|

पेमा लामा-

    काभ्रे : रोशी गाउँपालिका वडा नं. १ ताङलिङका शंखरदास लामा (राजु) ले गाउँमा नै गोलभेंडा खेती गरेर गाउँका ६ जना युवालाई रोजगारी दिएका छन्। उनीहरुले त्यहाँ काम थालनी गरेको ५ महिना भयो। उनीहरुको काम भनेको गोलभेंडाको बेर्ना राख्ने, सार्ने, गोडमेल गर्ने र आवश्यक औषधी उपचार गर्ने हो। काम गरेबापत उनीहरुले मासिक १५ हजार पाउने गरेको उनीहरु बताउँछन्।

    ‘गाउँमा नै काम गर्न पाएको छु, कमाइ पनि राम्रै हुन्छ’ कामदार मिम बहादुर लामाले भने। गाउँमा नै बसेर यसरी निरन्तर काम गर्न पाउनु पनि राम्रै भएको उनको भनाइ छ। शंखरदासले आफ्नै गाउँमा रहेको खेतमा गोलभेंडा खेती गरेर कृषि व्यवसायमा लागेका हुन्। उनले मजदुर किसान एग्रिकल्चर फर्म खोलेर तरकारी खेती गर्न थालेका हुन्। अहिले लामाले फर्ममा ७/८ रोपनी जग्गामा सिर्जना जातको गोलभेंडा लगाएका छन्।

    गाउँमै काम पाउनु खुसीको कुरा

    सोही गाउँका वीरबहादुर मोक्तान पनि त्यही फर्ममा काम गर्छन्। यसअघि घर निर्माणको डकर्मी काम गर्दै आएका उनी तरकारी फर्ममा काम गर्न थालेको ५ महिना भयो। डकर्मी कामभन्दा तरकारी खेतीको काम राम्रो लागेकोले त्यही काम गर्न थालेको मोक्तानले बताए। ‘पहिला डकर्मी काम गर्ने गर्थें, अहिले यही तरकारी खेतीको काममा लागेको ५ महिना भयो’ उनले भने, ‘निरन्तर रुपमा काम पाएमा यही काम राम्रो लाग्यो।’

    डकर्मी काम गर्दा मोक्तानले दैनिक ८ सयदेखि १ हजार सम्म कमाउँथे र त्यस्तो काम घरदेखि टाढा जानुपर्ने र सधैंको लागि निरन्तरता पनि नहुने भएकाले अब तरकारी खेतीमा नै लागेको बताए।

    मोक्तानले भने, ‘यही गाउँमा नै काम गर्न पाउनु हाम्रो लागि खुसीको कुरा हो’ डकर्मी काम गर्दा घरदेखि टाढा पनि जानुपर्ने र सधैंको लागि पनि नुहने, यो काम त घरमै बसेर दिनभरि काम गर्ने र बिहान बेलुका घरको पनि काम गर्न भ्याउँछु, राम्रो छ।’

     उनले थपे, घरको मान्छेसँगै बसेर कमाइ गर्न पाउने अवसर जुट्नु पनि खुसीको कुरा हो।’ ‘यस्तो कामले हामीलाई उत्साह थपेको छ’ ती कामदारहरुले भने।

    दैनिक ११ घण्टाको ड्युटी

    तरकारी खेतीका लागि त्यसरी खटिएका उनीहरुले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म काम गर्ने गरेको बताउँछन्। मिम बहादुर र वीर बहादुर जस्तै गाउँकै सोभित सिंह मोक्तान, मइला सिंतान, बाबु वाइबा र लक्ष्मण लामा पनि त्यही फर्ममा सँगै काम गर्छन्।

    कृषि क्रान्तिमा लागेर गाउँका युवालाई रोजगारी

    फर्मका प्रोपाइटर शंखरदास लामा (राजु) ले गाउँमा नै अब कृषि क्रान्तिमा लागेर गाउँका युवालाई रोजगारी दिने उद्देश्यले काम थालनी गरेको बताए। ‘अबको देश समृद्धि बनाउने भनेको आर्थिक क्रान्तिबाट नै हो’ लामाले भने, ‘केही गर्नका लागि गाउँमा नै रहेर कृषिमा लगानी गरी आर्थिक उपार्जनतर्फ लाग्ने भनेर नै यो काम थालनी गरेको हुँ।’ यसखाले कामले एकातर्फ स्वरोजगारको अवसर मिल्ने र अर्कोतर्फ गाउँकै दाजुभाइहरुलाई पनि रोजगार मिल्ने भएकाले यसैलाई रोजेको हुँ।’

    ‘म अब गाउँकै लागि केही गरेर देखाउने हो’ आफ्नो योजना सुनाउँदै लामाले भने, ‘अहिले ७/८ रोपनी जग्गामा टनेल खेतीमार्फत गोलभेंडा, काउली र खोर्सानी लगाएको छु, अब यसलाई बढाएर ३० रोपनी जग्गामा खेती गर्ने अरु तयारी गरिरहेको छु’ त्यसको लागि आवश्यक प्राविधिक सहयोगको लागि जिल्ला कृषि विकास कार्यालयसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको लामाले बताए। हालसम्ममा १५/१६ लाख लगानी भइसकेको पनि उनले बताए।

    जिल्ला कृषि विकास कार्यालयबाट सहयोग

    जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास अधिृकत थर्कबहादुर जिसीले कृषिमा केही गर्न लागेकाहरुलाई प्रोत्साहित गर्न सहयोग गर्दै आइरहेको बताए। ‘हामीले कृषि खेतीमा लागेकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गर्दै आइरहेका छौं’ जिसीले भने, ‘यही पनि हामीले टनेल निर्माण गर्न प्लास्टिक पानी हाल्ने स्प्रे पम्प गरी ६० हजार बराबरको अनुदान सहयोग गरेका छौं।’

    जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिृकत देवराज अधिकारीले पछिल्लो एक वर्षयता गोलभेंडामा टुटा अब्सुलोटा नामक किराले बाली सखाप पार्दै आएकाले त्यसबाट बच्नका लागि नयाँ विधिहरु प्रयोग गर्न आवश्यक रहेको बताए।

    ‘एक वर्ष अगाडिदेखि गोलभेंडामा यस खालको किराले निकै सखाप पार्ने काम भइरहेको छ, त्यसको लागि हामीले किरा व्यवस्थापनका लागि किराको अनुगमन गर्न टि.एल.एम. ल्युरको फेरोमोन पासो स्थानीय रुपमा उपलब्ध हुने सामाग्रीहरु प्रयोग गरी तयार पार्दै नियन्त्रण गर्ने काम गरिरहेका छौं।’ अधिकारीले भने, ‘त्यसरी गर्दा बोतलको पासोमा भन्दा बाटाको पासोमा धेरै संख्यामा किराहरु फसेको पाइएकाले त्यसरी नै किरा व्यवस्थापनका लागि सम्भव हुने बिधिहरु एकीकृत रुपमा अपनाउनुहुन किसानहरुलाई सिफारिस गरिएको छ।’

    उनले त्यसको लागि किासनलाई थप सहयोग गर्न गोलभेंडाको पात खन्ने किरा चिनारी तथा व्यवस्थापन पर्चा, साथै क्लोरएण्टिनिलिप्रोल नामक कीटनाशक विषादी जरा भिज्ने गरी माटोमा प्रयोग गर्न सुझाइएको जानकारी दिए।

    त्यससँगै बाली संरक्षण अधिकृत अधिकधारीले प्लास्टिक घरभित्र गोलभेंडा खेती गरिएको स्थान तुलनात्मक रुपमा होचो स्थान भएकाले तापक्रम ३५ डिग्रीभन्दा अधिक भएमा गोलभेडाको फूल नलाग्ने, फल झर्ने समस्या आउने भएकाले तापमान व्यवस्थापनमा ध्यान दिनसमेत सुझाव दिएका छन्।

    गोलभेंडा खेतीमा आउन सक्ने विविध समस्याहरु व्यवस्थापनका लागि कृषि प्राविधिकसँग सम्पर्क गरी पहिचान गर्न र प्लाष्टिक घर भित्रको गोलभेडा खेतीसँगै छोटो समयमा तयार हुने साथै थप आम्दानी हुने बालीहरु धनियाँ, मुला, प्याज आदि लगाउन सकेमा थप आम्दानी गर्न सकिने उनले बताए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.