। त्यस हुनाले चुनाव नै नहोस भन्ने ठान्ने केही नेताहरु हुनु पर्छ भन्ने हामीलाई लागिरहेको छ। कुरा जतिसुकै ठूला गरेपनि मैले सुनिरहेको छु। चुनावमा हार्ने भएपछि विथोल्न सकिदैन भन्ने ठान्नेहरुले पर कसरी सार्न सकिन्छ भनेर सोचिरहेका छन्। षड्यन्त्रका योजनाहरु बनाइरहेका छन्। 

अन्त्यमा, एमाले प्रधानमन्त्रीको चुनावमा प्रतिस्पर्धी छ कि छैन?

कस्तो ढुङगले भूमिका खेल्ने भन्ने विषयमा हामी बीचमा छलफल हुन बाँकी छ।  हामीले छलफल गरेर के गर्दा ठीक हुन्छ भन्ने टुङ्गो लगाउनेछौं। किन भने अहिलेको सरकारसंग पनि पर्याप्त संख्या छैन। हामीले अरु पक्षसंग कुरा गरिरहेका छौं त्यस्तो अवस्थामा एमालेको बहुमत हुने स्थिति बन्यो भने स्वभाविक रुपमा एमाले अघि बढ्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.