|

इलाम : स्थानीय तह निर्वाचनको दोस्रो चरणको मिति नजिकिँदै जाँदा इलामबाट पत्रकारहरुले पनि उम्मेदवारी घोषणा गरेका छन्। इलामका १० स्थानीय तहमा ४ जना पत्रकार चुनावी मैदानमा होमिएका छन्।

विगत एक दशकभन्दा लामो समय मोरङलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका नवराज कट्टेल माओवादी केन्द्रबाट रोङ गाँउपालिका अध्यक्षको उम्मेदवार बनेका छन्। प्रेस सेन्टर नेपाल प्रदेश नं. १ का वरिष्ठ उपाध्यक्ष कट्टेल एक कार्यकाल नेपाल पत्रकार महासंघ मोरङको सचिवसमेत भइसकेका छन्।

माओवादी केन्द्रबाट गाँउपालिका अध्यक्षको टिकट पाउने भएपछि उनले १२ वर्षे पत्रकारितालाई बिट मारेका हुन्। लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनमा पार्टीले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न आग्रह गरेपछि स्वीकार गरेको कट्टेलले थाहा खबरसँग बताए।

थामी समुदायकी संगीता पनि मैदानमा

सीमान्तकृत थामी समुदायकी संगीता थामी माओवादी केन्द्रका तर्फबाट माईजोगमाई गाँउपालिका उपाध्यक्षको उम्मेदवार बनेकी छन्। उनी पनि दुई वर्षदेखि पत्रकारितामा सक्रिय थिइन्।

यस गाउँपालिकामा थामी समुदायको जनसंख्या करिब एक हजार छ। २५ वर्षीया संगीता अहिले मत माग्न घर दैलोमा पुगिरहेकी छन्।

राजनीतिमा आस्था भए पनि दलको झण्डा नै बोकेर कार्यकर्ताका रूपमा कहिल्यै नदेखिएकी संगीता आदिवासी समुदायको हितका लागि आफूले सडकमा उठाएका एजेण्डा माओवादीसँग मिलेकाले उम्मेदवार बन्न स्वीकार गरेको बताउँछिन्।

मानविकी संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी संगीता पत्रकारिता छाडेर चुनावी मैदानमा होमिएपछि चर्चा चुलिएको छ।

थामी समुदायको आफ्नै भाषा, संस्कृति एवम् पहिचान छ। अतिसीमान्तकृत समुदायबाट अल्पसंख्यकको पहिचानमा सारेर थामीहरुलाई सरकारले अन्याय गरेको उनको बुझाइ छ। इलामको माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकामा थामी समुदायको बसोबास छ।

पत्रकार महासंघ इलामका कोषाध्यक्ष र सदस्यसमेत उम्मेदवार

नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठसमेत उम्मेदवारको रुपमा चुनावी मैदानमा छन्।

नेकपा एमालेका तर्फबाट इलाम नगरपालिका- ५ अध्यक्षको उम्मेदवार बनेका श्रेष्ठले इलाम पोष्ट दैनिक र इलाम आवाज साप्ताहिकसँग रही आबद्ध रही झण्डै १ दशकदेखि पत्रकारिता गर्दै आएका थिए। इलाम नगरपालिका– ५ बरबोटे निवासी श्रेष्ठ स्थानीय युवाहरुको आग्रहमा आफू उम्मेदवार बनेको बताउँछन्।

रेडियो फिक्कलमा कार्यरत नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष जय राईसमेत नेकपा एमालेबाट सुर्योदय नगरपालिका वडा नम्बर– ९ को सदस्य पदका लागि चुनावी मैदानमा छन्।

समाज रुपान्तरणका युवाहरुको भूमिका अपरिहार्य रहेकाले नगर र टोलको विकास गर्न र समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

नेपाल पत्रकार महासंघ, इलाम शाखाले दुवै जनाको राजीनामा स्वीकृत गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.