राजपा विरोध र समर्थन दुवैको दाउमा

|

  • गोविन्द महतो-

जनकपुरधाम : आसन्न स्थानीय तहको निर्वाचनको लागि प्रमुख तीन राजनीतिक दलहरु तथा अन्य साना ठूला दलहरु आ–आफ्नो भित्री चुनावी रणनीति बनाउन व्यस्त देखिएका छन्। प्रदेश नम्बर २ को प्रस्तावित राजधानी जनकपुरधाम जित्ने अभियानकै हिसाबले पनि प्रायः सबै राजनीतिक दलहरुले कुन न कुनै योजना बनाएर अगाडि बढिरहेको देखिन्छ।

आन्दोलनको प्रमुख केन्द्रविन्दु मानिएको जनकपुरधाममा राष्ट्रिय जनता पार्टी नेपाल अहिले आन्दोलनमा रहेको छ भने, अर्कोतर्फ आन्दोलनमा रहँदा पनि जनकपुर, वीरन्ज र राजविराजमा आफ्नो जनाधार कायमै रहोस् भनेर त्यसका लागि चुनावी समर्थन गरिरहेको देखिन्छ।

जनकपुरमा आन्दोलनकारीहरुको सहभागिता निकै देखिएको छ। कुनै कारणले निर्वाचन भए यही आन्दोलनको सहभागिता देखाएर मतमा परिणत गरिने मधेसकेन्द्रित दलहरुको भित्री रणनीति रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्। यदि निर्वाचन नभएको खण्डमा भने उम्मेदवारलाई भगाउन पनि भीडलाई प्रयोग गरिने उनीहरुको रणनीति रहेको एक नेता यहाँका स्थानीय नेता बताउँछन्।

मोर्चाले उठाएको मागहरु पूरा नगरी पेलेर सरकार निर्वाचनमा गए यस क्षेत्रका अन्य दलका उम्मेदवारहरुलाई निर्वाचनमा अवरोध गर्नेदेखि लिएर राजपाको रणनीति छ। सरकारले एकलौटी चुनावमा जाने निर्णय गरेमा ‘अरु पार्टीका उम्मेदवारहरुलाई कालोमसो दल्ने प्रचार-प्रसार कार्यालयमा तालाबन्दी गर्ने जस्ता शान्तिपूर्ण विरोधका कार्यक्रम गर्नेछौं’ राजपा नेता सञ्जय सिंहले भने।

दलहरुलाई चुनावी चटारो

जनकपुरमा नेपाली कांग्रेस उम्मेदवार छनोट, प्रचारप्रसारको कार्यालय स्थापना, असन्तुष्ट कार्यकर्तालाई मिलाउने जस्ता कार्य गरिरहेको देखिएको छ। गत साता मात्रै जनकपुर स्थित देवीचोक र जानकी चोकमा कार्यालय स्थापना गरिएको थियो, प्रायः प्रत्येक दिन वडामा भेला गरी उम्मेदवारहरुको नाम सिफारिस गर्ने कार्य भइरहेको कांग्रेस सचिव कोमलकान्त झा बताउँछन्।

एमालेले सामाजिक सञ्जालको प्रयोग गर्ने

प्रमुख प्रतिपक्षी नेकपा एमाले जनकपुरमा कसरी प्रवेश गर्ने त्यसको लागि ढोका खोजिरहेको देखिएको छ। ओलीको, ‘आँप खस्ने, माखे साङलो, कालो मान्छे, विहारी, धोती’ जस्ता शब्दहरुले मधेसका आमनागरिकहरु ओलीप्रति चिढिएका छन्।

मधेसमा एमालेले पार्टीको साख कायम गर्न सामाजिक सञ्जाललाई प्रयोग गर्ने जनाएको छ। यस कार्यमा विद्यार्थी नेता सञ्जीव झा, केन्द्रीय नेता श्रीप्रसाद साह, रघुवीर महासेठ लागेको एमाले पार्टी कार्यालय धनुषाले जनाएको छ।

वीरगञ्ज र विराटनगरलाई महानगरपालिका बनाएपछि जनकपुरलाई महानगरपालिका नबनाएको भन्दै सोही मुद्दालाई लिएर एमालेले जनकपुरमा प्रवेश गर्ने राम्रो अवसर देखेको भए पनि एमाले नेताहरुको यो अवसरलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले आघात पुर्याएको बताएका छन्।

एमालेका कनिष्ठदेखि वरिष्ठ नेताहरुले जनकपुरमा एकदिन जनकपुरलाईमहानगरपालिका घोषणा गर्नुपर्ने मागसहित जुलुससमेत प्रदर्शन गरिसकेको छ। तर, एमालेका जिल्ला नेताहरुले तराई मधेसको जिल्ला तथा प्रदेश नं. २ को राजधानी जनकपुरधाममा एमालेले महोल बनाउन लागेको बेलामा पटक–पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेसप्रति आउने गरेको विवादित अभिव्यक्तिले यहाँको माहोल झन् बिग्रिएको स्थानीय बताउँछन्।

माओवादी केन्द्रले निलम्बित सांसद सञ्जय कुमारकी श्रीमतीलाई उम्मेदवार बनाउने

यता, नेकपा माओवादी केन्द्रलाई जनकपुर उप–महानगरपालिकामा बलियो उम्मेदवार नरहेको कारण निलम्बित सांसद सञ्जयकुमार साहकी श्रीमती रंगीला देवी साहलाई पार्टीमा प्रवेश गराएर उम्मेदवार बनाउने पार्टीको एक गोप्य स्रोतले बतायो। निलम्बित सांसद सञ्जय साहकी श्रीमतीलाई सहानभूति मत प्राप्त हुने हुँदा र जातीय समीकरणले समेत जनकपुर उप–महानगरपालिकामा वर्चश्व रहेकोले उनले जित्ने माओवादी केन्द्रको बुझाइ छ।

अघिल्लो संविधानसभाको निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित भएका सञ्जयकुमार साहलाई विजयी भएको केही दिनपछि नै विभिन्न मुद्दामा तानिएपछि हाल काठमाडौंस्थित नख्खु कारागारमा राखिएको छ।

माओवादी केन्द्रले सञ्जयकी श्रीमती रंगीलालाई आफ्नो पार्टीमा प्रवेश गराउन कसरत गरिरहेको साथै उनलाई प्रवेश गराउन माओवादी केन्द्र र रंगीला बीच पटक–पटक वार्ता एवं संवाद भइरहेको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामचन्द्र मण्डलल बताउँछन्।

मधेसमा आलोचित बनेको संघीय समाजवादी चर्चामा

मधेसमा हाल निकै आलोचित बनेको संघीय समाजवादी फोरम नेपाल पनि कुनै न कुनै कार्य गरेर पार्टीलाई चर्चामा ल्याइरहेको देखिएको छ। फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ५० किलोको माला लगाएर, राजपालाई चुनाव चिह्न दिलाउने वक्तव्य दिएर होस् वा फोरमले जिल्ला जिल्लामा पार्टी प्रवेश कार्यक्रम राखेर आफूहरु पनि सक्रिय रहेको देखाउन खोजिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.