|

    गोरखा : गोरखाको उत्तरी गाउँ गुम्दाकी २३ वर्षकी एक चेलीले विश्वकै अग्लो सगरमाथाको सफल आरोहण गरेकी छन्। जेठ ७ गते एभरेस्ट हाई क्याम्पबाट हिमाल आरोहण सुरु गरेकी नानुमाया गुरुङ साढे आठ घण्टामा सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी हुन्।

    उनले जेठ ८ गते बिहान साढे चार बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन्। सगरमाथामा पाइला टेक्ने उनी गोरखाकी एक मात्र चेली हुन्। यसअघि उनले हाईमाउण्टेननियरिङ रक क्लाइम्बिङको तालिम र पिक आइल्यान्ड हिमालको सफल आरोहण गरिसकेकी थिईन्।

    सगरमाथाको चुचुरोमा पुग्दा उनले आफ्नो सपना पूरा भएको महशुस गरेको बताइन्, उनले भनिन्, ‘जब म सगरमाथाको चुचुरोमा पुगें त्यसपछि भटाभट झण्डा गाडेर फोटो खिचें’ उनले भनिन्, ‘सगरमाथाको चु्चुरोमै म दश मिनेट जति बसें। घुमेँ चारैतिर हेरें।’

    सगरमाथा चढ्न संरक्षकको भूमिकामा ग्याल्जेन शेर्पा रहेका थिए। सामान्य परिवारमा हुर्किएर संघर्षरत नानुमायाले गोरखाकै सामागाउँमा होटलमा काम गर्दागर्दै हिमाल चढ्ने धोको पलाएको सुनाइन्।

    होटलमा काम गर्दागर्दै मनास्लु हिमाल आरोहण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु सँग हिमचिम बढेकोले हिमाल आरोहण गर्ने आँट आएको उनी बताउँछिन्। सामागाउँमा उनीहरुको आफ्नै होटल छ। उनका बाबुले ऋण काडेर होटल सञ्चालन गरेका हुन्।

    सर्वोच्च शिखर सगरमाथाको पहिलो गोरखाली चेली आरोही नानुमाया गुरुङलाई गोरखामा सम्मानसमेत गरिएको छ। तमु धि, नेपाल गोरखाले उनलाई सम्मान गरेको हो। अध्यक्ष टेक बहादुर गुरुङ, प्रथम उपाध्यक्ष कुलमान गुरुङ, द्वितीय उपाध्यक्ष रिना गुरुङ, भीमप्रसाद गुरुङ लगायतले गुरुङ परम्पराअनुसार खादा ओढाएर उनलाई सम्मान गरेका हुन्।

    अध्यक्ष गुरुङले भूकम्पले रोएको गोरखालीको मन गोरखाकी छोरीले सगरमाथाको सफल आरोहण गरेर प्रफुल्ल बनाएको तर्क गरे। उनले भने, ‘भूकम्पले धेरै मान्छे मार्‍यो। सबैजना घरबासविहीन भए। सबैको मन रोएको थियो। अहिले हाम्रै गाउँको २३ वर्षकी चेलीले जिल्लाकै पहिलो पटक सगरमाथा चढिन्। हामी सबैको मन खुसीले गदगद भएको छ।’ गोरखाबासीको शिर उच्च हुने, तमुजातिको शिर उच्च हुने काम गरेर सधंै गोरखाबासीलाई खुसी बनाउन उनले शुभकामना दिए।

    यसअघि लाप्राक समाज, काठमाडौंले पनि उनलाई सम्मान गरेको थियो। राजधानीमा एक कार्यक्रम गरी सगरमाथा आरोही माया गुरुङसहित अन्य आरोही सुमन गुरुङ र युक्त गुरुङलाई पनि सम्मान गरेको थियो। धार्चे गाउँपालिका ५ लप्सीबोटकी माया गुरुङले ‘सबै नारीका लागि अनिवार्य शिक्षा’ भन्ने नाराका साथ मे २२ तारिखमा ८,८४८ मिटर अग्लो सगरमाथा हिमालको सफल आरोहण गरेकी थिइन्।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.