के गर्दैछ महानगरपालिका?

|

काठमाडौँ: रानीपोखरीस्थित दरबार हाइस्कुल अगाडिको आकाशे पुलमा जोकोही पनि छिटोछिटो पाइला चाल्न बाध्य हुन्छन्। बटुवाहरूले गन्तव्यमा पुग्न हतार भएर छिटो पाइला चालेका होइनन्, आकाशे पुल हल्लिएर भत्किने डरले पाइलाको चाल बढेको हो। यस्तै दृश्य देखियो शुक्रबार दिउँसो साढे १ बजेतिर पुलमा पुग्दा, जहाँ बटुवाहरू हतारहतार पाइला चालिरहेका थिए।

पुलमा छिटोछिटो बाटो काटिरहेका एक बटुवाले भने, 'भूकम्प गएजस्तो हल्लिने भएछ पुल त।' उनी थिए कलंकी बस्ने ५१ वर्षका होमप्रसाद अधिकारी। 'भत्किसकेछ, हिँड्दा पनि डरलाग्ने। बनाउन ध्यान दिँदैनन्',पुलको जीर्ण अवस्थाबारे भने, 'यस्तै अवस्थामा कतिसम्म रहने होला!' उनले छिटो पुनर्निर्माण नहुने हो कि भनेर शंका गरे।

सधैँ यात्रुको चाप रहने यो पुलको स्कुलपट्टिको भागमा भ्वाङ परेको छ, जसबाट सडकमा सवारी गुडिरहेका प्रष्ट देख्न सकिन्छ। त्यसमा यात्रुका खुट्टा नपरून् भनेर भ्वाङलाई ब्लकले पुरिएको छ। पुलमा चढ्ने भर्‍याङका खुड्किला पनि खुइलिइसकेका छन्। त्यस्तै फलामे बारलाई खियाले खाइसकेको छ। वर्षाले झन् पुललाई क्षति पुर्‍याएको देखिन्छ।

'खुड्किलाका फलामले कपडा अल्झाउँछन्। हेरेर नहिँडे त अल्झिएर लडिएला भन्ने डर लाग्छ', पुलबाट पार गरेर न्यूरोड जाँदै गरेकी अनामनगर बस्ने लक्ष्मी खनालले भनिन्। उनले दृष्टीविहीन र लामो कपडा लगाउने यात्रुलाई अल्झाएर दुर्घटना हुनसक्ने बताइन्। यस पुलका फलामे बारहरूले आफ्ना ठाउँ छोडेका छन्। भर्‍याङका खुट्किलामा रहेका फलाम पनि खुइलिएका छन्। खियाले गर्दा यात्रुहरूलाई अल्झाउने गरेका छन्।

वीर अस्पताल अगाडिको आकाशे पुलको फलामले पनि ठाउँ छोड्न लागेको छ। पुलमा हिँड्दा फलामको पाता लचकलचक हुन्छ।

शहीदगेटदेखि रानीपोखरीसम्म पाँचओटा आकाशे पुल छन्, जुन हेरचाहको अभावमा जीर्ण बन्दै गएका छन्। पुलको सुरक्षाका लागि प्रयोग गरिएका फलामलाई खियाले खाएको छ। पुललाई सुन्दर देखाउन लगाएको रङ उडेर पुल कुरूप देखिएका छन्। सडकबाट हेर्दा विज्ञापनले छोपिएकाले राम्रै देखिए पनि पुलमा चढ्दा मनमा डर पैदा हुन्छ।

सम्झौता रिभ्यू गर्दै महानगरपालिका

काठमाडौँ महानरपालिकाअन्तर्गतका आकाशे पुलहरू करिब १६/१७ वर्ष पहिले निजी क्षेत्रको लागानीमा निर्माण भएको रेकर्ड रहेछ महानगरपालिकासँग। राजश्व कार्यालयलगायतसँग सम्झौता गरेर निर्माण भएकाले कागजात मगाएको र अध्ययनमा लागेको काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए। 'पुल बनाउने बेला भएका सम्झौताको डकुमेन्ट ल्याउनुस् भनेको छु। केही डकुमेन्टहरू प्राप्त भएका छन्, केही छैनन्', उनले भने।

सार्वजनिक सूचना जारी गरेर भए पनि डकुमेन्ट मगाएर पुलहरूको वास्तविकता पत्ता लगाउने र प्राविधिकहरू लगाएर पुलबारे बुझ्ने बताउँदै उनले भने, 'इन्जिनियरको सल्लाह लिएर अवस्था के हो यकिन गर्नुपर्‍यो। प्राविधिकहरूको राय भत्काउनुपर्ने आयो भने भत्काइन्छ।'

पौडेलले पुलहरूको मर्मत नभएको बताए। 'फलामे बारहरू भाँचिएर धारिलो भएर छोयो भने काट्ने भएर बसेको छ', पुलहरूकै कारण दुर्घटनाको अवस्था आउन नदिने बताउदै उनले भने, 'आकाशे पुल भत्केर दुर्घटना भयो भन्ने दिन आउन दिने छैनौँ। आकाशे पुललाई मर्मत सम्भार गरेर सहरको सौन्दर्य थप्ने कुरामा चनाखो छु।'

हेर्नुहोस् काठमाडौँका आकाशे पुलका फोटा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.