|
फाइल फोटो : www.thehindubusinessline.com

काठमाडौं : केही दिनदेखि पानी नपरेको र चर्को घाम लागेका कारण देशभरी गर्मी बढेको छ। विहानैदेखि लाग्ने चर्को घामले काठमाडौं उपत्यकासहित देशैभरी अत्यधिक गर्मी छ।

तराई क्षेत्रमा तापक्रम बढेका कारण जनजीवन कष्टकर बनेको छ। आइतबार धनगढीको तापक्रम सबैभन्दा बढी ४१.२ डिग्री सेल्सियस पुगेको छ भने नेपालगञ्जको तापक्रम ४०.६ डिग्री पुगेको छ। नेपालगञ्जमा आइतबार यो वर्षकै सबैभन्दा गर्मी दिन मानिएको छ। दिपायलको ३९.८,  भैरहवा र विराटनगरको ३८.६ र सिमराको ३७.५ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जनकपुरमा पनि एक हप्ताअगाडि तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो। 

चर्को घाम र गर्मीका कारण तराई र पहाडी क्षेत्रको तरकारी तथा अन्नबाली सुक्न थालेका छन्। आइतबार काठमाडौंको तापक्रम ३२ डिग्रीसम्म पुगेको थियो भने सोमबार विहान पौने ९ बजेको तापक्रम २९ डिग्री सेल्सियस पुगेको थियो। विहान ११ बजेति करिब १० मिनेट हल्का वर्षा हुँदा काठमाडौंबासीले केही शितल अनुभव गरे पनि यो धेरैबेर टिकेन। आकाशमा हल्का बादल देखिए पनि गर्मी कम भएको छैन।

काठमाडौंमा बादल लागेर पानी पर्ने सम्भावना पनि रहेको मौसमविद राजु प्रधानाङ्गले बताए। 'नेपालको तराई नजिकै भारतको विहारमा न्युन चापीय प्रणाली देखिएको छ, त्यसको कारणले मध्य र पूर्वी क्षेत्रमा बादल देखिएको छ, पानी पर्ने सम्भावना पनि रहन्छ' उनले भने।

ठूलो पानी मनसुनपछि मात्रै

मनसुन प्रवेश नगरेसम्म भने ठूलो पानी पर्ने सम्भावना छैन। सामान्यतया नेपालमा हरेक वर्ष जुन १० तारेखमा मनसुन प्रवेश गर्छ। यसवर्ष मनसुन छिटो प्रवेश गर्ने देखिएको मौसमविद प्रधानाङ्ग बताउँछन्। 'यसवर्ष मनसुन केही अगाडि प्रवेश गर्ने देखिएको छ, उनले भने 'मनसुन प्रवेश गरेपछि मात्र ठूलो पानी पर्छ, अनि गर्मी कम हुन्छ।'

सोमबार जुन महिनाको ५ तारेख हो। मौसमविदको भनाइ अनुसार अब केही दिनमा नै मनसुन सुरु हुने देखिएको छ। मनसुन सुरु भएर पानी पर्न थालेपछि मात्र गर्मी कम हुने मौसमविदको भनाइ अनुसार गर्मी घट्न अझै ४/५ दिन लाग्छ।

नेपालको पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रमा मनसुन सामान्य अवस्थाको हुने र मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा भने कमजोर हुने मौसमविद प्रधानाङ्ग बताउँछन्। 'अरु ठाउँमा समान्य देखिए पनि मध्य र सुदूरपश्चिमाञ्चलमा कमजोर हुने अनुमान मौसमविदको छ' उनले भने।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.