युद्धमोर्चादेखिको सहयात्रा गाउँपालिका अध्यक्षको उम्मेदवारसम्म

|

मनोज भट्टराई-

    ओखलढुंगा : ओखलढुंगामा माओवादी केन्द्रका नेता श्रीमान् श्रीमती दुवैजना गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका छन्। उनीहरु एउटै गाउँपालिकामा नभएर फरक-फरक गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका हुन्।

    यो जोडी हो नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय अनील योगी (अनिल) र चम्पा कार्की (आशा)। ओखलढुंगाको लिखु गाउँपालिका र सुनकोसी गाउँपालिकामा पार्टीले यो जोडीलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ।

    माओवादी जनयुद्धकालीन समयदेखिको सहयात्रामा स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा उनीहरु दुई गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार भएका हुन्।   युद्धकालीन समयमै जीवन साथी भएको उनीहरुको जनवादी पद्धतिअनुसार युद्धमोर्चामै पार्टीले विवाह गरिदिएको सुनकोसी गाउँपालिका अध्यक्षकी उम्मेदवार चम्पा कार्की (आशा) बताउँछिन्। एउटै पार्टीबाट दुईवटा गाउँपालिकाको अध्यक्षको पदमा उम्मेदवारको टिकट पाएको यो जोडी नै जिल्लाकै पहिलोसमेत हो।

    माओवादी सशस्त्र द्वन्द्वकै बेलादेखि माओवादी आन्दोलनमा सहभागी दम्पतीमध्ये चम्पाले युद्धमोर्चामै एउटा हात समेत गुमाएकी छन्। उनी यसअघिको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारसमेत बनेकी थिइन्। पार्टीले टिकट दिएपछि आफूहरु दुवैजना हाल आ-आफ्नै क्षेत्रमा घरदैलो अभियानमा लागि परिरहेको लिखु गाँउपालिकाका अध्यक्ष प्रत्यासी अनिलले बताए।

    सीमान्कृत समुदायबाट राजनीति गरेर माओवादीको जिल्ला नेतृत्वसमेत सम्हालिसकेकाअनिल योगी चुनाव जित्ने विश्वासका साथ उम्मेदवारी दिएको बताउँछन्।‘हामी दम्पती नै राजनीतिमा क्षमता राख्ने भएकैले अध्यक्षको उम्मेदवार बनेका हौं।’ उनले भने, ‘यसमा नातावाद कृपावाद जोडिएको छैन।’

    चम्पा कार्की जिल्लाका स्थानीय तहमध्ये अध्यक्ष पदका लागि टिकट पाउने एक मात्र महिला समेत उम्मेदवार हुन्। ‘जनताको मायाले गर्दा अध्यक्षको उम्मेदवार सम्म बन्ने हैसियतमा पुगेको हुँ।’ चम्पाले भनिन्, ‘एउटा महिला भएर पनि मलाई विश्वास गर्ने मतदाता र पार्टी दुवैप्रति आभारी पनि छु।’

    पार्टीमा सशक्त नेताहरु हुँदाहुँदै पनि अनिल र चम्पा क्षमता र संगठनको विश्वासकै कारण उम्मेदवारको रुपमा छनोट गरेको माओवादीका पोलिटब्युरो सदस्य बाबुराम गौतमले बताए। द्वन्द्वकालमै क्षेत्री समुदायकी चम्पा र सीमान्तकृत समुदायका जोगी थरका अनिलको बिहे हुँदादेखि नै उनीहरु पार्टीमा समेत लोकप्रिय र चर्चित बनेका थिए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.