|

गोरखा : जिल्लामा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय रहेको पाइएको छ। प्रहरीले जेठ १६ गते नक्कली लाइसेन्ससहित रौतहट घर भइ गोरखा नगरपालिका ६ खोलखोले बस्ने रामऔतार महतोलाई पक्राउ गरेपछि यसमा गिरोह नै सक्रिय रहेको खुलेको हो।

महतोसँग गरिएको अनुसन्धानपछि लाइसेन्स कीर्ते गर्ने गिरोहमा पत्ता लागेको डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। महतोले दिएको सूचनाको आधारमा प्रहरीले जेठ १८ गते रौतहट कटहरियाका घर भइ गोरखाको शहिद लखन गाउँपालिका ७ बस्ने भगवान शाह सोनार र शहिद लखन गाउँपालिका ७ कै अनिल तिवारीलाई पक्राउ गर्‍यो।

उनीहरुको साथबाट पनि नक्कली लाइसेन्स बरामद गरिएको छ। तिवारीले अन्य चार जनाको लाइसेन्स नक्कली बनाउन महतो र सोनारलाई सहयोग गरेको प्रहरी अनुसन्धानपछि खुलेको डिएसपी थापाले बताए।

लाइसेन्स बनाउने गिरोहका मुख्य व्यक्ति गोरखा नगरपालिका १० छेपेटारका फिरोज खानलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको कोठामा खानतलासी गर्दा विभिन्न ब्यक्तिहरुको नाममा रहेको नक्कली लाइसेन्सहरु समेत भेटिएको प्रहरीले जनाएको छ।

फिरोजको कोठाबाट नक्कली सवारी चालक अनुमति पत्र १२ थान, नागरिकता ५ थान, नागरिकताको प्रतिलिपी २४ थान, सवारी चालक अनुमति पत्रको प्रतिलिपी ८ थान, त्यस्तै लाइसेन्स बनाएबापत उनीहरुले प्राप्त गरेको नगद र विभिन्न ब्यक्तिलाई रकम पठाएको भौचर ३४ थान र नक्कली लाइसेन्स बनाउन ल्याएका विभिन्न ब्यक्तिका ११८ थान फोटो समेत बरामद भएको छ। उनीहरु सबैलाई नक्कली सवारी चालक अनुमति पत्र शीर्षकको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.